३ कात्तिक, गोरखा । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका समाजसेवी स्व पदमबहादुर श्रेष्ठको स्मृतिमा सरस्वती माध्यामिक विद्यालयमा दुईवटा अक्षयकोष स्थापना गरिएको छ ।
अमेरिकामा रहनु भएकी स्व श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठ, ज्वाइ धनीराज श्रेष्ठ र श्रीमती बालकुमारी श्रेष्ठका तर्फबाट संयुक्तरूपमा रू एक लाख एक हजार एकसयकोे ‘पदमबहादुर श्रेष्ठ स्मृति टुहुरो जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ र नाति अभिनव श्रेष्ठका तर्फबाट रू एक लाख एक हजार एकसयकोे ‘गरिब तथा जेहेन्दार दलित छात्रवृत्ति कोष’ स्थापना गरिएको हो ।
विद्यालयमा आज आयोजित कार्यक्रमा परिवारका तर्फबाट उपलब्ध गराइएको सो रकमबाट ती कोष स्थापना गरिएको विद्यालयका प्रधानध्यापक रामचन्द्र पौड्यालले जानकारी दिए । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट विद्यार्थीहरू छनोट गरी जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने उनले बताए ।
नेपाली सेनाका जमदारबाट अबकास समाजसेवी श्रेष्ठको ८२ वर्षको उमेरमा गत असोज १५ गते उपचारका क्रममा काठमाडौ छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा निधन भएको थियो ।उनले बोर्लाङको शिक्षा क्षेत्रको बिकासका लागि महत्वपूर्ण योगदान दिनुभएको वडाध्यक्ष श्रेष्ठले बताए ।
गाउँमै स्कुल खोल्नुपर्छ भनी स्थानीय नागरिकलाई जागरुक गराउने अभियानमा जुटनुभएका स्व श्रेष्ठले २०१६ सालमा विद्यालय स्थापनाका लागि जग्गा दान पनि दिएका थिए । रासस
वि.सं.२०७७ कात्तिक ३ सोमवार १६:०० मा प्रकाशित





























