अनकन्टार बस्तीको खोँचमा
घाँसीको जीर्ण कुवा
जब
भानुको चेतनामा छचल्कियो
नेपाली साहित्यकारको कलम
नयाँ मसीले भरियो ।
भानु
नयाँ बिहानी भएर छाए ।
दरिद्र घाँसीको युगीन चिन्तन
भानुको प्रतिभामा घुलेर
नेपालीभाषाको गतिमय प्रवाह बन्यो ।
फैलन खोजिरहेको नेपालीभाषा
वीररस र भक्तिरसको भँगालोमा
सूत्रबद्ध
रामायणको प्रकाशमय उज्यालो ओढेर
चम्कन सुरु गर्यो ।
रामायण काण्डकाण्डका सरल श्लोक
जब–गाउँ बेंसीमा गुन्जिए
सारा बस्तीमा भाषिक एकता उदायो ।
*
कुवा खनाउँने
घाँसीको बुलन्द सपना
नेपाली साहित्यको सुन्दर पानामा
बेमिसाल किर्तिको गाथा कुँदेर
युगयुग अमर भयो ।
*
भानुलाई अमर बनाउँने घाँसी
के गर्दैछन्–आज ।
लाग्छ
अझै उसरी नै
पसिनासरिको दौराको फेरले
अनुहारको पसिना पुछ्दै
घँसिया गीतमा मधुर भाका हालेर
नयाँ कुवा खनाउँने
सपना पूरागर्न–तल्लीनछन् ।