पछिल्लो दिनमा नेपालको छिमेकी देश भारतसँग सहज सम्बन्ध रहेको छैन । भारतको नेपालप्रतिको हेपाह नीतिका कारण धेरै स्वाभिमानी नेपालीको चित्त दुख्ने गरेको छ । तर पनि भारतबाट सामान आयात नगरी हाम्रो दैनिक गुजारासमेत चल्दैन ।
भारतसँग नझुक्ने हो भने हामी आत्मनिभएर हुनुपर्ने व्यवसायी तथा समाजसेवी हुम सुनारी मगरको भनाई रहेको छ । उनले नेपाल स्वयम् आत्मनिर्भर कसरी बन्न सक्छ त भन्ने सन्दर्भमा नौ बुँदाको सुझाव प्रस्तुत गरेका छन् ।
नेपाल आत्मनिर्भर हुनसक्ने भन्दै सुनारीले प्रस्ततु गरेका सुझावहरु यस्ता छन् :
१) भारतबाट तेल, गाडी लगायत सबै दैनिक उपभोग्य आवश्यक बस्तुहरू आयात गर्न बन्द गर्नुपर्ने। बिकल्पमा डा महाबीर पुन जस्ता वैज्ञानिकहरूलाई प्रोत्साहित गरेर अबिलम्ब विधुतीय गाडी र उपकरणहरू उत्पादन गर्न लगाउँने र प्रयोगमा ल्याउने। राष्ट्रपति देखि सबै मन्त्रीहरूले विलासी गाडी चढ्न छाडेर स्वदेश मै उत्पादित विधुतीय गाडी प्रयोग गर्नुपर्ने।
२) धेरै भन्दा धेरै मेगावाट उर्जा उत्पादन गर्न उर्जा वैज्ञानिक कुलमान घिसिङलाई प्रोत्साहित गर्नुपर्ने।
३) खाध्यपदार्थ पनि भारतबाट आयात गर्न बन्द गराउँने र मदन राई जस्ता कृषि वैज्ञानिकहरूलाई प्रोत्साहित गरेर अविलम्ब देशमा कृषि क्रान्ति गर्ने। कृषि बारे ‘क’ सम्म नजान्ने कृषिमन्त्रीलाई हटाएर कृषि विज्ञलाई कृषिमन्त्री बनाउनु पर्ने।
४) नेपालमा उत्पादन हुने जस्तैस् अदुवा र अलैची जस्ता नगदेबाली उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहित गरेर धेरै भन्दा धेरै नगदेबाली उत्पादन गर्ने र भारत निर्यात नगरेर सिधै अरब र अन्य राष्ट्रहरूमा निर्यात गर्ने। त्यसले विदेशी मुद्रा स्वदेश भित्रिन मद्दत गर्नेछ।
५) वैदेशिक भर्तीकेन्द्र (भारतीय र बेलायती) खारेज गर्नुपर्ने। १८ वर्ष पुगेका सबैलाई सैनिक तालिम दिनुपर्ने। बहालवाला भारत र बेलायतमा कार्यरत गोर्खाली सेनाहरूलाई त्यहाँको जतिनै सुबिधा दिएर नेपाली सेना बनाउँने। देशको युवाहरूले आफ्नै देशको रक्षा गर्ने हो। अर्काको देशको गुलाम बन्ने होइन।
६) १८ वर्ष माथिका र ६० वर्ष मुनिका सबै नेपालीहरू दैनिक ८ घण्टा आफ्नै व्यवसायमा अनिवार्य खट्नु पर्ने।
७) नेपाली जनता र राष्ट्रलाई घात गर्ने भ्रष्ट नेता, कर्मचारी, ठेकेदार, मानव तस्कर लगायत अनियमितता गर्ने जोकोहीलाई मृत्युदण्डको सजाय घोषणा गर्नुपर्ने।
८) देशमा राजनीतिक अस्थिरताको प्रमुख कारक अहिलेको अस्तव्यस्त र भ्रष्ट निर्वाचन प्रणाली पनि हो। अब प्रत्यक्ष जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था भएको संविधान संशोधन गर्नुपर्ने। र, सम्बन्धित क्षेत्रमा विज्ञ व्यक्तित्वलाई सोहि अनुसारको मन्त्री बनाउँनु पर्ने।
९) प्रतिनिधि सभामा अनावश्यक २७५ जना सांसदहरूको सङ्ख्या घटाएर नेपालको जनसंख्याको आधारमा सांसद राख्ने व्यवस्था भएको संविधान संशोधन गर्नुपर्ने। १०० जना भन्दा बढी प्रतिनिधि सभामा सांसद हुनुहुँदैन। प्रदेश सभामा पनि ३ लाख जनसंख्या बराबर एक सांसद राख्ने व्यवस्था गर्नुपर्ने।
(लामो समय वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहँदा सुनारीले धेरै नेपालीको उद्धार गर्नुका साथै समस्यामा परेका थुप्रै नेपालीलाई सहयोग गरेका छन् । हाल नेपालमा रहेका सुनारी काठमाडौँ इनोभेटिभ प्रा.लिमा प्रबन्ध निर्देशकका रुपमा कार्यरत छन् ।)
वि.सं.२०७७ असार २७ शनिवार १०:१७ मा प्रकाशित






























