हे भानुभक्त रस सज्जित त्यो कलामा ।
चुर्लुम्म डुब्छ मन यो सुरिला गलामा ।।
पढ्छौँ सदा हृदयमा अति हर्ष मानी ।
मीठा सुधारस भरी प्रभुभक्ति वाणी ।।०१।।
भाषा सुधार पथमा अति यत्नसाथ ।
आरम्भमा अति गर्याै श्रम कष्ट खास ।।
सोको सुरम्य मृदु भाव त देख्न पायौँ ।
श्रद्धाञ्जली कविविषे मनले चढायौँ ।।०२।।
हामी अझै भ्रमसँगै खुद छौँ अभद्र ।
पल्टन्छ वर्ष अनि खोल्दछु काव्यपत्र ।।
माला चढाउन उठेँ खुद दृश्य पुष्प ।
देख्दैन यो मन अझै पनि दृष्टि शुद्ध ।।०३।।
भाषा बुझी न त अझै खुद शुद्ध बोल्छु ।
अङ्ग्रेजको लवजका सित व्यर्थ घोल्छु ।।
ड्याडी ममी भन भनी निज वंशलाई ।
भाषा विकारतिर लान स्वयम् रमाई ।।०४।।
हामी न ता अझ कुनै पनि छन्दबद्ध ।
पार्छौँ चिटिक्क कविता न त क्यै छ ढङ्ग ।।
तस्मात् परस्पर सबै जन वृन्दलाई ।
फर्कोस् सुदृष्टि कवि दीन परै हटाई ।।०५।।
भाषा छ तै पनि अझै अलमल्ल पर्छु ।
आऊन् फिरेर मनमा दृढ भानु जप्छु ।।
चोला उठ्यो कुन दिशातिर पाउलाई ।
सार्यौ सुझाव गर भानु स्वयम् उदाई ।।०६।।
हाम्रा विहार पथमा नव काव्य ल्याई ।
सद्भावले घरघरै करुणा जगाई ।।
आएर बास गर भानु कला सिकाऊ ।
साहित्यतर्फ जड फ्याँक सुधा पिलाऊ ।।०७।।
त्यो मिष्ट भाव रसमा चुन कृत्य सार ।
त्यो रामभक्ति रसझैँ जड उच्च धार ।।
साहित्य मार्गतिरका सब फाल्न बार ।
हाँसोस् धरा खितखिती गर कष्ट पार ।।०८।।
त्यो अब्धिशून्य भवमा खुद अङ्क झार्याै ।
चट्टानतुल्य पथमा कृति योग्य पार्याै ।।
मान्छे न ता रघुकथा खुद पूर्ण चिन्थ्यो ।
साहित्यका रससँगै न त प्रेम दिन्थ्यो ।।०९।।
हो आज आत्मबल निर्भर गर्नलाई ।
आऊ सुधार कविता पथ स्वच्छ ल्याई ।।
हामी परस्पर जुटी अझ यत्न गर्छौँ ।
गाथा खुलोस् न रघुको अझ आश धर्छौँ ।।१०।।
छन्द :- वसन्ततिलका
गण :- त भ ज ज गु गु
सङ्केत :-SSI SII ISI ISI S S