
फरक छ साथी,
तिमी र ममा धेरै फरक छ ।
तिमी ओठले हाँस्छौ,
म आँखाले,
तिमी आँखाले हेर्छौ,
म धड्कनले,
तिम्रो र मेरो हेराई र हँसाई नै फरक छ ।
हो साथी धेरै फरक छ ।
तिमी बुद्धलाई फगत बुध्द देख्छौ,
म दर्शन !
तिमी सगरमाथालाई
फगत हिउको ढिस्को देख्छौ,
म स्वाभिमान !
तिमीले पर्यटन क्षेत्र भन्ने गरेको
मुक्तिनाथ, जनकपुर,
वराहक्षेत्र र स्वर्गद्वारीलाई
म आस्थाका केन्द्र ठान्छु,
तिमी फूलमा सुगन्ध भेट्छौ,
म आनन्द,
तिमी शब्दमा अर्थ खोज्छौ,
म ब्रह्माण्ड,
त्यसैले साथी धेरै फरक छ ।
तिमी ढुङ्गालाई फगत ढुङ्गा देख्छौ,
म मेरो पहिचान,
तिमी झरनामा पानी पिउँछौ,
म गर्छु पीयूषपान,
तिमी खोलामा कलकल सुन्छौ,
म वेदका ऋचा,
तिमी चरामा चिर्बिर भेट्छौ,
म जिजिविषा ।
त्यसैले साथी धेरै फरक छ,
तिमी पहरामा चट्टान देख्छौ,
म अमुर्त मुस्कान ।
तिमी छहरामा छङ् छङ् सुन्छौ,
म सुमधुर गान,
हो साथी साच्चै नै धेरै फरक छ ।
त्यसैले त,
तिमी बाँच्न खोज्छौ,
म जिउने कोशिस गर्छु ।
तिमी च्यात्न खोज्छौ,
म सिउने कोशिस गर्छु ।
फरक छ साथी
धेरै फरक छ ।
वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:१६ मा प्रकाशित






























