६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एंव सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आगामी मंसिरमै महाधिवेशन गर्ने कुरा कुनै हालतमा सम्भव नरहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावमाथि जवाफ दिँदै श्रेष्ठले मंसिरमा महाधिवेशन सम्भव नहुने स्पष्ट पारेका हुन् ।
मंगलबार स्थायी समिति बैठक अघि सामाजिक सञ्जालमार्फत बोल्दै प्रवक्ता श्रेष्ठले पार्टीको महाधिवेशन केन्द्रीय कमिटीले तोकेको मितिमा गर्न सम्भव हुने पनि बताएका छन् । ‘आगामी मङ्सिरमा नै महाधिवेशनको आयोजना गर्न सँभव देखिन्न, त्यसैले हचपच र ढिलाई दुवै गलत हुन्छन्’ सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठले भनेका छन्, ‘गत केन्द्रीय कमिटीको यस समबन्धी निर्णयलाई ध्यान दिदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढौं, महाधिवेशनलाई एकता र बैचारिक संश्लेषण एवं बिकासको महाधिवेशन बनाऔं।’
https://www.facebook.com/narayankaji.shrestha.33/posts/2673329986257873
उनले पार्टीको महाधिवेशनलाई प्राविधिक विषय मात्रै बनाउन नहुने तर्क गरेका छन् । वैचारिक र सांगठनिक दुवै उद्देश्य पुरा गर्ने गरि महाधिवेशन गर्नुपर्ने श्रेष्ठको भनाई छ ।
‘हाम्रो पार्टीमा अहिले एकता महाधिवेशन गर्ने चर्चा शुरु भएको छ, यो राम्रो र खुशीको कुरा हो किनकि पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पुरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नै पर्छ तर, महाधिवेशनलाई प्राबिधिक बिषय मात्र बनाउनु हुँदैन, बैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभार समेत पुरागर्ने गरी महाधिवेशन को तयारी गरौं’ उनले भनेका छन् ।
पार्टी विवादका बीच गत शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विवाद समाधानको निकासको लागि भन्दै मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले समर्थन जनाए पनि अन्य नेताहरुले विरोध जनाएका छन् । तर, निकटसँगको छलफलपछि प्रचण्डले पनि आगामी मंसिरमा एकता महाधिवेशन गर्न सम्भव नहुने बताएका छन् ।
वि.सं.२०७७ साउन ६ मंगलवार १३:१० मा प्रकाशित






























