back
CTIZAN AD

नेकपाको अनुशासन आयोग भन्छ : पार्टीभित्र सुन्नै नसकिने गालीगलौज र आरोप–प्रत्यारोप रोक्नुपर्यो

वि.सं.२०७७ कात्तिक २४ सोमवार

672 

shares

काठमाडौं । सत्तारुढ नेकपाको अनुशासन आयोगले पार्टीभित्र देखिएको समस्याहरुप्रति चिन्ता व्यक्त गरेको छ । आयोगका अध्यक्ष अमृत कुमार बोहराले सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै पार्टीभित्र सन्नै नसकिने गालीगलौज र आरोप–प्रत्यारोप मौलाएको भन्दै चिन्ता व्यक्त गरे ।

नेता बोहराले नेताहरुलाई माक्र्सवादी शैलीमा विवाद निरुपण गर्न पनि आग्रह गरेका छन् । ‘महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने ‘गालिगलौज’ ‘निन्दा भत्र्सना’ ‘आरोप–प्रत्यारोप’ र ‘पार्टी विभाजन’ जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन्। यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो’, उनले विज्ञप्तीमा भनेका छन्, ‘हामीसँग आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा माक्र्सवादी परम्परा रहेका छन्। विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु हामीसँग छन्। त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु।’

बोहराले बैठक राख्ने विषयलाई प्रतिष्ठानको विषय नबनाउन पनि नेतृत्वसँग आग्रह गरेका छन् । ‘जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं। बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पार्टी एकताका बाँकी सबै कामहरु छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाऔँ।’ पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिस्ट आचरणमा विचलनजस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गर्नुपर्ने विज्ञिप्तमा उल्लेख छ।

यस्तो छ विज्ञप्ती

अविलम्व बैठक राखी विवाद समाधान गर्न हार्दिक आग्रह

नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको छ। समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई हामी कसैले इन्कार गर्न मिल्दैन। यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने “गालिगलौज” “निन्दा भत्र्सना” “आरोप–प्रत्यारोप” र “पार्टी विभाजन” जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन्। यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो।

हामीसँग आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा माक्र्सवादी परम्परा रहेका छन्। विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु हामीसँग छन्। त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु।

विधि र पद्धति पार्टीका प्राण हुन। पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन। यी कुराहरु हामीले बुझेकै छौं। तर हामी किन पार्टी विधान अनुसार विधि पद्धतिको पालना गर्दैनौ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन्? अनि हामीहरु किन निःतान्त आत्मकेन्द्रित भएर सोच्दछौं।

हामीले यो कुरा बुझ्नुपर्छ, माक्र्सवादीहरु हरेक कुरामा खुल्ला–खुलस्त हुन्छन्। भित्र एउटा कुरा र बाहिर अर्काे कुरा गर्दैनन्। जालझेल र षड्यन्त्रलाई मनैदेखि घृणा गर्छन्। पार्टी र जनताका काममा कुनै गल्ती कमजोरी भए इमान्दारितापूर्वक आत्मालोचना गर्छन् र सच्याएर अघि बढ्छन्। एउटा कम्युनिष्टले अबलम्वन गर्नुपर्ने कार्यशैली भनेको यही नै हो। तर व्यवहारमा हाम्रो पार्टी यी कामहरुमा किन पछि परेको छ। सबैको मनमा प्रश्न उठिरहेको छ।

पार्टीका निर्णयहरु आवश्यकताले कार्यान्वयनको लागि गरिन्छ। दराजमा सजाउनको लागि होइन। पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरु आजसम्म कार्यान्वयन नभई निस्क्रिय बसेका छन्। पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरु आजसम्म थाँतिरहेका छन्। यो दुःखद पक्ष हो। तीन महिना, एक महिना पन्ध्र दिन र दश दिनभित्र पूरा गर्ने भनेर भाखा राख्दै आएको पनि अहिले २९ महिना बितिसकेको छ। तर विधानले एकैछिन असंगठित राख्न नमिल्ने महत्वपूर्ण कमरेडहरु वर्षाैंसम्म जिम्मेवारीविहीन हुँदा पार्टी नेतृत्वलाई किन घोच्दैन, किन पोल्दैन र यति महत्वपूर्ण विषयलाई प्राथमिकता किन राखिदैन? यति सम्म कि लामो रस्साकस्सी र विवादपछि समाधान हेतु कार्यदलले प्रस्तावको रुपमा ल्याएको तथा २६ भदौ २०७७ को स्थायी कमिटी बैठकले कार्यान्वयनको निमित्त गरेको निर्णय समेत आजप्रर्यन्त अल्पत्र छन्। निर्णय कार्यान्वयन गर्ने तत्परता कतै देखिएकै छैन। बरु त्यसलाई अनेकौ बहानामा पन्छाउने काम भइरहेको छ।

पार्टी नेतृत्वको सोच सधै फराकिलो हुनुपर्दछ। हृदयमा विशालता छैन भने त्यो कम्युनिष्ट हुँनै सक्तैन। संकृर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिस रागले पार्टी चल्न सक्दैन। उत्तेजना, आबेग र गालीगलौजले समस्याको हल हुँदैन। यसले त विवादलाई सरल होइन झन् जटिल बनाउँछ। तनावलाई सिथिल नगरी कि वार कि पार भन्ने ठाउँमा पु¥याउँछ। विनाशको बाटोतर्फ जाने यस्ता कुराको कल्पना हामीले गर्न मिल्छ ? यो गल्ती हामीले कदापि गर्नु हुँदैन। पार्टीमा समस्या छन्, तिनलाई हामीले स्वीकार गर्नुपर्दछ। पार्टी विधान बमोजिम त्यसको समाधानमा पहल गुर्नपर्दछ।

अन्त्यमा, पार्टीका जिम्मेवार नेतृत्वगण प्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता हो। पार्टी एकताको विकल्पै छैन। समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पुरा गर्न यो एकता जरुरी थियो र भविष्यसम्म छ। फुट र विभाजन प्रतिगामी कुरा छन्। विगतमा हामीले पार्टी फुटको दुःखद कुरा व्यहोरिसकेका छौं। अब यस्ता गल्तीबाट शिक्षा लिनुपर्छ।

त्यसैले कमरेडहरु, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं। बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं। पार्टी एकताका बाँकी सबै कामहरु छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाऔं। पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गरौं। संयम्, धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगण प्रति विशेष अनुरोध गर्दछु।

२०७७ कात्तिक २४
अमृत कुमार बोहरा
अध्यक्ष, केन्द्रीय अनुशासन आयोग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

वि.सं.२०७७ कात्तिक २४ सोमवार १५:४९ मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...