काठमाडाैं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरण नयाँ मोडमा आइपुगेको छ। आत्महत्याप्रति प्रश्न उठिरहेकाे बेला राजपुतका पिताले अभिनेत्री रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन्। सुशान्तका पिता के.के सिंहले आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको भन्दै रियाविरुद्ध उजुरी दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
सुशान्तका पिताले पटना प्रहरीमा उजुरी दिएका छन्। सुशान्तकी ‘प्रेमिका’ रिया चक्रवर्तीविरुद्ध विभिन्न गम्भीर आरोप लगाउँदै पिताले उजुरी दिएका हुन्। उजुरीपछि प्रहरीले नयाँ शिराबाट अनुसन्धान अघि बढाएको छ। यसअघि नै मुम्बई पुलिसले रियासँग सोधपुछ गरिसकेको छ। अब उजुरीपछि गिरफ्तार गरेर अनुसन्धान गरिनेछ।
उजुरीमा रियामाथि सुशान्तलाई प्रेम जालमा फसाएर, ब्ल्याकमेल गरेर पैसा हडपेको आरोप लगाइएको छ। साथै छोरा सुशान्तलाई प्रताडित गरेर आत्महत्या गर्नका लागि उत्तेजित गरेको र परिवारबाट टाढिन बाध्य पारेको आरोप पनि लगाइएको छ।
उजुरीमा रियाले सुशान्तलाई भावनामा बहकाउने र तिमीमा दिमागी समस्या भएको भन्दै बारम्बार भन्ने गरेको उल्लेख छ। रियाका परिवारले उपचारको बहानामा सुशान्तलाई आफ्नो घरमा लगेर औषधिको ओभरडोज दिएको र बाहिर रियाले सुशान्तलाई डेंगु भएको र उपचार भइरहेको प्रचार गरेको तर डेंगु नभएको कुरा पिताले उल्लेख गरेका छन्। उपचारकै क्रममा रिया र उनको परिवारले सुशान्तको सबै कुरामा कब्जा गरेको र सुशान्त पनि आफूहरुसँग टाँढिएको उल्लेख छ।
रिया सुशान्तकी प्रेमिका थिइन्। यसअघि रियाले पनि सामाजिक संजालमा सुशान्त सिंह राजपुतलाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई पहिचान गरि कडा कारवाही गरिनुपर्ने बताएकी छिन्।
वि.सं.२०७७ साउन १४ बुधवार १२:४६ मा प्रकाशित





























