२७ असार, कास्की । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय कास्कीले प्राकृतिक विपद्को घडीमा सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै पार्टी पङ्क्ति र जनवर्गीय सङ्गठनलाई राहत र उद्धारमा क्रियाशील हुन निर्देशन दिएको छ ।
पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा र सचिव बखानसिंह गुरुङले शुक्रबार विज्ञप्ति जारी गरी जिल्लाका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी सात जनाको मृत्यु भएको खबरले पार्टी स्तब्ध भएको जनाउँदै मृतकहरूमा भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेकपाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
“मुलुक यतिबेला कोभिड–१९ को त्रासदीबाट गुज्रिरहेको छ, यतिनै बेला प्राकृतिक विपद्ले हामीलाई थप मर्माहत बनाएको छ । हाम्रो पार्टी हरेक सङ्कट र विपद्मा जनताको साथमा छ”, विज्ञप्तिमा भनिएको छ । नेकपाले नदी, किनार, भिरालो तथा जोखियुक्त क्षेत्रमा थप सतर्कता आवश्यक रहेकामा जोड दिँदै विपद्को घडीमा क्षतिको न्यूनीकरण, उद्धार एवं राहत तथा पुुर्नलाभजन्य कार्यका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारले तदारुकताका साथ पहल अघि बढाउनसमेत माग गरेको छ ।
त्यसैगरी कास्की क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सम्पूर्ण कार्यकर्र्ताहरूलाई सतकर्ता अपनाउँदै सक्रियतापूर्वक उद्धारमा सहभागी हुन आग्रह गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता अधिकारीले पहिरोका कारण घरबारविहीन भएका परिवारको उद्धार तथा राहतमा जुट्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
वि.सं.२०७७ असार २७ शनिवार ०८:५१ मा प्रकाशित


























