back
CTIZAN AD

कृषकहरु वेदमा पनि देवता मानिएका छन्

वि.सं.२०७७ भदौ ४ बिहीवार

3.8K 

shares

‘कृषि’ शब्द संस्कृत भाषाको ‘कृष् विलेखने’ धातुबाट ‘इत्’ प्रत्यय लागेर बनेको हो । जसको अर्थ जमीन जोतिरहनु अर्थात् हल चलिरहनु भन्ने बुझिन्छ । त्यस्तै अंग्रेजी भाषामा कृषिलाई ‘एग्रिकल्चर’(Agriculture)  शब्दको प्रयोग भएको छ । ‘एग्रिकल्चर’ शब्द ल्याटिन भाषाको दुई शब्द ‘आगेअर’ (Ager)  र ‘कल्चर’  (Cultura) दुई शब्द मिलेर बनेको छ । ल्याटिन भाषाको ‘आगेअर’(Ager)  शब्द संस्कृत भाषाको ‘अज्र’ (Ajra) शब्द र ‘कल्चर’ (Cultura) शब्द संस्कृत भाषाको ‘चलति’ (Chalati) शब्दबाट विकसित भएको देखिन्छ । जसमा ‘आगेअर’को शाब्दिक अर्थ माटो अर्थात् जमीन भन्ने बुझिन्छ भने ‘कल्चर’को अर्थ कला या संस्कृति भन्ने बुझिन्छ । यसरी मानवद्वारा माटोमा गरिने कला नै ‘कृषि’ अर्थात् ‘एग्रिकल्चर’ हो । कृषि प्राचीन कालदेखि नै जीवन बचाउनका निम्ति मानिसहरूद्वारा अँगालिएको एउटा पेशा मात्र नभएर जीवनको एउटा महत्वपूर्ण अविछिन्न भाग हो । कृषिको महत्वलाई अपौरूषीय वाणी मानिने मानिसको सर्वप्राचीन ग्रन्थ वेद एवं विभिन्न धर्मशास्त्र तथा अन्य ग्रन्थहरूले पनि उजागर गरेका छन् । कृषकहरूलाई वेदमा देवता सरह मानिएको छ जसले अन्न उब्जाएर समस्त पृथ्वीवासीहरूको जीवन बचाएका छन् ।
विश्वको सर्वप्राचीन ग्रन्थ ऋग्वेदमा भनिएको छ –
अक्षैर्मा दीव्यः कृषिमित् कृषस्वः वित्ते रमस्य बहुमन्यमानः ।
तत्र गावः कितव तत्र जाया तन्मे विचष्टे सवितयमर्यः ।। (ऋक् १०.३४.१३)
अर्थात् ‘जुवा नखेल, खेती गर र सम्मानसाथ धन कमाऊ, कृषिले नै सम्पत्ति र मेधा प्रदान गर्दछ, कृषि नै मानव जीवनको आधार हो ।’
त्यस्तै वैदिक राष्ट्रगानको नामले प्रसिद्ध शुक्लयजुर्वेदको २२ औँअध्यायको २२ औँ मन्त्रमा हामीलाई चाहिएको बेलामा वर्षा होस्, हाम्रो राष्ट्रमा फलफूल, औषधि र अन्नको भरिपूर्ण होस् भनेर कामना गरिएको छ । यजुर्वेदमा वनस्पति हाम्रो लागि मधुमय होस्, सूर्य मधुमान होस्, भूमि मधुमती होस् भनेर प्रार्थना गरिएको छ –
मधुमानो वनस्पतिर्मधुनां अस्तु सूर्यः । माध्वीर्गावो भवन्तु नः ।। (शु.य. १३.२९)
यजुर्वेदमा नै मानिसलाई तिमी बालीका उत्तम प्रजातीहरूको विकास गर भनिएको छ (शु.य. १८.६८) । वेदमा अन्न, जल र वायुलाई मानिसको प्राण मानिएको छ । कृषि कार्यलाई सबैभन्दा गौरव र सम्मानको कार्य भनेर प्रशंसा गरिएको छ । कृषकलाई अन्नपति र क्षेत्रपति भनि स्तुति गरिएको छ –
अन्नानां पतये नमो नमः क्षेत्राणां पतये नमो नमः । (शु.य. १६.१८)
वैदिक ग्रन्थहरूले कृषि र मानवजीवनको अन्योन्याश्रित सम्बन्ध दर्शाएका छन् । अथर्ववेदका अनुसार अन्न नै सबै प्राणीहरूको जीवनको आधार हो –
भूम्यां मनुष्या जीवन्ति स्वधयाऽन्नेन मत्र्याः । (अथर्व १२.१.२२)
त्यस्तै भूमिको महत्व दर्शाउँदै भूमि माता र मानवलाई भूमिको पुत्र बताइएको छ –
माता भूमिः पुत्रोऽहं पृथिव्याः । (अथर्व १२.१.१२)
अथर्ववेदको वायु, सूर्य, चन्द्र, आप, त्वष्टा, औषधि, अग्नि, वृहस्पति, आदित्य, सिन्धु आदि सूक्तमा कृषि सम्बन्धि स्पष्ट वर्णन गरिएको छ ।
वैदिक युगमा उन्नत प्रकारको खेती गर्ने प्रणाली थियो भन्ने कुरा वैदिक ऋचाहरूको अध्ययनबाट स्पष्ट हुन्छ । अधिकांश मानिस कृषिमा निर्भर थिए । वेदमा वर्णित कृषि प्रणाली परिपूर्ण छ जहाँ भूमिलाई विभिन्न भागमा वर्गीकरण गरी त्यसमा खेती गर्ने तरिका एवं त्यसका लागि आवश्यक मल, सिंचाई आदिको व्यवस्था कसरी गर्नुपर्दछ भन्नेसमेत वर्णन गरिएको छ । त्यस्तै अनेक प्रकारको अन्न र ती अन्न उत्पादन गर्ने किसानहरू विज्ञ अर्थात् अन्नविद् हुनुपर्दछ भनिएको छ । अन्न उत्पादनका लागि विभिन्न आवश्यक पशुचौपाय, हलोको वर्णन एवं कृषकहरूको बारेमा बताइएको छ । त्यस्तै खेती, पशुपालन एवं वनसम्पदाको त्रिपक्षीय सम्बन्धको महत्वलाई विशेष मान्दै उन्नत र स्वस्थ खेती उत्पादनका लागि यीनीहरूबीच सन्तुलन रहनुपर्छ भनिएको छ । कृषिसँग सम्बन्धित ऋग्वेद, यजुर्वेद र अथर्ववेदका विभिन्न मन्त्रमा कृषिका लागि उन्नत बिउबीजनको छनोट, उक्त बीजका लागि उपयुक्त माटो, माटोको खनजोत गर्ने समय, बीज लगाउने उपयुक्त ऋतु अर्थात् समय र प्रशिक्षित किसान, आवश्यक सिंचाई र मल एवं त्यसको उत्पादन भित्र्याउने उपयुक्त ऋतु आदिको वर्णन गरिएको पाइन्छ ।

(ऋक्– १.१२७.६, १.१६१.१०, ३.१४.३, ४.५७.५, ६.२०.१, १२.४.९, कृ. यजु.– १.२९, १७.१९, अथर्व– ९.६.१४, ११.४.१३, १२.१.४२)
वैदिक ग्रन्थमा कृषि उत्पादनका लागि जैविक मलको प्रयोगलाई अनिवार्य जस्तै गरिएको छ । विभिन्न विधिबाट जमीनको उर्वरता कायम गरिराख्नुपर्ने भनि निर्देश गरिएको छ । जसको लागि मुख्यतया गौपालन र त्यसको मलको प्रयोगलाई महत्वका साथ वर्णन गरिएको छ । जसबाट स्पष्ट बुझिन्छ कि उत्पादित अन्न स्वस्थकर हुनुपर्दछ र बल्ल ती अन्नको सेवनबाट आरोग्यता र पुष्टि मिल्छ ।

वैदिक ग्रन्थ लगायत स्मृति ग्रन्थ, पुराण एवं अन्य ग्रन्थहरूमा पनि कृषिको महत्वलाई उल्लेख गरिएको छ । अन्नको महत्व स्पष्ट पार्दै भगवान् श्रीकृष्ण गीतामा भन्नुहुन्छ –
अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः ।
यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ।। (गीता ३.१४)
अर्थात् ‘सम्पूर्ण प्राणी अन्नबाटै उत्पन्न हुन्छन्, अन्न वृष्टिबाट उत्पन्न हुन्छ, वृष्टि यज्ञबाट उत्पन्न हुन्छ, यज्ञ विहित कर्महरूबाट उत्पन्न हुन्छ ।’
प्राचीन कालमा भारतवर्षमा खेती लगाउने उपयुक्त समयको छनोटको लागि प्रकृतिको सूक्ष्म निरीक्षण गरी ग्रहहरूको स्थिति पत्ता लगाई ज्योतिषीय विधिबाट वर्षा हुने तथा विभिन्न ऋतुहरू परिवर्तन हुने समय एवं प्राकृतिक प्रकोपको किसानहरू भविष्यवाणी गर्दथे । जस्तै उदाहरणको लागि सूर्य अधिपति भए त्यो वर्ष कम वर्षा हुने, चन्द्रमा भए राम्रो वर्षा हुने, अन्य ग्रह भए उपयुक्त वर्षा हुने तथा शनि भए प्राकृतिक विपत्तिहरू आउने लगायतका विभिन्न विषय खगोलीय पिण्डको अवस्थितिका आधारमा वर्णन गरिन्थ्यो जुन ठयाक्कै मेल खान्थ्यो । बिउ रोपण मात्रै होइन उपरोपण अर्थात् ‘ग्राफ्टिङ’को बारेमा समेत वराहमिहिर आफ्नो बृहत् संहितामा दुई विधि बताएका छन् । एक जरैदेखि उखेलेर सार्नु र अर्को हाँगा काटेर अर्कोमा सन्निविष्ट गर्नु । कौटिल्यले पनि आफ्नो अर्थशास्त्रमा कृषि, पशु र वाणिज्यलाई समाजको आर्थिक विकासको तीन खम्बा मानेका छन् । वैदिक कृषि पद्धतिको विशेषता एवं उपकरणको धेरै अंग्रेज विज्ञहरूले प्रशंसा गरेका छन् जसको उद्धृत धर्मपालको ‘इण्डियन साइन्स एण्ड टेक्नोलोजी इन दी एटिन्थ सेञ्चुरी’ नामक पुस्तकमा गरिएको छ ।

नेपाल एक कृषिप्रधान देश हो । नेपालको जनसंख्याको अधिकांश संख्या कृषिमा आबद्ध छन् । त्यसकारण नेपालको विकासको मेरुदण्ड नै मुख्य रुपमा कृषि हो । कृषि प्रणालीको सुधारबाट मात्रै खाद्य सुरक्षा, गरिबी न्यूनिकरण, आर्थिक वृद्धि, निर्यात एवं व्यापार घाटा न्यूनिकरण, आत्मनिर्भरता, स्वस्थता एवं कृषिको गहन अनुसन्धान आदि गर्न सकिन्छ । आजको जस्तो विषादियुक्त कृषि उपज उत्पादन गरी उपभोक्तामाझ जसरी पनि पुर्याउने होडबाजी र भूमिको लापरबाही प्रयोग भइरहेको परिप्रेक्ष्यमा यदि वेदमा विश्वास गरी वैदिक कृषि प्रणालीलाई अँगाल्ने र त्यसलाई विकसित बनाउँदै लैजाने हो भने पक्कै पनि आधुनिक समाज वास्तवमै समृद्ध, सुखी र स्वस्थ बन्ने थियो ।

sudipkrishna.np@gmail.com
(लेखक त्रि.वि. संस्कृत केन्द्रीय विभाग कीर्तिपुरमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।)

वि.सं.२०७७ भदौ ४ बिहीवार १३:५२ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...