काठमाडौं । पूर्वी लद्दाख क्षेत्रको सीमाको विषयलाई लिएर भारत र चीनबीच भएको तनाव तत्कालका लागि टरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वांग यीबीच भएको संवादपछि विवाद समाधान गर्न सहमती भएसँगै तनाव टरेको हो ।
जयशंकर र वांग यीबीचको छलफलमा विवाद समाधानको लागि ५ बुँदे समझदारी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जनाइअनुसार संघाई सहयोग संगठन (एससीओ)को बैठकमा भाग लिन मस्को गएका बेला भारतीय विदेशमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच बिहिबार संवाद भएको थियो । बिहिबार साँझ भएको संवादबारे शुक्रबार बिहानै उनिहरुले भएको सहमती सार्वजनिक गरेका हुन् ।
यी हुन् सहमती भएका ५ बुँदा
१. सीमा क्षेत्रमा भएको तनावले दुवै पक्षलाई हित नगर्ने भन्दै विवादित क्षेत्रबाट तत्कालको लागि सैन्य समुह हटाउने ।
२. विवाद समाधानका लागि दुई देशका नेताहरु बीच छलफल गर्ने र सहमती खोज्ने ।
३. सीमासम्बन्धी सबै सहमती र कुटनीतिक सम्झौतालाई मान्ने सहमती । तत्कालको लागि सीमा क्षेत्रमा कुनै पक्षले कुनै खालको कारबाही नगर्ने ।
४. सीमा समस्या समाधानका लागि दुवै देशले तत्कालै वातावरण तयार गर्न भुमिका खेल्नुपर्ने ।
५. दुवै देशका सेनाहरूको छलफललाई निरन्तर जारी राख्ने, भारत–विवाद समाधानका लागि यसअघि गठित स्पेशल रिप्रेजेन्टिव कमिटीको माध्यमबाट छलफल जारी राख्ने ।
तीन महिनादेखि पूर्वी लद्दाखमा लगातार झडप
यसअघि १५ जुनमा लद्दाखको गलवान क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच हिंस्रक झडप भएको थियो । जसमा भारतर्फबाट २० सैनिक जवानको ज्यान गएको थियो ।
उक्त घटनामा चिनियाँ पक्षतर्फ के–कतिको ज्यान गयो भन्ने कुरा अहिलेसम्म पनि पुष्टी भएको छैन् । भारतीय पक्षले उक्त झडपमा ३५ चिनियाँ सैन्यको ज्यान गएको दाबी गर्दै आएको छ ।
भारतीय र चिनियाँ सैनिक बीच पछिल्लो साढे तीन महिनादेखि पूर्वी लद्दाखमा निरन्तर तनाव छ । दुई देशबीचको तनावका बीच गत २९ अगस्ट रात पनि उक्त क्षेत्रमा झडप भएको थियो ।
सीमा क्षेत्रलाई लिएर भएको तनावमा दुई पक्षबीच पटक–पटक वार्ता भएपनि समाधान निस्कन सकेको छैन् ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार १३:०८ मा प्रकाशित






























