
तिमी चाहन्छौ,
म तिमी जस्तै निष्ठूर बनुँ र
दुनियाले यो भनोस् कि-
यै हो निष्ठूरताको महाराज,
यै हो क्रुरताको सर्दार
फाँसीमा चढ्न लायक खलनायक !
ए मेरो अपूर्व साथी
म समयले छातीमा टाँसेको फूल हुँ
धड्किन्छु
म समयले रगतमा बोकेको पात हुँ
तैरिन्छु
मलाई भारी ढुंगा भएर गुड्न मन छैन
बतासले उडाएछ भने म उडिदिन्छु–
निस्फिक्री आकाशमा
छालले उतारेछ भने म उत्रिदिन्छु किनारमा
म खोलाको लेउजस्तो होइन,
कुनै लगाव, अनुराग छैन ठूलो
कुनै आग्रह, अनुग्रह छैनन् मेरा
कुनै रीस-राग, बिषको पराग
कुनै बिद्रोह, विध्वंशको चिराग
अहँ, बोकी हिंडेको छैन मैले !
तिमी उभ्याईरहू वर्लिन पर्खाल
र फर्फराईरहू बिखन्डनको झन्डा
म टाउको ठोक्न आउनेछैन त्यहाँ
किनकि
हरेक सपनामा
हृदयको न्यानो बेलुन चढेर
म पुगिरहेकै हुन्छु पारी
जहाँ तिम्रो नजरले नभेट्ने
आत्माहरुको बेजोड फूलबारी छ
तिमी चाहन्छौ,
एउटा बाक्लो पट्टी होस् मेरो आँखामा
ताकि
दुनियाले मलाई निर्बिबेकी भनून्
बारबार थुकुन् र थप्पड मारुन्
भो, मेरो अद्भूत साथी
जीत तिम्रै भयो, म हार स्वीकार गर्छु
तिम्रो हुँकारलाई
म हजारपल्ट नमस्कार गर्छु
एक दिन छर्लंग खुलोस्
तिम्रो हृदयको आँखा
म सारा अन्धकारको दोष पिएर
तिमीसंग साक्षात्कार गर्छु !
वि.सं.२०७७ असोज १० शनिवार ०९:२८ मा प्रकाशित






























