साइनोको आरम्भ गरी एक वर्षमा ३६५ साइनो विभिन्न पत्रपत्रिका र अनुहार पुस्तिकामा प्रकाशित गराउनु उनको साइनोप्रतिको विशिष्ट पहिचान हो । उनका साइनोमा सामाजिक बेथितिप्रति प्रहार गर्नु, सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक विषयलाई बढी आत्मसाथ गर्नु, प्रकृति चित्रण गर्नु, मनोरञ्जन अर्थात् प्रेमिल भाव अभिव्यक्त हुनु, कटाक्ष रूपमा व्यङ्ग्य प्रहार गर्नु, श्रमप्रतिको सम्मान अभिव्यक्त हुनु र भूगोल तथा मानवताको पक्ष अगाल्नु जस्ता विशेषता देखिन्छन् । उच्च भाव, अनुप्रास, रसको परिपाक, अलङ्कारयुक्त भाषा, संरचना, भाव, मानवता, राष्ट्रियता, प्रकृति चित्रण, श्रमप्रतिको सम्मान, प्रेमिल र आध्यात्मिक पक्षले बगरका साइनो बढी तेजिला र गर्भिला बनेका छन् ।
१. विषय प्रवेश
छायादत्त न्यौपाने ‘बगर’ नेपाली वाङ्मयमा कलिला मुनादेखि भरिला फाँटमा अनि हिमालका काखमा सलबलाएर सिर्जनाका थुँगाहरू सजाउने सिर्जनशील योद्धा हुन् । साइनोको प्रार्दुभाव गराउनुका साथै यसको सैद्धान्तिक पक्षलाई अगाडि बढाई नेपाली साहित्यमा थप उपविधाको भण्डारण गरेका छन् । ‘बगर’ उपनामबाट परिचित छायादत्त न्यौपाने वि.सं. २०२२ साल असार १६ गते पर्वत जिल्लाको हुवास अमलडाँडामा आमा देवरूपा न्यौपाने र बुबा कमलप्रसाद न्यौपानेका पुत्रका रूपमा जन्मिएका हुन् । घरमै बुबाबाट अक्षरारम्भ गरेका न्यौपाने संस्कृतमा शास्त्री, नेपालीमा एम.ए. र बि.एड.सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । साहित्य सिर्जनासँगै प्राध्यापन, लेखन, सम्पादन, प्रशिक्षक जस्ता विविध क्षेत्रमा संलग्न भई सामाजिक, साहित्यक, शैक्षिक क्षेत्रमा रही सेवामूलक काम गर्दै आएका उनका धेरै कृतिहरू विविध विधामा प्रकाशित छन् । साइनोमा बढी रुचि राख्ने न्यौपाने वि.सं २०७६/४/१६ मा साइनो सिर्जना गरी साइनोको सुरुवात गर्ने व्यक्ति हुन् ।
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी ।
यो उनको पहिलो साइनो हो । साइनोको आरम्भ गरी एक वर्षमा ३६५ साइनो विभिन्न पत्रपत्रिका र अनुहार पुस्तिकामा प्रकाशित गराउनु उनको साइनोप्रतिको विशिष्ट पहिचान हो । उनका साइनोमा सामाजिक बेथितिप्रति प्रहार गर्नु, सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक विषयलाई बढी आत्मसाथ गर्नु, प्रकृति चित्रण गर्नु, मनोरञ्जन अर्थात् प्रेमिल भाव अभिव्यक्त हुनु, कटाक्ष रूपमा व्यङ्ग्य प्रहार गर्नु, श्रमप्रतिको सम्मान अभिव्यक्त हुनु र भूगोल तथा मानवताको पक्ष अगाल्नु जस्ता विशेषता देखिन्छन् । उच्च भाव, अनुप्रास, रसको परिपाक, अलङ्कारयुक्त भाषा, संरचना, भाव, मानवता, राष्ट्रियता, प्रकृति चित्रण, श्रमप्रतिको सम्मान, प्रेमिल र आध्यात्मिक पक्षले बगरका साइनो बढी तेजिला र गर्भिला बनेका छन् ।
२.सैद्धान्तिक आधार
साहित्यका विविध विधामध्ये साइनो कविता विधाअन्तर्गत पर्ने नवीनतम उपविधा हो । साइनो मानव मनबाट सिर्जित सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक आदि पक्षमा व्यङ्ग्य गर्दै सचेतताको खवरदारी गर्ने सात, आठ र नौ अक्षरको शब्दगुच्छामा तीन पङ्क्ति भएको स्वतन्त्र भाव प्रकट गर्ने सूत्रात्मक अभिव्यक्ति हो । साइनो कविताको लघु रूप भए पनि यसमा प्रस्तुत हुने संरचना वा तत्त्वका हिसाबले यो आफैमा पूर्ण छ । साइनो नवप्रवर्तन नेपाली माटोमा उब्जिएको विधा भएकाले यसको लेखनका लागि संरचना, विषयवस्तु, भाव र लय, रस, अलङ्कार र ध्वनि, भाषाशैली र उद्देश्य आवश्यक साधन हुन् । साइनोलाई तत्त्वगत तथा अन्य भाव र पक्षका आधारमा पनि विश्लेषण गर्न सकिन्छ । साइनोमा आउने विविध विषयमध्ये यस लेखनीमा संरचना, भावरविचार, मानवता, राष्ट्रियता, प्रकृति चित्रण, श्रमप्रतिको सम्मान, रसनिष्पत्ति र व्यङ्ग्यलाई आधार मानी छायादत्त न्यौपानेका केही साइनोहरूको अध्ययन गरिएको छ ।
२ः१ संरचना
संरचनाका हिसाबले साइनो आफैमा पूर्ण छ । नेपाली माटोमा उब्जिएर मौलिक अस्तित्व कायम गर्ने साइनो सूत्रात्मक गद्य कविताको एक रूप हो । छायादत्त न्यौपाने साइनोका सर्जक भएकाले संरचनागत हिसाबले हेर्दा प्रभावशाली देखिन्छन् । साइनोको आफ्नै विधान छ । विधान आफै बनिबनाउ हुँदैन । त्यो कहीँ न कहीँबाट सुरु भई त्यसको विकास हुन्छ । त्यसैले साइनोको संरचना अरु विधाभन्दा छुट्टै खालको छ । संरचनागत रूपमा बगरका साइनोलाई हेर्दा पहिलो लहर सात अक्षरको, दोस्रो लहर आठ अक्षरको र तेस्रो लहर नौ अक्षरको गरी जम्मा २४ अक्षरको पूर्णतामा रहेका छन् ।
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी !
प्रस्तुत साइनो छायादत्तको पहिलो साइनो हो । यो ७, ८, ९ को संरचनामा संरचित छ । पहिलो लहरको अर्थ आफैमा स्वतन्त्र छ । जसले मान्छे इमानदार नभएको कुरा सङ्केत गरेको छ । दोस्रो लहरमा धन सहरमा नभएको भाव व्यक्त छ भने तेस्रो लहरमा गरिबको झोपडीमा खाने खर्च नभएको कुरा अभिव्यक्त छ । यी तीनओटै लहरले स्वतन्त्र अर्थ प्रदान गरेका छन् । यस साइनोको समग्र अर्थ मान्छे इमानदार बन्न नसक्दा सहरमा श्रम गर्दा पनि धन नहुँदा अन्न नभई छटपटिनु परेको व्यङ्ग्यभाव अभिव्यक्त भएको छ । साइनोका तीन लहर आफैमा स्वतन्त्र भई साइनोको पूर्ण अर्थलाई आश्चर्यवाचक चिह्नले सङ्केत गरेको छ । स्वतन्त्र अर्थसहितको लहर छुट्याउन कुनै न कुनै भावअनुसारको चिह्नको सङ्केत दिइएमा त्यो अझ सरल र सहज बन्न जान्छ । बाह्य संरचनाका हिसाबले हेर्दा छायादत्तका साइनोमा गुण, लय र अक्षर गुच्छाको संयोजन छ । आन्तरिक संरचनालाई हेर्दा भाव, कला, भाषिक संरचना स्वतन्त्र अर्थ र समुच्चय अर्थको पूर्णता रहेको छ ।
२.२ भाव र विचार
न्यौपानेका साइनोमा भाव पक्ष सबल छ । कलात्मक वा बिम्बका सहायताले अभिव्यक्त हुने साइनो उत्कृष्ट हुन्छन् । त्यो स्वरूप न्यौपानेका साइनोगत कवितामा पाइन्छ । भाव वा विचारका हिसाबले हेर्दा उनका साइनोमा प्रायः सूत्रात्मक प्रस्तुतिमा सामाजिक बेथितिप्रति प्रहार, राष्ट्रिय चेतना, देशप्रेम, संस्कृतिप्रतिको मोह, मानवीय संवेदना, श्रमप्रतिको सम्मान अभिव्यक्त भएको देखिन्छ ।
हाम्रो सिर्जना सूत्र
मन–माटोको सम्बन्ध
जनजीवनको सुगन्ध ।
त्रिपदमा आबद्ध प्रस्तुत साइनोमा हरेक लहर वा गुच्छामा स्वतन्त्र अर्थ रहेको छ । पहिलो गुच्छामा हामीमा सिर्जनाको सूत्र भएकाले त्यसबाट अगाडि बढ्न सक्ने सङ्केत गरेको छ । दोस्रो लहरले मानिस र माटोबिच सम्बन्ध रहने कुराको जानकारी गराएको छ भने तेस्रो लहरले जनजीवनको सम्बन्ध मिठो हुने भाव व्यक्त गरेको छ । समग्रमा साइनोले हाम्रो सिर्जना भनेको मन र माटोको सम्बन्ध हो, जसले मानव जीवनमा सुगन्ध बर्षाउँछ भन्ने भाव व्यक्त गरेको छ । मन र माटोसँगको सम्बन्ध अनि मायाले जीवनमा सुगन्ध आउने भाव अभिव्यक्त गरेका छन् ।
वि.सं.२०७७ साउन २२ बिहीवार १५:२१ मा प्रकाशित






























