९ मंसिर,काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएसँगै नेपाली क्रिकेट मैदान फर्कने तयारीमा रहेको देखिएको छ । कोरोनाका कारण लामो समय सून्य जस्तै बनेको खेलकुद गतिबिधिले अबभने पुन: रुपलिने देखिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १० गतेदेखि राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने भनि सुचना प्रकाशित गरेको थियो । सबै खेलाडीहरु उपत्यका भित्र नरहेकोले क्यानले उपत्यका भित्र रहेका खेलाडी, अफिसियल र ग्राउण्ड स्टार्फको कोरोना परिक्षणका लागि स्वाव संकलन गरेको हो ।
क्यानले यस अघिनै जारी गरेको सुचना अनुसार मंगलवार कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएका खेलाडीहरुले मंसिर १० बाटनै प्रसिक्षण गर्ने छन्। क्यानका अनुसार उपत्यका बाहिर रहेका खेलाडीहरु आउनेक्रममा रहेकाले उनीहरुले पनि कोरोना परीक्षणपछि प्रसिक्षणमा सरिक हुने छन् ।
यो बन्द प्रशिक्षण आइसिसी विश्वकप क्रिकेट लिग–२ को सिरिजलाई ध्यानमा राखेर सुरु गरिएको हो । बन्द प्रशिक्षणमा रहने २२ खेलाडीहरुको नामावलि क्यनले यस अघि मंसिर ५ मा तय गरेको छ ।
जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्का,शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, रोहित कुमार पौडेल, सुसन भारी, ललितनारायण राजवंशी, सुबास खकुरेल, कुशल मल्ल,आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन्।
बन्द प्रशिक्षण सुरु गर्नलागेको क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक एक महिनाभित्र ल्याउने तयारी थालेको छ । क्यानले मुख्य प्रशिक्षक भित्राउनको लागि केही दिन अघिबाटनै मुख्य प्रशिक्षकका उम्मेद्वारहरुसँग अन्तरवार्ता लिएको थियो। क्यानले तयार पारेको ‘सर्ट लिस्ट’ मा आइसिसीले अनुमोदन भएर आएको उम्मेद्वारहरुसँग क्यानले अन्तरवार्ता लिएको थियो।
अन्तरवार्ता सकेसँगै छानिएका मुख्य प्रशिक्षकको नामावालि आइसिसीमा पठाउने भएकाले मुख्य प्रशिक्षक पाउन अब केहि समय लाग्ने क्यानले जानकारी दिएको छ । क्यानले आधिकारिक रुपमा अन्तर्वार्तामा सामेल भएका उम्मेद्वारहरुको नाम भने सार्वजनिक गरेको छैन।
वि.सं.२०७७ मंसिर ९ मंगलवार १५:३० मा प्रकाशित





























