
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक केहि बेर अघिदेखि सुरु भएको हो ।
यसअघि बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा थ्रेट भन्दै बैठकको स्थान सारेका थिए । जसबारे अन्तिम समय मात्रै महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुका जानकारी गराएका थिए ।
आजको बैठकमा अध्यक्ष ओलीले राखेको जवाफी प्रस्तावमाथि छलफल हुनेछ । प्रस्तावमाथि केही सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।
गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमाथि शनिबारकाे बैठकमा ओलीले जवाफी प्रस्ताव पेश गरेका थिए ।
जुन प्रस्तावमाथि यसअघि नबोलेका सचिवालय सदस्यले भनाई राख्नेछन् भने प्रचण्डले केही गम्भिर प्रकृतिका प्रश्नमाथि जवाफ दिनेछन् । प्रचण्ड निकट स्रोतले जनाएअनुसार बैठकमा मुख्यतः द्वन्द्वकालीन घटनासँग सम्बन्धित विषयमा ओलीले लगाएको आक्षेपमा प्रचण्डले जवाफ दिने तयारी गरेका छन् ।
गत कात्तिक २८ मा प्रचण्डले बहुमत सचिवालय सदस्यको सहमतीसहित प्रस्ताव पेश गरेका थिए । तर, शनिबारको बैठकमा ओलीले भने प्रचण्डलाई मात्रै आरोप लगाउँदै जवाफी प्रस्ताव अघि सारेका थिए ।
जसको जवाफ प्रचण्डले दिने तयारी गरेका हुन् । जनाइएअनुसार प्रचण्डले लिखित नै रुपमा जवाफ दिने तयारी गरेका छन् ।
साथै प्रचण्ड पक्षीय सचिवालय सदस्यहरु दुवै प्रस्तावलाई स्थायी समितिमा छलफलका लागि लैजानुपर्ने अडानमा छन् । तर, ओलीसहित नेताहरु भने प्रचण्डको प्रस्ताव खारेज गर्नुपर्ने अडानमा छन् ।
सम्बन्धित समाचार
नेकपा सचिवालय बैठक बस्दै, ओलीको प्रश्नको जवाफ दिने तयारीमा प्रचण्ड