मेरी आमाको जन्म खोटाङ दिक्त्तेलको सुम्दे भन्ने गाउँमा २००७ सालमा भएको हो । गाउँमा स्कुल त भर्खर भर्खर बनेको थियो रे । तर पनि लेखपढ गर्ने अवसर पाउनु भएन । आमाको भाइ मामा स्कुल जानुहुन्थ्यो रे तर आमालाई जान दिनु भएन रे । आमाले बोजुलाई या नि आमाको आमालाई आमा म राती राती सम्म सबै घरको काम गर्छु, भ्याउँछु । बिहानैको राती गरेर घाँस, दाउरा काटछु, दुइटा वारी खन्ने जिम्म्मा पनि मलाई दिनु म छुट्टीको बेला अनि रात साँझ गरेर खन्छु । मलाई नि स्कुल जान दिनु भनेर बोजुलाई फकाएको फकाई गर्नुभयो रे । तर पनि दिनु भएन रे । अनि नदिएपछि रिसाउनु भयो रे । बाजे र बोजुले छोरी पढ्न हुन्न, केटालाई चिट्ठी लेख्छन् भनेर गाली गर्नु भयो रे । अनि आमाको स्कुल जाने रहर अन्त्य भयो रे । मामा चाहिँ स्कुल जानुहुन्थ्यो रे । आमा घरको धन्दा, बस्तुबाख्रा हेर्ने, घाँस दाउरा काट्ने गर्नुहुन्थ्यो रे । अनि मामालाई मलाई पनि पढ्न सिकाउ न भन्दा पैसा दे अनि मात्र सिकाउँछु भन्नुहुन्थ्यो रे अनि आमाले मामालाई रातको दुई पैसा दाम दिएर दिउँसो मकैको ढोड बटुल्ने अनि राती बालेर क, ख र बाह्रमात्रा सिक्नु भाको रे । यो घटनाबाट छोरा र छोरी बिचको विभेदको गहिराई कति रहेछ भन्ने कुरा बुझ्न सकिन्छ । बुवा भने भोजपुरको नागिमा प्राथमिक शिक्षा सम्म आफु बस्ने पिरा आफै बोकेर स्कुल गएर पढ्नु भयो रे । तर बुवा १४ बर्सैकै उमेरमा बृटिस लाहुरे भएर त्यो बेला मलाय र मलेसिया, चिन हङकङ, बृटिस उपनिवेश भएको सबै देश जाने, बस्ने, घुम्ने अवसर पाउँनुभयो । अनि देश, बिदेशको शासकीय स्वरुप बुझ्ने मौका पाउँनु भयो । त्यसैले वहाँ काङ्ग्रेसलाई समर्थन गर्नुहुन्थ्यो । काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो । कम्युनिस्ट भनेको निरङ्कुस हुन्छ । हामी कयौं बर्स चाइनामा लाइन बसेर टिफिनमा भात थापेर खायौं भन्नू हुन्थ्यो । अनि म सानो हुँदाको केही घटनाहरुको सम्झना आउँछ ।
बुद्ध, मुस्लिम, क्रिश्चियन, जैयन आदि तर यी धर्म मान्ने समुदायमा जात र लैङ्गको आधारमा विभेद गरेको पाइदैन भने छुत अछुत हुन्छन् भन्ने सुन्नमा आएको थाहा छैन । क्रिश्चियन भनेपछि सबै क्रिश्चियन । बुद्ध भनेपछि सबै बुद्ध । मुस्लिम भनेपछि सबै मुस्लिम । अनि अर्को मलाई अनौठो लागेको कुरा के हो भने हिन्दुधर्ममा धर्मकर्म, पुजापाठ, व्रत तिर्थ गर्ने सबै काम महिलाको मात्र हो अनि लाग्छ कि भगवान नै महिलाको मात्र हो ।
घटना ०३६ सालको हो । हाम्रो घर झापाको गौरादह, सितापुरी -१ मा पर्छ । एकदिन बुवा झापाको दमक बजार जानु भएको थियो । दमकको पुरानो बजार चौकमा बहुदल र निर्दलको जुलुस दुइतिर बाट आउँदा झडप भएछ रे । अनि मान्छेको भिड एउटा ठूलो किराना पसलमा पसेर तोडफोड गरेर सामानहरु चारतिर फाँकेछन् रे अनि बुवाले पनि टिपेर ठुलो ठूलो प्याकेज बिस्कुट ल्याउनु भाको अलि अलि सम्झना छ अनि बुवाले २०३६ सालको जनमत सङ्ग्रहमा आमालाई, गाउँमा सबैलाई निलोमा भोट लाउनुपर्छ है निलो बहुदलको हो भन्नू हुन्थ्यो । त्यस्तै पिपल चौकमा दूध पुर्याउन जानुहुन्थ्यो । कहिले जिते बस्नेतको छोरा त बाँधमा डुबेर मरेछ नि हिजो भन्दै आउनुहुन्थ्यो । कहिले भाङ्बारिमा हिजो जग्गा धनी र सुकुम्बासीको लडाइँ भएछ भन्नुहुन्थ्यो आदि आदि । मैले यहाँ भन्न खोजेको कुरा के हो भने महिलाहरु लेखपढ गर्ने अवसरबाट पनि बन्चित भए । सूचनाको पहुँचबाट पनि टाढा भए । जिवनभर घर धन्दा, बस्तुभाउ, मेलापात र छोराछोरी हेर्न मात्र सिमित भए भने पुरुषहरू स्कुल जाने । स्कुल नगएपनी बाहिर जाने मौका पाए । जस्तै कुलो खन्ने, बाँध बनाउने, किनमेल, हाटबजार, पन्चायतिरपन्चभेला, शभा, कचहरी, बैठकमा भाग लिने । देश बिदेश जाने भएकाले सूचनामा पहुँच भयो टाठाबाठा, जान्ने बुझने भए । महिलाहरु भने घरभित्रको कैदी जस्तो घरबाट बाहिर निस्कन सकेनन् । श्रम बिभाजन गर्दा नै महिलालाई घरभित्रको काम र पुरुषलाई बाहिर दिएकाले महिलाहरु देश दुनियाँका कुरा, हक अधिकारका कुरा बुझ्ने अवसरबाट टाढा भएकाले अशिक्षित, अनपढ हुँदा बिभेदमा परे । पिडामा परे भन्न खोजेकी हुँ । यी र यस्ता सामाजिक गतिविधि । अनि समाजलाई बाँध्ने सनातन देखि चलिआएको महिला उपेक्षित धार्मिक संस्कार, त्यही संस्कारले सृजना गरेको पितृसत्तात्मक सोच छ, त्यहीँ सोचबाट स्रुजित पुरुष प्रधान समाज, त्यही समाजबाट शुरु भएको सामाजिक ‘कु’ संस्कारले महिला माथी गर्ने अनेकौं विभेदपुर्ण व्यबहारले गर्दा आजपनी बिकट गाउँ, घर कुनाकन्दराका महिलाहरु अमानवीय व्यबहार भोग्न बिवस छन् । यी सबै हिन्दू धर्म ग्रन्थको गहिरो छाप, अशिक्षा र अज्ञानताको उपज हो ।
हिन्दु धर्मले सनातन देखि समाजमा जात र लैङ्गको आधारमा बिभेद गरिरहेको छ । जस्ले गर्दा समाजमा द्वन्द्व, लडाइँ झगडा, हत्या हिसा जस्ता घटना भैरहेको छ । त्यसैले अब यस्ता बिभेदपुर्ण धर्म संस्कारलाई परिमार्जन गरि समानता, सुसंस्कृत र सभ्य समाज निर्माण गर्ने, सहअस्तित्व स्वीकार गर्न सक्ने विधि र थितिको पुनर्निर्माण गर्न हिन्दुधर्मका विद्वान, बिध्वत्त ब्यक्ति संघ संस्था र सरोकारवालाहरुले हिन्दु महासम्मेलन गरि हिन्दुधर्मलाई बिभेदमुक्त, सर्बमान्य, समय सापेक्ष बनाउन हार्दिक अनुरोध गर्दछु ।
म धर्मको बारेमा धेरै जान्दिन । यो मेरो रुचिको बिसय पनि है । तर दिन दैन्य हाम्रो समाजमा जातजाती र लिङको आधारमा घट्ने अनेकौं अमानवीय घटना देख्दा सुन्दा हाम्रो समाज किन यति बिघ्न क्रूर भयो ? किन मानबिय संवेदना हरायो ? किन समाज अशान्त भयो भनेर बुझ्न खोज्दा के थाहा लाग्यो भने हाम्रो समाजमा सनातन देखि चलिआएको हाम्रा धर्म शास्त्र बेद मनुस्मृतिले गरेको ४ वर्ण ब्यवस्थाले नै समाजमा भेदभावपुर्ण व्यबहारको बिजारोप्ण भएको रहेछ भन्ने मेरो बुझाइ हो । यसो भनिरहँदा कत्तिले मलाई हिन्दुधर्म बिरोधि पनि भन्लान् तर म बिरोधि हैन । धर्मले समाजमा शान्ति अमन चैन स्थापित गर्न भुमिका निर्बाह गरोस् । सबैको समान र सह अस्तित्व स्वीकार गर्न सकोस् । समाजमा बैरभाब, द्वन्द र हिंसा बढाउने हैन कि शान्ति अमन चैन स्थापित होस् भन्ने मेरो चाहना हो ।
धर्मशास्त्रले स्थापित गरेको बर्ण ब्यवस्थामा ब्राह्मण सबैभन्दा ठूलो रे उ राजकाज गर्ने । अरु माथी शासन गर्ने रे । अनि क्षेत्री जो सेना, पुलिस प्रसासन हेर्ने रे । वैश्य जो ब्यापार ब्यबशाय गर्ने रे । अनि सुद्र जस्लाई पानी नचल्ने अछुत जात भनेर परिभाषित गरेको पाइन्छ । सुद्रले ठुला वर्ण वा जात भनिने को सेवा गर्ने भनेर जात वा जन्मको आधारमा ठूलो सानो भनेर कामको वर्गीकरण गरि समाजमा विभेद को बिज धर्मलेनै रोपेको देखियो । सोही धर्म अनुसार महिलालाई पनि तल्लो दर्जा या नि पुरुषहरूको दास भनी परिभाषित गरेको पाइन्छ । किनकि महिला र सुद्रले लेखपढ गर्न नपाउने । पुरुष र ठुला जातको सेवा गर्नु पर्ने भन्ने ब्यवस्था गरेर सुद्र र महिला माथी शोषण गरिरहेको छ । पुरुष भनेको सर्बैसर्बा, श्रेयस्कर जात हो भन्ने परिभाषा छ । सोही धर्मग्रन्थको आधारमा समाज विकास भएकाले आज २१ औ सताब्दिसम्म आइपुग्दा पनि म ठुलो जात उ साना जात, म पुरुष उ महिला भन्दै ठुला भनिने जातले निर्दो, निरीह, असाहय माथी अमानवीय हर्कत गरिरहेका छन् । अनि हामी बुझकड भन्नेहरु भने रमिता हेरिरहेका छौं । उदाहरणको लागि भर्खरै घटेको बहुचर्चित रुकुम घटनालाई लिन सकिन्छ । जहाँ नवराज बिक र सुस्मा मल्ल बिचको प्रेम सम्बन्धलाई जातको आधारमा बिक सानो भनेर मल्ल परिवार र पूरा समाज उठेर नवराज र उन्का साथीहरूलाई बीभत्स हत्या गरेका छन् । यो जातका नाममा भएको जघन्य अपराध हो । अमानवीय घटना हो ।
यस्ता अनेकन छुवाछूतका, महिला हिंसाका घटना घटिरहेका छन् भने धर्म कै आडमा हुने लैङ्गकि बिभेदको घटनालाई उजागर गर्न चाहन्छु । छोरीले राम्रो दुलाह र पति पाउन महिनावारी भएको बर्षबाट तीज र पन्चमिको व्रत बस्नुपर्छ भनेर धर्मले सिकायो । यो सङ्गती नमिलेको कुरा हो । किनकि राम्रो पति पाउँन राम्रो शिक्षा लिनुपर्छ भन्ने कुरामा हौसला बढाउनको सट्टा छोरिले लेखपढ गर्न हुदैन भन्ने अनि सक्षम पति पाउन चाहिँ छोरिले निराहार र निर्जल तिज पन्चमिको व्रत बस्नुपर्छ भनेर सिकाउने यो ग्रन्थ वा संस्कार किन छोरा वा पुरुषहरूको पक्षमा भने मौन छ ? त्य्स्तै महिलाहरुको महिनावारी वा मासिक हुनु भनेको प्रकृतिले दिएको निर्बिकल्प बरदान हो । जुन सृष्टि सङ्ग अन्योन्याश्रीत सम्बन्ध राख्दछ । तर महिनावारीलाई हिन्दुधर्मले अछुतो भनेर परिभाषित गरेको छ । जस्ले गर्दा कयौ महिला छाउगोठमा बस्न बाध्य।छन् जस्ले गर्दा कयौ महिला सर्पले टोकेर मर्नु परेको छ भने कयौ महिला शारीरिक र मानसिक समस्या भोग्न बिवस छन् । त्यसैले यी र यस्ता गतिबिधी प्राकृतिक न्यायको खिलापमा छ । संसारमा अरु पनि धर्म छन् । बुद्ध, मुस्लिम, क्रिश्चियन, जैयन आदि तर यी धर्म मान्ने समुदायमा जात र लैङ्गको आधारमा विभेद गरेको पाइदैन भने छुत अछुत हुन्छन् भन्ने सुन्नमा आएको थाहा छैन । क्रिश्चियन भनेपछि सबै क्रिश्चियन । बुद्ध भनेपछि सबै बुद्ध । मुस्लिम भनेपछि सबै मुस्लिम । अनि अर्को मलाई अनौठो लागेको कुरा के हो भने हिन्दुधर्ममा धर्मकर्म, पुजापाठ, व्रत तिर्थ गर्ने सबै काम महिलाको मात्र हो अनि लाग्छ कि भगवान नै महिलाको मात्र हो । तर अरु धर्मावलम्विहरुमा त महिलापुरुष सबैको समान सहभागिता देखिन्छ । गुम्बामा महिलापुरुष बराबरी हुन्छन् अझ पुरुष बढी हुन्छन् किनकि महिला जो बच्चाका आमाहरुलाई व्रत बस्न छुट हुने हुँदा पुरुषहरूको सहभागिता बढी देखिन्छ भने मुस्लिम धर्मावलम्बीहरुको मस्जिदमा पनि पुरुषको उपस्थित बढिभएको देखिन्छ । त्यसैले यो गतिविधि बाट पनि थाहा हुन्छ कि हिन्दु धर्मले सनातन देखि समाजमा जात र लैङ्गको आधारमा बिभेद गरिरहेको छ । जस्ले गर्दा समाजमा द्वन्द्व, लडाइँ झगडा, हत्या हिसा जस्ता घटना भैरहेको छ । त्यसैले अब यस्ता बिभेदपुर्ण धर्म संस्कारलाई परिमार्जन गरि समानता, सुसंस्कृत र सभ्य समाज निर्माण गर्ने, सहअस्तित्व स्वीकार गर्न सक्ने विधि र थितिको पुनर्निर्माण गर्न हिन्दुधर्मका विद्वान, बिध्वत्त ब्यक्ति संघ संस्था र सरोकारवालाहरुले हिन्दु महासम्मेलन गरि हिन्दुधर्मलाई बिभेदमुक्त, सर्बमान्य, समय सापेक्ष बनाउन हार्दिक अनुरोध गर्दछु ।
पितृसत्तात्मक सोच : हाम्रो समाजमा अझै पनि धेरैले छोरालाई बोर्डिङ स्कुल, छोरीलाई सरकारी स्कुलमा पढाई रहेका छौं भने अन्य अवसर, सेवा सुबिधाका कुरामा पनि अनेकन विभेद कायम छ । अनि सुनेको छु बुहारीलाई घाँस दाउरा, खेत बारीमा काम गर्न पठाउने अनि कामबाट फर्कंदा जुठो भाँडाकुँडा थुपारिदिने तर खाना चाहिँ थोरै राखिदेने गरेको सुने । माछा मासु पकाउँदा भुटेको राम्रो मासु बाउ छोराहरुलाई दिने अनि बचेको हड्डिखुड्डिमा झोल हालेर आमा र सासू, छोरीबुहारीले खाएको पनि सुने । यी यस्ता व्यबहार हुनु भनेको हिन्दु धर्मले स्रुजना गरेको पितृसत्तात्मक सोचको उपज हो । छोरा भनेको प्रधान हो । छोरा नभै स्वर्ग पुगिन्न, मरेपछि पिन्ड दिने छोरा, बङ्स धान्नुपर्छ छोरा । अनि छोरी भनेको गौण हो । अर्काको संघार पोत्न जानेलाई किन लेखाउनु पढाउनु भन्ने बुझाइले गर्दा यो विभेद भएको हो । तर मान्छेहरुको तर्क यस्तो पनि सुनेकी छु र सामना पनि गरेकि हुँ । सबै छोरी बुहारीलाई बिभेद गर्ने सासू या नि महिला त हुन्छन नि । महिलाले महिलालाई शोषण गरेका छन् भन्छन् तर यो कुरा मान्न म तयार छैन । किन कि उनीहरु शिक्षाको अवसर बाट टाढा भए । हिन्दु धर्मले थोपरेका अनेकन उखान तुक्काहरु जस्तै छोरिबुहारिले घरको संघारो काट्न हुन्न । पोथी बासेको सुहाउँदैन जस्ता उखानले गर्दा महिला घर बाहिर निस्कने बुझ्ने, जान्ने अवसरबाट बन्चित भएकाले उनिहरुमा परेको पितृसत्तात्मक सोचको गाढारगहिरो छाप फिका हुन नसकेको सत्य हो । त्यसैले व्यबहार रत पात्र महिला देखिए पनि त्यको मुख्य कारण त पुरुष प्रधान समाज नै हो । किन कि पुरुष भनेका मालिक र महिला भनेका दास हुन् भन्ने कुरा महिलाहरुलाई हाम्रो समाज र हिन्दुधर्मले सिकाएको हो ।
हिन्दुधर्मको प्रभाव : धर्मले मानिसलाई अनुसाशीत बनाउँछ । पाप र धर्मका डरले समाजमा शान्ति स्थापना गर्न नियन्त्रण गर्न सजिलो भयो होला । दिन दुखिहरु प्रति सहयोगि हातहरु बढ्लान । समाजलाई संयमित बनाउन सहयोग गर्छ । तर हिन्दुधर्मशास्त्रले गरेको वर्ण ब्यवस्था को प्रभावले समाजमा जातपात, छुवाछूत, लैङ्गकि विभेद जस्तो अमानवीय संस्कारको शुरूवात गर्यो जस्ले गर्दा यो समाजमा ब्राह्मण भनेको ठूलो सुद्र भनेको सानो । छोरा भनेको प्रधान र छोरी भनेको गौण हो भन्ने सोछ बिकाश भएको पाइन्छ । जुन समाज बिकाशको बाधक हो । बिकाश र समृद्धिको लागि जात लिङ प्रधान हैन योग्यता क्षमता, लगनशीलता, इमानदारीता, दुरदर्शिता प्रधान वा श्रेष्ठ हुनुपर्छ । त्यही जातीय प्रथाका कारण अझै गाउँ घर, पश्चिम, सुदुर पश्चिम तिर दलितले पानीको धारा छोयो भनेर कुटपिट हुन्छ । शिव भगवान, गणेश भगवान सबैका साझा र समान भगवान हुन् तर मन्दिर प्रवेश गर्यो भनेर कुटपिट हुन्छ । अनि ब्राह्मणले ब्राह्मण बाहेकका जातले छोएको खाना खाए जात जान्छ रे । ब्राह्मणले क्षयत्रीको छोरी बिबाह गरे उ ब्राह्मण जातबाट खसेर जैसी हुन्छ रे । यो कस्तो बिडम्बना !! जातपातको कुरा गर्दा एउटा सम्बादको याद आयो । झापा सितापुरिमा हाम्रो छिमेकी फूपू हुनुहुन्छ । मैले फुपुलाई फूपू हामीले एक बिगाह जग्गा हजुरको साँधमा विश्वकर्मालाई बेच्न लागेको भनेकी थिए्ँ । फुपुले मलाई नानी अब कामीलाई सम्धी ढोग गर्नुपर्ने हो कि भन्नुभयो । यो कुराबाट पुष्टि हुन्छ कि समाजमा जातपातको कुरा कत्ती जगडिएर बसेको रहेछ भनेर । त्यस्तै वर्ण ब्यवस्था वा हिन्दुधर्मले पुरुषलाई देवत्वकरण, महिलालाई सधै पुजारी वा दास बनाएकोछ । महिलाले सधै पुजापाठ व्रत तिर्थ गर्नुपर्ने, पतिको पुजा, सेवा गर्नुपर्छ, खुशी राख्नुपर्छ, पतिको खुट्टाको पानी खाएर ढोगे स्वर्ग पुगिन्छ भन्ने गलत सन्देश दिएको छ । कुनैपनी धर्मले जातपात र लिङ्गको आधारमा विभेद गर्न हुदैन । किनकि सबै मानव हो । आत्मासम्मान, भावना र सम्वेग सबैको उस्तै हुन्छ । भगवानको अगाडि सबै बराबर हुन् । तर हिन्दुशास्त्र अनुसार तिजको व्रत महिलाले पुरुषको लागि लिने रे । बिबाह नभएका महिलाले राम्रो पति पाउँ भनेर लिने र बिबाहित महिलाले पतिको दिर्घायु र मान सम्मान बढोस् भनेर लिने रे । तिजमा महिलाले निराहार, निर्जल व्रत बस्नुपर्छ रे । यदि पानी खाए श्रीमानको रगत खाए सरह हुन्छ । पाप लाग्छ रे । निराहार, निर्जल व्रत बसि मन्दिरमा गै शिव जिको पुजाआरधना गरि श्रीमानको पुजा आरधना गरि खुट्टाको पानी खाएर ढोग गरे आयु बढ्छ । मान पद र सम्मान बढ्छ भन्ने निराधार अफाव प्रबाह गरेर महिलाहरुलाई शोषण गरिरहेकोछ । धेरै महिलाहरु रोगी र कमजोर भएको अनेकन प्रमाणहरु छन् । निर्जल, निरहार व्रत बस्दा आयु र मान प्रतिस्ठा बढेको कुनै आधार वा तथ्य प्रमाण छ ?? एसो भनिरहँदा पुजापाठ, ब्रततिर्थ गर्नु हुन्न कदापि भनेको हैन । पुजापाठ गर्दा एकाग्रता बढ्छ, मनमा शान्ति हुन्छ गर्नु राम्रो हो । कहिलेकाही व्रत बस्नु स्वस्थ्यलाई पनि राम्रो मानिन्छ त्यसैले आफ्नो लागि आफ्नो स्वास्थको लागि बस्नु । श्रीमानको लागि त श्रीमानले नै गर्ने हो । तपाईंले खाँदा म अघाउँछु र ?? अनि निर्जल र निराहार हैन । पानी, साधा चिया फलफूल खाएर बस्नु भन्ने संदेश दिन चाहेकी हुँ । आयु बढाउन चाहिँ सबैले सन्तुलित भोजन खाऔं । आहार व्यबहार अनुसासित बनाऔं । मान प्रतिस्ठाको लागि सबैले लेखपढ, अध्ययन खोज अनुसन्धान, बिचार बिमर्श गर्ने आफ्नो पेशामा ईमानदार र कर्तव्यनिस्ठ भएर काम गरौं । मान सम्मान र पद प्रतिस्ठा बढ्छ न कि श्रीमतिले व्रत बस्दा ।
महिनावारी र मासिक : मासिक भएको समयमा छोइछिटो भयो भने पाप लाग्छ रे भनेर एउटा श्रीमान र श्रीमती पापले गर्दा गोरु र कुकुरको जुनि भै जन्मिनु परेको कथा जोडिएकोछ । जुन सृष्टिको नियम विरुद्ध छ । मासिक भएको बेला रगत बग्ने, कमजोर हुने भएकाले स्वास्थ, सरसफाइ, आराम, बिश्राम गर्नको लागि बार्ने गरेको हो भने त सहि नै मान्न सकिएला । किन कि मानव उत्पती देखि हाम्रो आमा, हजुरआमाको पालासम्म महिलाहरुले लगाउने सुरक्षित पेण्टी, प्याड्को निर्माण भएको थिएन । त्यसैले खानपिनमा फोहोर हुनसक्छ । कमजोर भएको बेला आराम चाहिन्छ भनेर नछुनु है, छोयो भने पाप लाग्छ भनेर डर देखाएका भए सहिनै मान्न सकिएला तर पापको डर देखाएर, महिनावारी भएको बेला घरमा बस्यो भने देवता रिसाउछ र अनर्थ हुन्छ भन्ने डर देखाएर छाउगोठमा बस्न बाध्य छन् । अँध्यारोमा राती एकलै छाउगोठमा बस्दा ती महिला कत्ती डराउँदी हुन्, अत्यास लाग्दो हो । कत्तिलाई त ४ र ५ दिन गोठमा एकलै बस्दाबस्दै मानसिक समस्या भएको घटना सुन्नमा आउँछ भने कत्ती महिला दिदिबहिनीलाई गोठमै सर्पले टोकेर मरेका छन् । तर फेरि पनि महिलाहरु त्यही गोठमा जान बाध्य छन् किन कि धर्मले महिलालाई पापको ठूलो पोको बोकाइदिएको छ । त्यसो भए यो संस्कार कत्तिको मानवताबादी छ ?? के साच्चै महिला मासिक वा महिनावारी हुनु नै पाप हो त ?? साँच्चै निर्जल, निराहार व्रत बसेर पन्चमी पुजा गर्दा पाप पखालिने प्रमाण के छ ? हैन भने यी र यस्ता तथ्यहिन धार्मिक गतिविधिले हाम्रो समाज बिकाशमा कहिँ न कहिँ ठेस पुर्याएकोछ ।
मृत्यु संस्कार : कुनै घर परिवारका कुनै सदस्यको मृत्यु भयो भने अन्तिम संस्कार गर्दा पुरोहितलाई सैंया दान दियो भने मृत आत्माले शान्ति पाउँछ रे । बैकुण्ठमा बाँस हुन्छ रे भन्ने सोच र नियमले अभाव र गरिबिमा बाँचेका हिन्दुधर्म अनुयायीहर ठूलो आर्थिक संकटमा परेका छन् । आर्थिक भार थपिएको छ । जस्ले गर्दा गरिबहरु झन झन गरिब र अभावमा जिउन बिवस छन् । उदाहरण : पुरोहित वा ब्रामणलाई पलङ दियो भने म्रुत आत्मा आरामले सुत्न पाउँछन् रे । छाता दान गर्यो भने घामपानीमा ओत लाग्छन् रे । घडी दिए समय हेर्छन् रे । गाई दान गरे बैतर्नि तर्छन रे । साँच्चै मृतआत्मालाई यी सब कुराहरु आवस्यक छ त ? हामीले हरेक ब्यक्ति, संस्था वा समुहलाई काम लगाए बापत वा श्रम र समय खर्छे बापतको मुल्य दिनैपर्छ । पुरोहितलाई पनि पुजापाठा गर्न, सुध्याइ गर्न लगाएपछि दक्ष अनुसारको दान दक्षिणा त दिन्छौं नै तर यति उति, यो त्यो भनेर मोलमोलाइ गर्नु चाहिँ असान्दर्भिक हो । माथी उल्लेख गरिएका धार्मिक बिसंगतिहरु लिङ्ग र जातको आधारमा विभेद, मृत्यु संस्कारमा शोषण गर्नु भनेको हिन्दुधर्मको लोकप्रियता घट्नु हो । अमानवीयताको पराकाष्ठा हो । त्यसैले अब धर्मलाई प्रकृतिबादी, मानवताबादी बनाउन परिमार्जन गरौं ।
राज्यको बिभेदकारी निति : हामी महिलाहरुलाई धर्म संस्कार , सामाजिक मुल्यमान्यताले मात्र हैन राज्यबाट पनि विभेद गरिएको छ । आधा आकाश ढाक्ने महिलालाई उपेक्षा गरेर कसरी देश समृद्ध हुन्छ ?? संबिधानले मौलिक हकमा समानताको हक भन्ने ब्यवस्था गरेको भएपनी व्यबहार त त्यसो भएको छैन । महिला, अल्पसंख्यक, सिमान्तकृत समुदायहरु अझै पनि समाज र राज्यबाट उपेक्षेती जीवन जिउनु परिरहेको छ । सबै पार्टीको बिधानमा ३३५ महिला सहभागिताको ब्यवस्था गरेपनि आजसम्म कुनै पार्टीमा महिलाले ३३५ को सहभागिता पाएका छैनन् । पार्टी भित्र कुनै पनि तहमा महिलाको नेतृत्व स्विकार्न सकेको देखिदैन । महिला केवल सहयोगी भुमिकामा मात्र सिमित हुनुपरेको आभास हुन्छ । अझै पनि समाजमा महिला हिंसाका अनेकौं घटना बढिरहेको छ । महिलाहरु यौन शोषण, बलात्कार, एसिड आक्रमण, हत्या जस्ता जघन्य अपराधको शिकार भैरहेका छन् । राज्यले अभियुक्तहरुलाई निस्पक्ष छानबिन गरि सजायको भागिदार बनाउनको साटो नाता, आफन्त, आफ्नो, उस्को भन्दै बचाउने गरेकाले अपराध झन्झन् बढ्दै गएको छ । जस्ले गर्दा आजका हाम्रा कलिला छोरिहरु डर त्रास र भयमा बांच्न बाध्य छन् । त्यस्तै जबसम्म समाजका हरेक जाती, समुदाय, लिङ्ग वा क्षेत्रका जनताले आत्मासम्मान, समानता, सुरक्षा र संरक्षणको अनुभुति गर्न सकेनन् भने दन्द्व, लडाइँ, झगडा भै रहन्छ । त्यसैले सबै नागरिकलाई अपनत्व महसुस गराउने जिम्मा राज्यको हो ।
महिलाको भूमिका : हामीलाई धर्म संस्कारले, समाजिक मुल्य मान्यताले, राज्यले आसमान व्यबहार गर्यो । भेदभाव गर्यो अनि पछि पर्यौं भनिरहँदा हामी चाहिँ हाम्रो ब्यक्तित्व र बौद्धिक बिकाशको लागि, क्षमता विकासको लागि कति समय खर्चंदै छौं । कति समय अध्ययन अनुसन्धानका लागि छुट्टाउदै छौं भन्ने कुरा पनि हेक्का राख्न जरुरी छ । यसै प्रसङ्गमा एउटा रोचक घटना सुनाउन सान्दर्भिक होला । ०५७ साल तिरको कुरा हो । इटहरी सुनसरीको नगरपालिकाको सभा हलमा इन्सेकले महिला जनप्रतिनिधि माझ सचेतना कार्यक्रम राखेको थियो । जहाँ तात्कालिन दुलारी, सुन्दरपुर, इन्द्रपुर, बेलबारी र मिर्गौलियाका जनप्रतिनिधि र इन्सेकका बरिस्ठ नेता, कर्मचारीको उपस्थिति थियो । अनि भेलालाई सम्बोधन गर्नेक्रममा सबैले महिला बिभेदका कुरा गरे । राज्यको भूमिका के हुने भन्ने विविध विषयमा कुरा भयो । तर इटहरीका तात्कालिन मेयर सर्बध्वज साँवाज्यु भन्नुभएको कुरा बढो रोचक लाग्यो ।
प्रस्तुत छ वहाँको भनाइ : महिला दिदिबहिनीहरु हामी पछि पर्यौं, बिभेदमा पर्यौं भन्नू हुन्छ । समय चाहिँ धेरै भन्दा धेरै श्रृङ्गारपटारमा खर्चिनु हुन्छ । कसैले वाउ कस्तो राम्रो कपाल, बाबियोको झुप्पा जस्तो भनिदियो भने मख्ख परेर भोलि झन त्यो कपाल स्याहार्न थप समय खर्चिनु हुन्छ । अनि कस्तो राम्रो मिलेको ज्यु, सारिले बबाल राम्रो देखियो नि । बारुली कम्मर, अनि भि शेप सारि वाउ भनिदिन्छ मख्ख परेर अर्कोदिन झन धेरै सारी मिलाउनु हुन्छ । कतै जानेबेलामा म र मेरो श्रीमती सङ्गै तयारी हुन थाल्यौ भने म तयारी भै एउटा पत्रीका सबै हेरिसक्छु अनि अमृता सकिएन ? भनेर कराउँदा एकछिन पख्नुन अब १० मिनेट भन्छिन अनि कसरी समान हुन सक्नुहुन्छ ?? अब तपाईंहरुले धेरै कुरा बदल्नुपर्छ । श्रृङ्गार भनेको दासता हो । अरुको लागि, श्रीमानको लागि राम्री हुनुपर्ने सोच, व्यबहार बदल्नुहोस भन्नू भाको कुरा सम्झना आउँछ । सांच्चै हामीले आफ्नो लागि के गर्यौ ?? सोच्ने बेला आयो कि । अनि हामी दासी मात्र हैन संसार रचना गर्ने सोच राख्नु पर्छ । हामी अरुको परिचय बाट परिचित हुने भन्दा हाम्रो आफ्नो परिचय बनाउन आजैदेखि लाग्नुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु ।
यी माथी उल्लेख गरिएका धर्म संस्कार, समाजिक मुल्य मान्यता समय सान्दर्भिक छैनन् । त्यसैले समयसापेक्ष परिमार्जन गर्नुपर्छ साथै देश, समाज समुन्नत बन्न, जनताको उन्नति प्रगति हुन धर्म संस्कारको कुरामात्र हैन अन्य कुराले पनि महत्व राख्द्छ । जस्तै सासकिय स्वरुप, राजनैतिक मार्गदर्शन र राजनेताको प्रवृत्ति, सोच आत्मबिश्वास, सरकारको इमान्दारीता र दुरदर्शिता प्रतिबद्धता, राज्यको स्रोतसाधन जस्ता कुराले पनि महत्व राख्दछ । हाम्रो देश नेपाल स्रोत र साधनले सम्पन्न र स्वाधीन इतिहास भएर पनि बिकासोन्मुख देशको सुचिमा रहन बिवस छौं । विकसित देशहरु बिकाशको चरम उत्कर्समा पुगेर अब स्पेस र चन्द्रमा तिरको गन्तव्य निर्धारण गरिरहेको बेला हामी भने दलित ले धारा छोयो भनेर झगडा गर्दैछौं । अनि महिलालाई छाउगोठ राख्न हुन्न भन्दै छाउगोठ भत्काउँदैछौं । यो दुर्भाग्य हो । अब देश, समाज विकास र समृद्ध बनाउन सरोकारवालाहरुले मन वचन र कर्मले वा बिशाल छाती र फराकिलो मनका साथ ब्यक्तिगत स्वार्थ, गुट गत र पार्टी गत स्वार्थ छोडेर जनसरोकारका, जनजिबिका मुद्दामा अर्जुन दृस्टि लगाउनुपर्ने आजको टड्कारो आवश्यकता हो । सरकार, सम्बन्धित निकायलाई द्रुतगतिमा देश बिकासका काममा लाग्न हुन अनुरोध गर्दछु । सुखी नेपाली समृद्द नेपालको हाम्रो चाहना चाँडै अनुभुत गर्न पाइयोस् । धन्यवाद ।।।
वि.सं.२०७७ भदौ ११ बिहीवार १६:३७ मा प्रकाशित






























