ठ्याक्कै एकसाता भएछ, किर्तीपुर अस्पतालमा पुगेर एसिड आक्रमणमा परेकी पवित्रा कार्कीलाई आर्थिक सहयोग हस्तान्तरण गरेर आएको ।
अमेरिकामा रहनु भएकी समाजसेवी दिदी सवि थापाले गर्नुभएको ‘लौ न बहिनी यस्तो पीडाको अवस्थामा पवित्रालाई केही सहयोग गरौ न !’ भन्ने आग्रहलाई सिरोपर गरेर म किर्तीपुर पुगेकी थिए ।
पवित्राकी दिदी सुनिताले, अघिल्लो दिन फोनमा पवित्राको खुट्टाको मासु निकालेर अनुहारको एसिड परेको भागमा राख्नका लागि गरिएको अप्रेसनका कारण उनलाई भेट्न नमिल्ने भनेपछि आर्थिक सहयोग मात्रै गर्न भएपनि जान्छु भनेर किर्तीपुर अस्पतालमा पुगे ।
अस्पतालको बाहिर खुट्टाले थिचेर निकाल्न मिल्ने गरी झोल साबुन राखिएको रहेछ । तर झट्ट नदेखेपछि मैले हातैले साबुन निकालेर हात धोए । त्यतिबेलै अस्पतालको गेटमा सेक्युरेटीको भूमिकामा बस्नु भएका अन्दाजी ४०-४५ वर्षीय र ६०-६५ वर्षीय दाइले ‘खुट्टाले थिच्नुहोस, हातले नगर्नुस्’ भनेपछि खुट्टैले थिचेर पानी निकालेर हात धोए ।
हात धोएपछि उहाँहरु नजीक गएर भने, ‘पवित्रा कार्कीलाई भेट्नु छ ।’
उहाँहरुले तपाई पत्रकार हो ? भनेर सोध्नु भयो मैले ‘हो’ भन्ने जवाफ दिए । तपाई भित्र जान मिल्दैन । मैले किन भनेर सोधिनँ त्यसमा दुई कारण थियो, एउटा काठमाडौंमा पछिल्लो समय बढ्दै गइरहेको कोरोना संक्रमणका कारण अस्पतालमा स्वस्थ्य मानिस झन असुरक्षित भइन्छ भन्ने र अर्को पवित्राको दिदीले पहिले नै भनिसकेकी थिइन् कि, पवित्रालाई भेट्न मिल्दैन ।
उहाँहरुले ‘उता पर्खेर बस्नुहोस,् हामी बोलाईदिन्छौं पवित्राको आफ्नो मान्छेलाई’ भन्नु भयो । मैले भने–‘पर्दैन, मैले फोन गरिसकेकी छु, उहाँहरु आउनुहुन्छ ।’ त्यसपछि अस्पतालको बाहिर रहेको कुर्सीमा कुरेर बसे ।
झण्डै १५ मिनेटपछि पवित्राको ‘दाइ हुँ, दिदी व्यस्त हुनुहुन्छ, डाक्टरहरुले पवित्राको घाउमा ड्रेसिङ गरिरहनु भएकोले उहाँ निस्कन मिलेन ।’ भन्दै एकजना आउनु भयो । मैले दिदीसँगै कुरा गरेको र उहाँलाई एकपटक भेट्ने इच्छा राखे । उहाँले ‘हुन्छ’ भन्दै फर्किनु भयो ।
मनमा अनेक कुराहरु खेलिरहेका थिए । एसिड आक्रमणपछि पवित्राको भविष्य के होला ? किन महिलाले महिला भएकै कारण यति बिघ्न समस्याहरुसँग जुध्नुपर्छ ? समाजले किन नारीलाई सधै खेलौनाको दृष्टिले हेर्छ ? किन एउटी छोरीमा साहस र सहज जीवन जिउन सक्ने आँट परिवारले भरिदिँदैन, पवित्राको बाँकी जिन्दगी कसरी बित्ला, यहि सोच्दै टोलाउँदै थिए । एक्कासी गार्ड दाइहरु छिल्लिएर हाँस्दै गरेकोतिर कान र आँखा दुबै पुग्यो ।
उहाँहरु भन्दै हुनुहुन्थ्यो, ‘केटाहरुलाई कसैले पनि एसिड हान्दैनन्, केटीहरुलाई मात्र एसिड हान्छन् अनि केटिहरुले ४०-५० लाख कमाउँछन् ।’
उहाँहरु यस्तै कुरा गर्दै हाँसेको देख्दा मलाई साह्रै रिस उठ्यो । नजिक पुगेर सोध्न मन लाग्यो, ‘पवित्राको ठाउँमा तपाईहरुकी छोरी, बहिनी अनि श्रीमति हुन्थिन भने के गर्नु हुन्थ्यो ?’ तर खोइ मन किन रोकियो । मनले यत्ति ठम्यायो, ‘चेतनाहिन र मानविय समवेदनाहिन मानिसहरुलाई के भन्ने ?’
समाजमा यस्ता धेरै मानिसहरु छन् । तिनले सोचिरहेका पनि छन् अनि भनिरहेका छन् । एसिड छ्यापिनुपर्ने कारण मात्र पवित्रा हुन् । के पवित्राले गरेको गल्तिका कारण एसिड छ्यापिएको हो ? के एसिड छ्याप्ने नालायक पुरुष जसले आफनै घर बन्दकी राखेर आफ्नो मोजमस्तिमा पैसा सकायो, श्रीमतीलाई सधै काम चलाउने निर्जिव वस्तु मात्र ठान्यो, अनि कलकलाउँदा छोराछोरीको भविष्य अन्योलमा पारिदियो । बाबु भएको, श्रीमान भएको अनि समाजमा कुन काम खराब र कुन सहि भन्ने चेत नराखेको एउटा पुरुष जसले यतिधेरै गल्ति गर्दा पनि एसिड छयाप्न लगाएको मात्र न हो भन्छ यो समाज ।
यहि समाज भन्छ–आजकालका केटीहरु राम्रो लगाउनु पर्ने, मिठो खानुपर्ने, अर्काको घर विर्गानु पर्ने, त्यस्तालाई नछ्यापेर कसलाई छ्याप्ने ?’
उक्त मानिसको घर विर्गाने, पैसा लुट्ने तथा त्यो पुरुषलाई समस्यामा पर्ने काममा पवित्राको भूमिका कति रह्यो वा रहेन त्यो आगामी दिनमा अनुसन्धानका क्रममा खुल्दै जालान् तर ‘समाजमा एउटा पुरुषको आक्रोसका कारण अनि उसको बहुलठ्ठीका कारण एउटी युवतीको जिन्दगी नै ववार्द हुने स्थितिमा रहेकी पवित्रालाई दोष दिन कत्तिको जायज हो, यो गम्भीर विषय नै हो ।
समाजमा यसरी नै धेरै पवित्राहरुलाई उनीहरुकै कारण ‘बल्ल खाइस्’ भनेर कुइनो मच्काउने र घरमा रहेका छोरीलाई ‘पवित्रालाई जस्तै एसिड हान्लान् है’ भनेर मनभरी डर भरेर राखिदिनु भन्दा उनीहरुमा साहस र आँट भरिदिएर समाजका यस्ता कुलंघार पुरुषसँग लड्न र परिआएमा उनीहरुको हात खुट्टा भाँच्ने तथा आफूलाई त्यस्ता मुर्खदेखि सुरक्षित राख्नका लागि हिम्मत भरिदिन किन सक्तैन परिवार र समाजले । किन सिकाउँदैन, मनमा बढेका सबै इच्छा आकांक्षाले जीवन जिउने क्रममा कतिपय ठाउँमा धोका पनि खान सकिन्छ भनेर अनि सहि बाटो हिडाँउन छोरीहरुलाई ! किन दिइन्न घरमा त्यस्तो संस्कार छोरीलाई, जसले छोरीलाई समाजका असल खराब दुवै बाटो छुट्याएर हिँड्नका लागि मार्गनिर्देशन गरोस् ।
जबसम्म हाम्रो समाजमा कुनै युवती तथा बालिकामाथि एसिड फ्याकिनु मनोरन्जका रुपमा लिइन्छ र आर्थिक उर्पाजनका रुपमा सोचिन्छ, तबसम्म समाजमा यस्ता अपराधले प्रसय पाइरहन्छन् बालिका, युवती तथा महिलाको ज्यानै जाने गरी यस्ता गम्भीर प्रकारका घटना घटिरहन्छन् । त्यसैले फेरि पनि भन्न मन लाग्छ यस्तो सोच राख्नेले एसिडको पीडा महसुस गर्न चाहानुहुन्छ भने एकपटक आफैमाथि थोरै भएपनि एसिड छर्किएर हेर्नुहोस् त्यसले शरीरमा पुर्याउने असर र जीवनभरी पुर्याउने मानसिक तथा सामाजिक असर कस्तो हुँदो रहेछ आफै थाहा पाउनुहुन्छ ।
पैसा हस्तान्तरण गर्ने बेलामा पनि उहाँले ‘अस्पतालको फोटो नखिच्नुस् फेरि भाइरल बनाउनुहुन्छ । प्रशासनले फोटो खिच्न नदिनु भनेर भनेको छ,’ भनेर फोटो खिच्न रोक लगाउँदै हुनुहुन्थ्यो । भन्दै हुनुहुन्थ्यो, त्यसैले तपाईलाई अस्पताल प्रवेसमा रोक लगाएको हो ।’
पहिलेको उनीहरुको विचको कुराले मन पोलिरहेको थियो । केही भएपनि भडास पोखे, ‘बोलाउनुहोस् तपाईको प्रशासनलाई म कुरा गरौंला । तर अस्पतालको फोटो खिच्न पाइदैन नभन्नुहोस् यो सामुदायिक अस्पताल भएकोले तपाई र मेरो पनि यो अस्पतालप्रति त्यत्तिकै हक छ । तपाईको सोच र नियत २० मिनेट बस्दा थाहा पाइसके ’ भनेर अस्पतालबाट निस्कीए ।
अस्पतालबाट त निस्किए तर गार्डहरुको बोलीमा पनि केहि दम त छ भन्ने महशुस गरे । थोरै सहयोग र धेरै हल्ला अनि युटयुबे प्रभावले आजित भएका होलान् भन्ने पनि लाग्यो । मैले मलाइ रोक्न खोजेको पीडामा चित्त बुझाए तर पबित्राहरुले एसिडबाट पैसा कमाउछन् भन्ने उनिहरुको अभिब्यक्तिमा भने मेरो रोष अझै छ ।
वि.सं.२०७७ साउन २४ शनिवार ११:१५ मा प्रकाशित






























