काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङ्गलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ । मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रस्तावबारे जानकारी दिएका हुन् ।
चापागाईंका अनुसार गत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेका थिए । पुनः नियुक्तीको प्रस्ताव हाल मन्त्रिपरिषद् कार्यालयमा विचाराधीन रहेको चापागाईंले जनाएका छन् ।
उनले उक्त प्रस्तावमाथि छिट्टै निर्णय हुनसक्ने आशा देखाए ।
‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’ चापागाईंले भनेका छन्, ‘प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’
घिसिङ्गको चार वर्षे कार्यकाल गत भदौ २९ देखि सकिएको थियो । घिसिङ्गलाई पुनः प्राधिकरणको जिम्मेवारी दिन चर्को जनदबाब छ ।
गत सोमबार र मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङ्गको नियुक्ती गर्ने आशा गरिएको भएपनि उनको नामबारे छलफल भएन् । कुलमानको नियुक्ती नभएसँगै उर्जा मन्त्रालयले प्राधिकरणको निमिक्तको रुपमा उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई जिम्मेवारी दिएको छ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन…
Posted by Durga P Chapagain Sachin on Wednesday, September 16, 2020
वि.सं.२०७७ असोज १ बिहीवार १३:१० मा प्रकाशित






























