back
CTIZAN AD

मास्क र स्यानिटाइजरमै लाखाैं खर्च, कुन मन्त्रालयले कति खर्च गरे ?

वि.सं.२०७७ भदौ १८ बिहीवार

753 

shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विस्तारसँगै देशको मुख्यालय सिंहदरवारको नियमित खर्चमा वृद्धि भएको छ । स्टेशनरी, मसलन्द, खाजा, अतिथि सत्कार, आदीलगायतका परम्परागत खर्चमा अहिले मास्क, स्यानिटाइजर र ग्लोबजस्ता नयाँ शिर्षकको खर्च थपिएको छ ।

चैत महिनादेखि असार मसान्तसम्म मन्त्रालयहरुले गरेको मास्क र स्यानिटाइजरमा भएको खर्चलाई हेर्दा सबैभन्दा धेरै अर्थ मन्त्रालयले गरेको देखिन्छ । जसमा सो मन्त्रालयले ५ लाख ४४ हजार १ सय १३ रुपैयाँको मास्क र ५ लाख १४ हजार ५ सय ६७ रुपैयाँको स्यानिटाइजर खरिद गरेको मन्त्रालयबाट प्राप्त सुचनामा उल्लेख गरिएको छ ।

प्राप्त सुचनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले चैत महिना देखि असार मसान्तसम्म ३ हजार ९ सय ८९ रुपैयाँको स्यानिटाइजर र ९ हजार रुपैयाँको मास्क खरिद गरेको देखिन्छ ।

हेर्नुहोस संसारन्युजलाई प्राप्त मन्त्रालयहरुले चैत महिनादेखि असार मसान्तसम्म मास्क र स्यानिटाइजर खरिद गरेको खर्चको विवरण :

अर्थ मन्त्रालय प्रशासन महाशाखाका अनुसार मन्त्रालयमा काम गर्ने सम्पुर्ण कर्मचारीको संख्या जम्मा २ सय ४६ जना रहेको छ । मन्त्रालय प्रशासन महाशाखा अधिकृत नरेन्द्र पौडेलका अनुसार मन्त्रालय प्रवेश गर्ने ठाउँदेखि प्राय सबै कार्यकक्षमा स्यानिटाइजर उपलब्ध गराउने गराउने गरेको छ । साथै सबैलाई मास्कको उपलब्ध गराएको छ ।

सिंहदरवारका सबै कार्यालय मध्ये अर्थ मन्त्रालयमा मास्क स्यानिटाइजर शिर्षकमा बढि खर्च भएको सन्दर्भमा अधिकृत पौडेलले भने, ‘चैत्र महिना देखि असार मसान्तसम्म लकडाउन भएतापनि हाम्रो मन्त्रालय पुर्ण रुपमा सञ्चालित अवस्थामा थियो । सबै कर्मचारी र कतिपय सेवाग्राहीको पनि नियमित उपस्थिति भएकाले बढि खर्च भएको हुनसक्छ ।’

यूवा तथा खेलकुद मन्त्रालयमा काम गर्ने जम्मा कर्मचारीको संख्या ६८ जना रहेको छ । अरु मन्त्रालयको तुलनामा कर्मचारीको संख्या कम भएको र लकडाउनको आलोपालो गर्दा कम कर्मचारीको उपस्थिति भएकाले कम खर्च भएको मन्त्रालय प्रशासन महाशाखाका उपसचिव सागर रोकाले बताए ।

अधिकांश मन्त्रालयहरुले मास्क स्यानिटाइजरको खरिद तत्काल गर्नुपर्ने भएकाले सोझै प्रक्रियाबाट खरिद गरेका छन् । संसारन्युजलाई प्राप्त सुचनाअनुसार अधिकांश मन्त्रालयहरुले नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर खरिद गरेको देखिएको छ ।

निश्चित काम विशेष प्रयोजनमा बाहेक स्यानिटाइजार नेपाली समाजमा कमै मात्रामा प्रयोग हुने गर्दथ्यो । त्यस्तै चिकित्सा क्षेत्रमा उपचारको समयमा, केहि रोगी र धुलो वाट जोगिन बाहेक मास्कको प्रयोग पनि आम रुपमा हुने गरेको थिएन ।

गत मंसिरमा चीनको वुहानका मानिसमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । त्यसको केहि समयमा नै विश्वका विभिन्न भु–भाग हुँदै नेपालमा पनि कोरोना देखिन पुग्यो । कोरोना संक्रमण विस्तारको खतरा देखिएसँगै सरकारले आमजनतालाई सामाजिक दुरी कायम गर्नका साथै साबुन पानीले हात धुन, मास्क र स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गर्यो ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १६:५८ मा प्रकाशित