ध्रुवीकरणः कथनको कथा
आज २०७७ साल भाद्र १८, पाटनमा मच्छिन्द्रनाथको रथ तान्न केही स्थानीय तत्पर थिए । शताब्दीयौँ देखि चली आएको यो जात्राको पाटनमात्र नभई सम्पूर्ण उपत्यका बासीमा विशेष महत्व छ । वर्षाका देउताका रुपमा मानिने मच्छिन्द्रनाथलाई स्थानीयले बुंगद्य भन्छन्, र यो जात्रा वर्षा सकिनु अगावै बुंगमती पुर्याउन पर्ने नियम चलि आएको छ । सामान्य समयमा यो रथ नगर परिक्रमा गराउँदा, जुन टोलमा रथ पुग्छ त्यही टोलका मान्छेले मात्र तान्न पाउँछन्, अनि त्यो टोल कटाएर अर्को टोल नपुग्दासम्म जिम्मेवारी पनि लिन्छन् ।
जुनसुकै बहानामा हुलदंगा गर्ने अपराधी हुन्। तिनीहरुलाई कडा कारबाही गर्न पर्छ । यति भनिरहँदा स्थानीयहरुले जात्रा सुचारु गर्न प्रहरी लगाएर तान्न अथवा, क्रेनले तान्न अनेक सुझाव दिँदा मुकदर्शक भएर बस्ने सरकार र सो कुराहरुको सुचना प्रवाह नगरी भाइरल घटना मात्र रिपोर्ट गर्ने संचारमाध्यमलाई पनि सजिलै उन्मुक्ति भने दिनहुन्न। अझ, घटना भड्किँदा मौका छोपेझैँ पराजित नेतालाई सांसद छान्न उद्यत सरकारको केरकार त गर्नै पर्छ ।
रडाको !
यो महामारीको समयमा हुलमुल गरी रथ नतान्न प्रशासकको निर्देशन थियो । मेयर सा’ब त कतै देखिनु नै भएको थिएन । सायद आइसोलेसनमा हुनुहुन्थ्यो । निर्वाचित प्रतिनिधि पनि हैन, एउटा कर्मचारीको आदेशमा स्थानीयले सजिलै चलन कहाँ छोड्थे र? यही बीच रथयात्रा गराउन खोज्ने स्थानीय र प्रहरीबीच हुलदंगा हुन पुग्यो । सामाजिक सञ्जाल भरी एक प्रहरी जवान निर्घात कुटिएको भिडियो भाइरल भयो । साँच्चै नै निर्मम प्रहार थियो, धार्मिक सांस्कारिक कार्यक्रममा सरिक भएका मान्छेलाई नसुहाउँदो ।
भाष्यः
भिडियो भाइरलसँगै प्रहरीको समर्थन र ती हिंस्रक आन्दोलनकारीको निन्दाका प्रतिक्रिया सामाजिक सञ्जाल भरी छरपष्ट हुन थाल्यो । आन्दोलनकारीमाथि इङ्गित गर्दै पङ्क्तिकारको नि पहिलो प्रतिक्रिया थियो; “जनता अनुसारको सरकार, सरकार अनुसारको जनता” ।येँ(काठमाडौँ) मा हिजो इन्द्रजात्रा त्यतिकै मनाउन हुने, अस्तिनै बिराटनगरमा कृष्णजन्माष्टमीको जात्रा त्यस्तै जुगाडमा मनाउन हुने, यो यल(ललितपुर)मा भने अबुजकी, जिद्दी जस्तो आशय लाग्ने, प्रतिक्रिया छ्यापछ्यापति पाइन्थ्यो ।
स्थापित भाष्य थियो; पाटनका स्थानीय अबुझ भए, जबरजस्ती पेलेरै लग्न खोजे, प्रहरीमाथि अमानवीय कुटपिट गरे । भिडियोमै छरलङ्ग कुटपिट देखेका हामी सबैलाई, यो कथन नै पूर्ण सत्य थियो ।
त्यस पछि पृष्ठभुमी बुझ्दै जाँदा, जात्रा आयोजकहरुले बारम्बार सरकारी निकायसँग महामारीको समयमा जात्रा सञ्चालनको लागि ताकेता गरेको कुरा खुल्दै गयो । क्रेन नत्र प्रहरीको व्यवस्था गरी रथयात्रा गराईपाऔँ भनी सरकारी निकायमा याचना गरिएको रहेछ । राष्ट्रपतिको कार्यालय सम्म निवेदन बुझाइएको रहेछ । महत्वपुर्ण कुरा अझै यो रथ यात्राको तयारी गरेको २ महिना भइसकेको थियो । दुइ महिना देखिको सरकारी उदाशीनताले पनि आज हुलदंगाको अवस्थामा पुर्याउन धेरै भुमिका खेलेको रहेछ । (स्रोतः https://www.setopati.com/social/215902)
सरकारी अकर्मण्यता र उदाशीनताको भने खासै कतै चर्चा भएको पाइएन । छिटपुट देखिए पनि यो भाष्य कसैले अगाडी बढाएको पाइएन ।
शब्दको छनोट
मछिन्द्रनाथ रथयात्राको क्रममा भएका कुराका दुइटा टिप्पणी हेरौ हैः
टिप्पणी १
१. ट्राफिक प्रहरी साथीलाई कुटपिट गरिएको घटना एकदम गलत निन्दनिय कार्य हो र सम्लग्न व्यक्तिहरुलाई सक्दो कार्वाही हुन जरुरी छ।
२. मछिन्द्रनाथको रथयात्रालाई क्रेन लगाएर हुन्छ कि कर्फ्यु लगाएर हुन्छ सम्पन्न गरौं भन्दा वास्ता नगरी बस्ने सरकारको हेपाहा प्रवृत्तिलाई कहिले सम्म सहने????
३. नेवारहरूले चाँड कसरी मनाउने भन्ने उनका स्वनिर्णयका कुरा हैनन?
टिप्पणी २
१. ट्राफिक प्रहरी साथीलाई कुटपिट गरिएको घटना एकदम गलत निन्दनिय कार्य हो र सम्लग्न व्यक्तिहरुलाई सक्दो कार्वाही हुन जरुरी छ।
२. मछिन्द्रनाथको रथयात्रालाई क्रेन लगाएर हुन्छ कि कर्फ्यु लगाएर हुन्छ सम्पन्न गरौं भन्दा वास्ता नगरी बस्ने सरकारको हेपाहा प्रवृत्तिलाई कहिले सम्म सहने????
३. वर्षमातिज, चैते दशैं र दशैं बाहेकका चाड मनाउन नजानेका बाहिरबाट आएका व्यक्तीहरुले नेवार समुदायको चाडवाड र सँस्कृती र परम्परा बारे किन बोल्ने???? कुन अधिकारले उनिहरुले नेवारि परम्परा बिरुद्ध बोल्ने????
सायद पहिलो टिप्पणी पढुञ्जेल तपाईँलाई कुरा ठीकै त हो नि जस्तो लागेको हुन सक्छ, अथवा “त्यति भन्दैमा प्रहरी कुट्न त कहाँ पाइन्छ?” भन्ने सोच पनि आएको होला ।
तर दोस्रो टिप्पणीमा त्यति नम्र सोच त पक्कै आएन होला । दोस्रो टिप्पणीको बुँदा नं ३ ले तपाइँलाई कम्तिमा असजिलो अझ सम्भवतः आक्रोषित नै बनायो होला । दोस्रो टिप्पणी सामाजिक सञ्जालमा प्रतिक्रिया धेरै आएपछि एउटा नेवा एड्मिन भएको पेजबाट पङ्कतिकारले जस्ताको तस्तै उद्धृत गरेका हुन् भने, पहिलो टिप्पणीमा आफैँले तेस्रो बुँदा परिमार्जन गरेका हुन् ।
पुर्वाग्रह रहित रुपमा हेर्ने हो भने दुवै टिप्पणीको आशय एउटै छ, नेवार रितिरिवाज सम्बन्धि निर्णय नेवारहरुलाई नै लिन देउ । आशय तर दोस्रोमा अनियन्त्रित आक्रोशले अरु जात प्रतिको हेय पनि जन्माएको देखिन्छ ।
यस्ता टिप्पणी नेवा समुदायका केही उग्र विचारधारा राख्ने साथीहरुको फेसबुक भित्तामा भेटिन्थ्यो । उग्रजातिवादी सोचाइ नेवारमा मात्र त पक्कै सीमित छैन, अरु जातिका साथीहरुले नि गालिगलौजको भाषामा उत्रन कति पनि बेर लाएनन् ।
पङ्क्तिकारले एउटा प्रयोग पनि गरे । केही समय अगाडीको “गुठी विधेयक” आन्दोलन ताकाको एक वृद्ध आन्दोलनकारीलाई पानीको फोहोरा हानिँदै गरेको तस्विर टुइटरमा साझा गरे, र लेखे कथाको दुई पाटो हुन्छ । सुचनाको सत्यता माथि गालिगलौच आएन, तर आन्दोलन ठीकै भयो भन्ने आशयको टिप्पणी भने आयो । अघिसम्म हिंसा कुनै हालतमा हुँनै हुन्न भनेका साथीहरु, एकाएक आन्दोलनकारी वृद्धमाथि भएको प्रहरी दमन ठीक हो भन्ने तिर पुगे । हामी यस्तो दोहोरो मानकधारी आडम्बरी कसरी भयौँ? सानो घटनामा पनि दुइटा ध्रुबमा विभाजित ।
जुनसुकै बहानामा हुलदंगा गर्ने अपराधी हुन्। तिनीहरुलाई कडा कारबाही गर्न पर्छ । यति भनिरहँदा स्थानीयहरुले जात्रा सुचारु गर्न प्रहरी लगाएर तान्न अथवा, क्रेनले तान्न अनेक सुझाव दिँदा मुकदर्शक भएर बस्ने सरकार र सो कुराहरुको सुचना प्रवाह नगरी भाइरल घटना मात्र रिपोर्ट गर्ने संचारमाध्यमलाई पनि सजिलै उन्मुक्ति भने दिनहुन्न। अझ, घटना भड्किँदा मौका छोपेझैँ पराजित नेतालाई सांसद छान्न उद्यत सरकारको केरकार त गर्नै पर्छ ।
महत्वपूर्ण कुरा चाहिँ, हामीले हाम्रो कथन कस्तो छ भनेर बुझ्न जरुरी छ । हामी कुनै एकाङ्गी भाष्यको शिकार त भइरहेका छैनौ? जनताकोसल्काएर, आगो ताप्नेको दाउरा त बन्दै छैनौ?
वि.सं.२०७७ भदौ १९ शुक्रवार १६:२३ मा प्रकाशित






























