काठमाडौं । शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता महाधिवेशनको प्रस्ताव राखेसँगै नेकपाभित्रको राजनीति फरक मोडमा पुगेको छ । जबरजस्त प्रवेश गरेको महाधिवेशनको विषयले नेकपाभित्र तिव्र धुव्रीकरण पनि सुरु भएको छ ।
ओलीले प्रस्ताव गरेकै समय (मंसिर)मै महाधिवेशन हुने नहुने टुंगो नभएपनि पार्टीभित्रको दौडधुप भने आक्रामक देखिएको छ । नेताहरु गुटगत भेला गर्ने र समीकरण निर्माण गर्ने अभियानमा जुटेका छन् ।
ओली, दाहाल र नेपालको दौडधुप बाक्लो, ओलीद्वारा दाहाल र गौतमलाई अफर
पार्टीभित्र नेतृत्वमा देखिएका मुख्य पाँच नेताहरु ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले छलफललाई तिव्रता दिएका छन् । अहिलेका अध्यक्षद्वय ओली र दाहाल अनि वरिष्ठ नेता नेपाल समुहगत भेलामा जुटेका छन् ।
मुख्य नेताहरु ओली, दाहाल र नेपालले महाधिवेशनसम्मको रणनीतिबारे विशेष छलफल अगाडि बढाएका छन् । त्यसक्रममा ओलीले दाहाल र गौतमलाई विभिन्न अफर दिँदै नयाँ समीकरणको खोजी गरेका छन् भने दाहालले नेपाल, खनाल र गौतमसँग समीकरणको प्रर्यत्न गरिरहेका देखिन्छन् ।
शनिबारयताका दौडधुपमा बालुवाटार भेला, खुमलटार भेला र कोटेश्वर भेला विशेष छन् । स्थायी समिति बैठकअघि मंगलबार दाहाल, नेपाल र खनाल पक्षीय नेताहरुको खुमलटारमा भएको भेलाले ओलीविरुद्वको गठबन्धन बनाउने रणनीति अघि सारेको थियो भने कोटेश्वर भेलाले दाहालसँग महाधिवेशनसम्मै सहकार्य गर्ने निष्कर्ष निकालेको थियो । यसबीचमा बालुवाटारमा भएका छलफलहरुमा दाहाल र वामदेवलाई ओलीले अफरका प्रस्ताव गरिरहेको विषय बाहिर आएको थियो ।
सोमबार दाहाल निवासमा भएको पूर्वमाओवादी समुहको भेलामा दाहालले आफुँलाई ओली पक्षबाट अध्यक्षको अफर आएको खुलासा गरेका थिए । उनले नेताहरुसँगको ब्रिफिङ्गमा अध्यक्ष बन्दा जबजलाई स्वीकार गर्नुपर्ने सर्त आएको पनि बताएका थिए ।
दौडधुपकै क्रममा ओली पक्षले मंगलबार नै वामदेव गौतमलाई भेटेर आगामी अध्यक्षको समेत प्रस्ताव राखेको विषय सार्वजनिक भएको छ । भैंसेपाटीस्थित उनको निवासमै ओलीका मुख्य सल्लाहकार विष्णु रिजाल पुगेर महाधिवेशनसम्मको सहकार्य खोजेका थिए ।
पूर्वमाओवादी खेमाकै नेताहरु ओलीतिर
यसबीचमा पूर्वमाओवादी खेमाकै कतिपय नेताहरु ओली नजिक देखिएका छन् । रामबहादुर थापा, लेखराज भट्ट र जनार्दन शर्मा नै केही अफरका पछाडि लोभिएको विषय नेकपाभित्र चर्चामा छ ।
असार १० देखि सुरु नेकपाको स्थायी समिति बैठकमा ओलीको राजीनामा मागिएसँगै नेकपाभित्र तिव्र विवाद छ । जसको निकास स्वरुप ओलीले राखेको महाधिवेशनको प्रस्तावसँगै नेकपाभित्र तिव्र उथलपुथल र धु्रवीकरण भएको छ ।
वि.सं.२०७७ साउन ८ बिहीवार १६:०१ मा प्रकाशित
























