back
CTIZAN AD

एमसीसी मुखमा मह र पेटमा विष भरिएको भाँडो

वि.सं.२०७७ असार ३१ बुधवार

786 

shares

एउटा विचित्र विडम्बना के छ भने आफूलाई कम्युनिस्ट भन्ने, साम्राज्यवादविरोधी घोषित गर्ने, शोषण-दमनका विरुद्ध लड्ने बताउने, पंचशील र असंलग्नताको सिद्धान्तको हिमायती पनि दावी गर्ने र क्रान्तिको निम्ति सशस्त्र संघर्ष र जनयुद्धजस्ता भीषण र भयङ्कर आन्दोलनका नेतृत्व गरेका नायक भनी गर्व समेत गर्ने केही शक्ति र व्यक्तिहरु नै अमेरिकी साम्राज्यवादको MCC  नामको यो घातक षड्यन्त्रको पोकोलाई तत्काल पास गर्न हठात र बलात् मरिमेटेका छन् भने अन्य केही हस्तीहरु इष्ट इण्डिया कम्पनीको अर्को रुप मानिएको यो MCC जस्तो खतरनाक कम्पनी र उसको चाल, जाल र ढाललाई बुझेर हो कि नबुझेर यसलाई खारेज होइन संशोधन गरेर पास गर्नसकिने तर्क-वितर्क गरिरहेका छन्।

अमेरिकी निगम Millennium Challenge Corporation(MCC)   र नेपाल सरकारबिच सम्पन्न Millennium Challenge Compact (MCC) सम्झौता नेपालमा अहिले निकै नै विवादित छ र सत्ताधारी नेकपाभित्र त यसै विषयलाई लिएर अन्तरसंघर्ष चर्किएको छ । त्यसैले मानिसहरु महाकाली सम्झौता जस्तै MCC पनि पार्टी फुट्ने कारक बन्ने अनुमान गर्छन् । त्यसैले पनि यसप्रती धेरैको चासो र चिन्ता बढेको छ । यतिबेलाको यो निकैनै संवेदनशील र गम्भीर विषय समेत हो । तसर्थ यसलाई हेर्ने, बुझ्ने र यसप्रति व्यवहार गर्ने विचार, वर्ग र दृष्टिकोणहरुलाई विश्लेषण गरेर हेर्नू र बुझ्नु वान्छनीय भएको छ । MCC लाई हेर्ने र बुझ्ने विचार, वर्ग र व्यवहार मुख्यतः तीनथरी दृष्टिकोणमा आधारित छन् ।

ती हुन् : –
१) पहिलो, प्रतिक्रियावादी अर्थात् आत्मसमर्पणवादी दृष्टिकोण । यो एउटा निरपेक्षतावादी अतिवादी दृष्टिकोण नै हो । यस दृष्टिकोणबाट हेर्नेहरुले जुनसुकै कुरालाई मूलतः आफ्ना मालिक सामन्त, दलाल, पुँजीपती र साम्राज्यवादी-विस्तारवादी शक्तिकेन्द्रको स्वार्थपूर्तीका लागि र अंशतस् आफ्नो व्यक्तिगत, पारिवारिक वा गुटीय स्वार्थपूर्तिका लागि उचित र आवश्यक छ वा छैन भनेर मात्र हेर्दछन् । आजको युग, युगका विशेषता अनि देस र दुनियाँलाई पढेका र बुझेका भनिएका धन वा दानमा डिग्री प्राप्त गरेका यस्ता दिल-दिमागमा दलाली, दासता र दम्भ भरिएका यी द्रव्यपिचासहरुले आफ्नो देस र जनताको हितको निम्ति चिन्तन, संघर्ष, वार्ता र प्रस्तावसम्म पनि गर्दैनन् । यिनीहरुले साम्राज्यवादी शक्तिकेन्द्र जस्ता दाता भनिएका आफ्ना विधाताले जे भन्छन्, त्यही कुरा बिना कुनै बहस र प्रतिवाद हुबहु, अक्षरसः र पूर्णतः शिरोधार्य गर्छन् । यसरी उनीहरु आफ्ना मालिकसामू नतमस्तक बन्दै आत्मसमर्पण गर्दछन् अनि त्यसै अनुसार निर्णय र काम समेत गर्छन- गराउँछन् । तिनीहरुले नै आज MCC लाई यो दृष्टिकोणबाट हेर्ने र यसलाई एकदमै सही, सर्वाधिक हितकारी र अत्यावश्यक ठानेर हुबहु पास गर्नुपर्छ भनि मुढे, लेंडे र भेंडे बल लगाइरहेका छन् । यसो गर्नेहरुमा आज नेपालमा मूलतः हाम्रा सत्तारुढ दलका कट्टरपन्थी संचालकहरु खासगरी प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थ तथा संचारमन्त्री युवराज खतिवडा, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका मुख्य नेतृत्व पंक्तिका शेरबहादुर देउवा, मीनेन्द्र रिजाल, आरजु देउवा राणा, डा. रामशरण महतलगायत केही नेता र तिनका भक्तहरु तथा साम्राज्यवादी मुलुकमा पढेर त्यहाँको नवउदारवादी शिक्षा-दीक्षा र चस्माले शिक्षित-दीक्षित र आभूषित खड्ग बहादुर बिष्ट आदि केही विज्ञ-विशेषज्ञहरु जो MCC बाट अहिले र पछि पनि व्यक्तिगत रुपले लाभान्वित भएका र हुने छन्, ती व्यक्ति र अनुदारवादी शक्तिहरुको सानो संख्या मात्र पर्दछन् ।

२) दोश्रो, सुधारवादी-संशोधनवादी अर्थात् वर्गसमन्वयवादी दृष्टिकोण । यस दृष्टिकोणले दुई विपरीत विचार, वर्ग, विधि, वचन र व्यवहारहरुबिच निर्णायक संघर्ष होइन कि तिनमा, परिष्कार, परिवर्तन र परिबर्द्धन गरेर समय र सन्दर्भ सापेक्ष गर्नुपर्छ भन्दै आपसमा सहमिलन, सहकार्य, संझौता र समन्वय गर्ने-गराउने सोंच्छ र सोही अनुसार गर्छ-गराउँछ । संतुलित, शिष्ट, भद्र, सालीन, मिलनसार र जिम्मेवार देसभक्त, राष्ट्रवादी र सापेक्षतावादी भएर सोंच्ने र दुवैपक्षलाई मिलाएर लैजान मध्यस्तता गर्ने नाममा यो दृष्टिकोणले मध्यमार्गी बाटो अवलम्बन गर्दै यस्ले पनि प्रथमतः सत्ताबाट आफूहरुलाई प्राप्त भैरहेका र हुने भत्तालगायतका पद, प्रतिष्ठा र सुखसुविधा जोगाउने प्रबल सम्भावना हुन्छ । यसरी यस दृष्टिकोणले पनि अन्ततः र सारतस् प्रतिक्रियावादी सत्ता एवं त्यसका संचालक-संरक्षक बनेको पहिलो पक्षलाई नै सहयोग पुराउँछ ।

आज Mcc लाई यो दृष्टिकोणले हेर्नेहरु मूलतः सरकार र सदनलगायतका सत्ताका विभिन्न निकाय र ओहदामा बसेर सत्ताको रस पनि पान गर्ने अनि देसभक्त र क्रान्तिकारी पनि देखिने मानिसहरु पर्दछन् । यस्ता मानिसहरु पार्टीभित्र, सरकारभित्र, सदनभित्र र कोठाभित्र बसेर वक्तव्यवाजी गर्ने, रेडियो, टिभी, पत्रपतृका र सामाजिक सन्जाल आदिमा मन्तव्य, टिप्पणी र अन्तर्वार्ता त खुब दिन्छन् तर जनतासङ्ग सडकमा उत्रेर संघर्ष गर्ने ‘असभ्य’, ‘अशिष्ट’ र ‘अभद्र’ काम गर्दैनन् र यसो गर्दा संसदीय सीमामा उल्लंघन भएर आफ्नो स्वार्थमा धक्का लाग्ने ठान्दछन् । उनीहरुले सम्झौताका केही बुँदालाई संशोधन वा परिमार्जन गरी यसलाई स्वीकार गर्न सकिने मत राख्छन् । यसरी यो दृष्टिकोण राख्नेहरुले MCC को सार, समग्र र सन्दर्भ तथा पछिल्लो प्रभाव र परिणाममा भन्दा यसको संरचनागत र रुपपक्षमा फोकस गरी हेर्छन् र तिनमा केही परिवर्तन गरेमा संसदबाटै पास गर्न समेत सकिने बताउँछन् । उनीहरुले के कुरा बुझ्दैनन् वा बुझेर पनि व्यक्त गर्न चाहदैनन् वा सक्तैनन् भने MCC  को नीति र रुपमात्र होइन, नियत र सार समेत घातक छ ।

सार र समग्र हेर्न र बुझ्न नसक्ने र जो देखेको रुप र सारमध्येमा पनि सारलाईभन्दा रुपलाई प्राथमिकता र महत्व दिने यो दृष्टिकोण वास्तवमा यस्तो एकाङ्गी र अधिभूतवादी दृष्टिकोण हो जो मूलतः रुपमा, आवरणमा, संरचनामा र अभिव्यक्तिमा राष्ट्रवादी र क्रान्तिकारी देखिएपनी यो संसदवादी, सुधारवादी, संशोधनवादी विचार, दृष्टिकोण र कार्य नै हो, जो अन्त्तत: र सारत: संसदीय सीमा र स्वार्थभन्दा माथी र दायाँबायाँ जान नसक्ने अवसरवादी दृष्टिकोण हुनाले यसबाट अन्ततः देस, जनता र क्रान्तिलाई धोका र धक्का पुग्ने खतरा रहन्छ । यदी यो दृष्टिकोण राख्ने हस्तिहरु संसदीय सीमा र सुविधा नाघेर बाहिर आउने हिम्मत गर्ने हो भने MCC कुनै हालतमा पास हुनसक्तैन र यो खारेज नै हुन पुग्दछ भने यसका नायकहरु महानायक नै बन्न पुग्दछन् । तर दुखद विडम्बना के छ भने वाध्यता र अपवादमा बाहेक यो पंक्ति निर्णायक संघर्षमा, संघर्षको निर्णायक र उच्चतम रुप अवलम्बनमा र फाइट टु फिनिसको लडाइँमा आउंदैन तर पनि यसलाई सोलोडोलो ल्याउन नसकेपनी जेजती सकिन्छ, ल्याउन प्रयत्न भने गर्नु नै पर्दछ र यसो गर्दा नै आन्दोलन निर्णायक बन्न र लक्षमा पुग्दछ ।

३) तेस्रो दृष्टिकोण हो मालेमावादी द्वन्द्वात्मक भौतिकवादी अर्थात् बैज्ञानिक र क्रान्तिकारी दृष्टिकोण । यो दृष्टिकोणले हेर्नेहरुले सम्झौताको सिङ्गो रुप र सार मात्र होइन, यसका विविध पाटापक्षलाई विश्लेषण गरेर हेर्छन् र रुप र सारको, नीति र नियतको, लक्ष्य र कर्मको साङ्गोपाङ्गो अध्ययन गर्छन् र निष्कर्ष निकाल्छन् । यतिमात्र होइन, यो सम्झौताको पृष्ठभुमि र सन्दर्भ, यसका बहु आयामिक पक्षहरु र ती बिचका अन्तर्सम्बन्धहरु तथा अमेरिका र उसको संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसनको स्थापनाको अदृश्य कारण र उद्देश्य अनि उसका कृयाकलापले पारेका पछिल्ला परिणाम र प्रभाव तथा अमेरिका र MCC ले विभिन्न देसमा सहयोगका नाममा गरेका कामकार्वाहीहरु आदिको वस्तुगत समीक्षा समेत यस दृष्टिकोणले हेर्नेहरुले गर्न सक्छन् र गर्दछन् ।  यसका साथै यस दृष्टिले हेर्नेहरुले विषय , वस्तु वा घटनाको सकारात्मक र नकारात्मक, अनुगमनात्मक र निगमनात्मक, तात्कालीन र दीर्घकालीन आदि विभिन्न कोणबाट हेरेर समग्र अध्ययन-विश्लेषण गरेर मात्र मूल्यांकन गर्दछन् । यो नै वस्तुवादी र सही दृष्टिकोण हो । यस दृष्टिकोणबाट हेर्दा जोकसैले पनि MCC सम्झौतालाई ‘ मुखमा मह र पेटमा बीष भरिएको भांडो’जस्तो सर्वाधिक राष्ट्रघाती देख्छन् । फलस्वरूप यस्लाई संशोधन, परिमार्जन आदि केही गरेर हुँदैन, खारेज नै गर्नुपर्छ भन्नेमा दृढ भै निर्णायक संघर्षको लागि मैदानमा उत्रिन्छन् र उतृएका पनि छन् १ यसरी आज नेपालमा तीमध्ये संघर्षमा उतृनेहरुमा MCC खारेज अभियान, नागरिक आवाज र MCC विरुद्ध संयुक्त संघर्ष समिति जस्ता नागरिक स्तरका कैयौं संयन्त्रहरु बनाएर सत्तासीन नेपाल कम्युनिस्ट पार्टीकै नेता, कार्यकर्ता र जनता जीवन-मरणको संघर्षमा उत्रिएका छन् भने ११ वामदलहरु एउटा मोर्चा बनाएर र वरिष्ठ वामपन्थी नेता नारायणमान विजुक्छे (क.रोहित)ले नेतृत्व गर्नुभएको नेमकिपाजस्ता राजधानीमा राम्रो प्रभाव भएका शक्तिहरु लगायत भरत दाहालको राष्ट्रिय जागरण परिषद, विमल अधिकारीको नेकपा माओवादी, भावना विद्रोहीको नेकपा विद्रोही माओवादी आदि कैयौं शक्ती र व्यक्तिहरुमध्ये कसैले कुनै मोर्चा वा मन्च बनाएर त कसैले केही नबनाएर पनि संघर्षमा हेलिएका छन् । यसैगरी पछिल्लो चरणमा डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपालका लागि नेपाली अभियान, प्रेम कैदी र प्रा.डा. सुरेन्द्र केसी र ज्ञानेन्द्र शाही र रवि लामिछाने आदिका आआफ्ना समर्थक समूहहरु र सचेत महिला समूह तथा हालै बलराम तिमिल्सिना (विप्लव)को पहल र नेतृत्वको सांकृतिक-साहित्यिक जागरण समूह आदिले सामूहिक रुपमा जनस्तरबाटै सडक तताउँदै MCC पास नगर्न पूर्ण खबर्दारी गरिरहेका छन् । स्मरणीय छ, यसरी आफ्नै पार्टीका नेता र सरकाका मन्त्रीहरुलाई MCC पास नगर्न सडकबाटै चुनौती दिनेहरुमा सत्तासीन पार्टीको माथिदेखी तलसम्म र वरदेखी परसम्मका नेपाली कम्युनिस्ट आन्दोलनका विशारद व्यक्तित्व एवम् वरिष्ठ बौद्धिक नेतृत्व क। स्वनाम साथी, असोज महर्जन र स्वयं म सहित नेकपाका वरिष्ठ MCC क. किसन शर्मा गैरे लगायत थुप्रै राजनीतिक, सामाजिक र साहित्यिक क्षेत्रका मूर्धन्य व्यक्तित्वहरु समेत हुनुहुन्छ ।

यो कुरा बेग्लै हो कि माथी उल्लिखित सबै वर्गमा केही यस्ता विशिष्ट पात्र र प्रवृत्तीहरु पनि छन्, जो हाललाई कुनै खास कारणले गर्दा उनीहरुले त्यस दृष्टिकोणबाट हेरे-गरेको देखिए पनि त्यो उनीहरुको स्थायी दृष्टि र प्रवृत्ती नहुन सक्छ, वा तिनमा ज्ञान वा खानपानले पनि परिवर्तन ल्याउन सक्छ । उनीहरु सबै समानरुपले आफ्ना वर्तमान विचार, वर्ग र व्यवहारप्रती प्रतिबद्ध नहुन पनि सक्छन् भन्ने मानेर आन्दोलनकारी क्रान्तिकारीहरुले तिनलाई विश्लेषण गरेर हेर्ने र सो अनुसार तिनमा आएको सकारात्मक वा नकारात्मक परिवर्तन बुझेर व्यवहार गर्ने गर्नुपर्दछ । अझ स्पष्ट भन्नुपर्दा, प्रथम वर्गमा भएकाहरुमा पनि केही MCC विरोधी हुन सक्छन् भने तेस्रो वर्गमा पनि कोही कुनै निश्चित निहित उद्देश्य, कारण र स्वार्थले गर्दा MCC समर्थक हुन सक्ने कुरालाई नकार्न सकिन्न । त्यस्तै, दोस्रो वर्ग र दृष्टिकोण नै अस्पष्ट, ढुलमुल र दोधारे हुने भएकाले उनीहरु छिटै नै स्पष्ट, दृढ र एकोहोरो हुंनेक्रममा सही र क्रान्तिकारी दृष्टिकोण र वर्गमा पर्ने सम्भावना बढी हुने कुरामा आशावादी हुनसकिन्छ ।

तर एउटा विचित्र विडम्बना के छ भने आफूलाई कम्युनिस्ट भन्ने, साम्राज्यवादविरोधी घोषित गर्ने, शोषण-दमनका विरुद्ध लड्ने बताउने, पंचशील र असंलग्नताको सिद्धान्तको हिमायती पनि दावी गर्ने र क्रान्तिको निम्ति सशस्त्र संघर्ष र जनयुद्धजस्ता भीषण र भयङ्कर आन्दोलनका नेतृत्व गरेका नायक भनी गर्व समेत गर्ने केही शक्ति र व्यक्तिहरु नै अमेरिकी साम्राज्यवादको MCC  नामको यो घातक षड्यन्त्रको पोकोलाई तत्काल पास गर्न हठात र बलात् मरिमेटेका छन् भने अन्य केही हस्तीहरु इष्ट इण्डिया कम्पनीको अर्को रुप मानिएको यो MCC जस्तो खतरनाक कम्पनी र उसको चाल, जाल र ढाललाई बुझेर हो कि नबुझेर यसलाई खारेज होइन संशोधन गरेर पास गर्नसकिने तर्क-वितर्क गरिरहेका छन्। आज विश्व क्रान्तिमा क्रान्तिभित्रकै छद्मभेषी व्यक्ती, शक्ति र प्रवृत्तिका कारण भएको धोकाधडी र गद्दारीले गर्दा हुन गएको क्षतिको फलस्वरुप प्रतिक्रान्ती भएको कुरालाई हृदयङ्गम गरेर नै नेपाली देसभक्त क्रान्तिकारीहरुले आफ्ना क्रान्तिकारी काम, कुरा र कदमका चाल र ढालहरुलाई निरन्तर चलाउनु जरुरी भएको छ । अस्तु।

वि.सं.२०७७ असार ३१ बुधवार १०:१४ मा प्रकाशित

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको...