२२ कात्तिक, काठमाडौं । पत्नीको निधनपछि शोकमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई चिनीया कम्युनिष्ट पार्टीले गहिरो समवेदना पठाएको छ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी सहित पूर्वराजा ज्ञानेन्द्रसम्मले महरा परिवारलाई समवेदना प्रकट गरेका थिए ।
महराको पारिवारीक श्रोतका अनुसार विभिन्न शीर्ष नेताहरुले महरालाई टेलिफोन गरी समवेदना व्यक्त गरेका थिए । महरा पत्नी सीता महराको कार्तिक १९ गते ५९ वर्षको उमेरमा निधन भएको थियो । सीता १० वर्षे जनयुद्धमा महरासँगै भूमिगत भएकी थिइन् ।
महरालाई राष्ट्रपति विद्या भण्डारी सहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समवेदना दिएका थिए ।
समवेदना प्रकट गर्न प्रचण्ड काठमाण्डौंस्थिति महरा निवासमै समेत पुगेका थिए । महरालाई पूर्वप्रधानमन्त्री एवम नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा. वावुराम भट्टराइ, माओवादी नेता मोहन बैध्य किरण, नेत्र बिक्रम चन्द बिप्लव, सभामुख अग्नि सापकोटा, कांगे्रस नेताहरु शेखर कोइराला, कृष्ण सिटौला, मुख्यमन्त्री शंकर पोखरेल सहित नेकपाका अन्य सचिवालय र स्थायी समिति सदस्यहरु, कुटनीतिज्ञहरु , जनप्रतिनिधि एवं ठुलो संख्याका राजनैतिक कार्यकर्ताहरुले समवेदना दिएका थिए ।
कार्तिक २० गते (बिहिवार) विहान ३ बजे महरा परिवार घोराहिस्थित निर्मल महरा एटमको निवासमा पुगेको थियो । बिहिवार विहानैदेखि महरा परिवारलाई समवेदना प्रकट गर्न दाङस्थित उच्च पदस्थ सरकारी अधिकारीहरु, राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि एवम जनताहरुको घुइचो लागेको थियो ।
यस्तो थियो सिताको राजनीतिक जीवन
२०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिएकी सीताको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो ।
दुई छोरा र दुई छोरीकी आमा रहेकी उनलाइ महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो ।
२०५४ साउन २९ गते राति रोल्पा मेबाङस्थित घरमै गएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनले प्रहरीको घेरा तोडेकी थिइन् भने घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए । त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए ।
कृष्णबहादुर महरालाई पारिवारिक तथा पार्टी राजनीतिमा पनि असाध्यै सहयोग पुर्याएकी उनले ५९ बर्षसम्म कुनै पनि प्रकारको महारानी प्रवृति नदेखाएको कारण उनको शिष्टता र सभ्यताले चर्चा पाउने गरेको थियो ।
त्यतिमात्र होइन, एमसिसि संसदमा छलफल नगराएको आक्रोशमा षडयन्त्रपुर्वक महरालाइ फसाइदा पनि उनको अविचल स्नेह महराले पाएका थिए । दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । त्यहां निमोनिया र स्वासप्रश्वासको समस्या बढेको देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई उनलाइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै कार्तिक १९ गते (बुधबार) बिहान ६ः२५ बजे उनको निधन भएको अस्पतालले पुष्टि गरेको थियो ।

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)
वि.सं.२०७७ कात्तिक २२ शनिवार ०६:५९ मा प्रकाशित


























