
१२ मंसिर, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को विदेशस्थित भातृसंस्था प्रवासी नेपाली एकता मंचले खबरदारी गर्ने निर्णय गरेको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण विभाजनको संघारमा पुगेको टिप्पणीहरु बढिरहेकै बेला मंचले उक्त निर्णय गरेको हो ।
नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा विश्वका विभिन्न मुलुकमा रहेका प्रवासी नेपाली एकता मंचको अनलाइन बैठकले कुनै किसिमको विभाजन नहोस भनी पार्टीका प्रमुख नेतृत्व र पार्टी केन्द्रीय कार्यालय र सचिवालय सदस्यहरु समक्ष पुग्नेगरी मंसिर १३ गतेको बैठक अगावै सामुहिक हस्ताक्षर सहित ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
२६ नोभेम्बर,२०२० का दिन कमिटीका अध्यक्ष युवराज चौलागाईंको अध्यक्षता, श्रीप्रसाद शाहको संचालन र तिल विश्वकर्माको स्वागत मन्तव्य रहेको उक्त बैठकमा आमन्त्रित विशेष अतिथिका रुपमा स्थायी कमिटी सदस्यद्वय डा भिम रावल र जनार्दन शर्मा ‘प्रभाकर उपस्थित रहेका थिए ।
उक्त बैठकमा कुनै किसिमको विभाजन नहोस भनी पार्टीका प्रमुख नेतृत्व र पार्टी केन्द्रीय कार्यालय र सचिवालय सदस्यहरु समक्ष पुग्नेगरी मंसिर १३ गतेको बैठक अगावै सामुहिक हस्ताक्षर सहित ज्ञापनपत्र बुझाउने निर्णय भएको नेकपाका केन्दीय सदस्य तथा प्रबास समन्वय कमिटी दक्षिण एशिया ईन्चाजसमेत रहेका तिल विश्वकर्माले जानकारी दिए ।
पार्टी भित्र खासगरी प्रमुख नेतृत्व बीच सृजना भएका विषयमा नै केन्द्रित रही छलफलमा सहभागीहरुले देश र जनताको अनि स्वयं पार्टीको भलाइको लागि पार्टीको एकता कायम रहनु पर्ने कुरामा जोड दिएका थिए ।
बैठकको अन्त्यमा अतिथी रहेका स्थायी कमिटी सदस्य डा भिम रावलद्वारा सहभागीहरुको प्रश्नको उत्तर दिँदै कुनैपनि हालतमा पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा प्रवासमा रहेका जिम्मेवार नेतारकार्यकर्ताहरुबाट कुनै नेता विशेष र पार्टीको एकतालाई अपमानरनोक्सान हुनेगरी कुनै किसिमको टिकाटिप्प्णी सामाजिक संजालमा नलेख्न आग्रह गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।