कृष्ण गौतमले सोंचेका सपनाहरुले आफ्नो सहादत पछिका १४ वर्षमा के कति मुर्तता प्राप्त गरे यो अहिलेको गम्भिर सोंचनीय विषय हो । राजनीतिमा सक्रियहरुले सहिद, बेपत्ता, घाइते, अपाङ्गहरुको सन्दर्भलार्ई कसरी आत्मसाथ गरेका छन्, यो अहिले सर्वत्र चासो र चिन्ताको विषय हो । सामाजिक न्यायसहितको समृद्धिको सपना गफ गर्ने माध्यम मात्र हुने हो भने त्यो प्राप्त गर्न सहादत प्राप्त गर्नेहरुलार्ई के जवाफ दिने ? सर्वसाधारण जनतामा व्यापक असन्तुष्टिको पहाड चुलिइरहँदा दुई तिहाई जनमत प्राप्त कम्युनिस्ट सरकार किन रक्षात्मक अवस्थामा छ ? यसको जवाफ कहाँबाट आउँछ ? घृणा, आक्रोश, लज्जा तथा बाध्यतालार्ई जीवन दर्शन बनाउनु पर्ने अवस्थाबाट अलि माथि उठाउने एजेण्डा कहिले आउँछन् र सहिद परिवारको घाउमा मलहम लाग्छ ? हामी त्यसको प्रतिक्षामा छौँ ।
आज मंङ्सिर १७ गते हाम्रो साँहिलो भाइ कृष्णले सहादत प्राप्त गरेको १५ वर्ष पुरा हुँदैछ । समयले धेरै कोल्टे फेरिसकेको छ । भाइले दुश्मनको हातबाट छुटेको तातो गोली निलेर माटोको मुक्तिको निम्ति आफ्नो बलिदानी दिइसकेपछि हाम्रो परिवारमा पर्न गएको अप्रत्यासित शोकको घाउमा खाटा बस्दै छ । तर त्यो खाटा हाम्रो पुस्ताको जीवनकालमा मात्र हैन कि आउने पुस्तासम्म नै पूर्ण निको हुने अवस्था रहेको छैन । बेला कुबेला घाउ बल्झिने र चह¥याउने क्रम निरन्तर चलिरहने छ । चाडपर्व वा यस्तै विशेष परिस्थितिमा यो झनै चह¥याउँछ । पीडा असैह्य हुन्छ । यो क्रम निरन्तर छ । सिंगो परिवार नै मानसिक रुपले थिलोथिलो भएको छ । यी बितेका १५ वर्षमा हाम्रो परिवारको लुटिएको हाँसो फर्केको छैन । न चाडबाड आएको छ न हाम्रा बच्चाहरूको अनुहारमा खुसी छाएको छ । अन्य रोगब्याधि वा दुर्घटना कुनै कारणले भाइले मृत्युवरण गरेको भए यस्तो विक्षिप्त अवस्था आउने थिएन होला । यहाँ कुरो अलि फरक छ । फरक यसअर्थमा छ कि भाइ कृष्णले एउटा असल मात्र होइन कि उत्तम कारणको निम्ति आफूलाई बलिबेदीमा चढाएको थियो । यसर्थ पनि उसले रोजेको त्यो उत्तम कारणको औचित्यको पुष्टि कहीले हुन्छ र त्यसको जवाफ दिने जिम्मेवार निकाय अब कुन हो ? कतै त्यो निकाय पनि बेवारिसे हुन लागेको हो कि भन्ने गहिरो आभासले हामीलाई सताउन थालेको छ । सहिद परिवार र बालबच्चा, बेपत्ता घाइते वा युद्धका कारण सबलाङ्गबाट अपाङ्ग बनेकाहरूको प्रसङ्ग सकेसम्म कहीँकतै नउठोस भन्ने मानसिकताको विकास भएको छ । कथित दोहोरो भिडन्तका नाममा तत्कालीन सुरक्षा फौजले निःशस्त्र व्यक्तिहरूलाई कत्लेआम गरी मानवता विरुद्धको अपराध गरेको हुँदा त्यस सम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरूको बारेमा सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य जन समक्ष ल्याउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले हालसम्म पनि हाम्रो परिवारसँग सम्पर्क गरेको छैन । अपराध गराउन आदेश दिनेलाई कानुनी कारवाहीको घेरामा ल्याउने कुरा त अब धेरै टाढाको विषय भइसकेको छ । भाइको हत्याबाट परिवार र यस क्षेत्रका न्यायप्रेमी जनसमुदायलाई जेजति क्षति पुगे पनि अब हामी त्यस प्रकारको वातावरण मुलुकमा फेरि नदोहोरियोस् भन्नेमा सचेत छौं । अब फेरि कसैलाई पनि बुढेसकालमा पुत्र शोकको असैह्य पीडा भोग्न नपरोस् । कसैका श्रीमतीको सिउँदोको सिन्दुर नपुछियोस्, कसैका बालबच्चा टुहुरा नबनुन् । विगतको द्वन्द्व राज्य विरुद्ध जनताले गरेको हाकाहाकी विद्रोह थियो भन्नेमा हाम्रो परिवारमा एकमत छ । अब त्यस प्रकारको द्वन्द्व इतिहास भैसकेको छ । शान्ति, समृद्धि, सामाजिक न्याय र मेलमिलाप अहिलेको समयको माग हो भन्नेमा हामी दृढ छौँ ।
साहिँलो छोरो देशलाई चढाएँ
मानिसको जन्मपश्चात ढिलो वा छिटो मृत्यु सबैले स्विकार्न पर्ने सत्य हो । अल्पायुमै अकल्पनीय दुर्घटनामा पनि दिनहुँ सयौँ मानिसले अकाल मृत्युवरण गरिरहेका हुन्छन् । फगत सीमित अधिकार प्राप्तिको निम्ति मात्र नभएर सिंगो मुलुकको आमूल परिबवर्तनको निम्ति जानेर बुझेर कायर नबनी वीरता प्रदर्शन गर्नु र मृत्युलाई स्विकार्नु कुनै ठट्टाको विषय होइन । त्यसैलेत हाम्रो बुबा लालप्रसाद गौतमले ‘मेरो छोरो गलत बाटोमा हिंडेको रहेनछ, उ जनताको छोरो भैसकेको रहेछ । मेरा ६ भाइ छोरा थिए, एउटा साहिलो छोरो देशको छोरो भैसकेको रहेछ । मैले उसलाई देशको निमित्त चढाएँ’, पुत्रशोकमा चुर्लुम्म डुबेको समयमा छातीमा चह¥याइ रहेको घाउको पुरै बेबास्ता गरी हिन्दु धर्मका पण्डितको मुखारबिन्दबाट आफ्नो कोखीको सन्तानको तेह्रौं दिनको श्रद्धान्जली सभामा सार्वजनिक रुपमा उहाँले यी भनाइहरू व्यक्त गर्नुभएको थियो । यस्ता महान् सुपुत्रलाई जन्म दिने हाम्रा महान्् मातापितालाई म आजको यो पुण्यतिथिको दिनमा पुनः सादर प्रणामसहित स्मरण गर्न चाहन्छु । बाले द्वन्द्वात्मक भौतिकबाद बुझ्नु भएको थिएन । वर्ग संघर्षको इतिहास पनि पढ्नुभएको थिएन । धर्म अफिम हो भन्ने कुरामा उहाँको विश्वास थिएन । दैनिक पञ्चाङ्ग पूजा गर्ने, कर्म कान्ड गराउने, पूर्वजन्म र पुनर्जन्मको यावत सनातनी परम्पराको अनुयायी पण्डितको सोंचाईमा समेत भाइको सहादतले एकाएक आमूल परिवर्तन ल्याई दिएको थियो । सहिद भएको छोरालाई शैयादान गरेर र गरुड पुराण लगाएर उसको मूल्य र मान्यताको खिल्ली उडाउन हुँदैन भन्ने कुरामा उहाँ प्रस्ट हुनुहुन्थ्यो । त्यसैले उहाँले केही गराउनुभएन । त्यति मात्र होइन तत्पश्चात तथाकथित दानदातव्य आजा पूजा गराउँदा राजाको नाम लिएर गराइने जय जयकार समेत गराउन छाड्नुभयो । बा साँच्चिकै गणतन्त्रवादी बन्नुभयो ।
भाइ कृष्ण प्राथमिक तह देखिकै अध्ययनमा लगनशील, विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरूमा रिट्ठो नबिराई सहभागी हुने र प्रतिस्पर्धामा खरो उत्रने एक प्रतिभाशाली व्यक्तित्वको धनी थियो । भलिबल खेल्नमा अत्यन्त रुचि राख्ने उसको स्वभाव थियो । जिल्लास्तरीय अतिरिक्त क्रियाकलापहरू हाजिरीजवाफ, वादविवाद प्रतियोगीतामा उसले नेतृत्व गरेको टिमले प्रथम तथा द्वितीय स्थान प्राप्त गर्दथ्यो । यावत चिजहरूको नोट बनाउने उसको बानी घरका सबै सदस्यहरूलाई थाहा थियो । भलिबल खेलका टिमको नाम लेख्ने, कक्षामा सँगै पढ्ने सहपाठी तथा शिक्षकहरूको नाम लेख्ने, घरबाट कुस्मा जानुप¥यो भने बाटोमा खाएको चिया, नास्ता, होटल खर्च सबैको विवरण तयार गर्ने । धेरै डायरहीरू थिए, उसका । २०५२ सालबाट माओवादी पार्टीले ल्याउन लागेको नयाँ योजना हालसम्मको नेपालमा नसोचिएको हुने कुराको छनक दिन्थ्यो उसले । पार्टीको योजना के हो भनेर सोध्ने चलन थिएन त्यति बेला । कुनै नचिनेको नेताको नाम सोध्ने, कहाँसम्म जाने हो भनेर सोध्ने चलन पार्टी पद्दति बुझेको मान्छेले गर्न सुहाउँदैनथ्यो । कम्युनिस्ट पार्टीका प्रशिक्षणहरूमा सुरुमानै प्रशिक्षार्थीहरूलाई यी नियमहरूका बारेमा सचेत गराइन्थ्यो । प्रशिक्षण प्रायः रातको समयमा हुनेहुँदा घर भित्रको उज्यालो बाहिर नजावोस् भनेर झ्याल र प्वालहरु गुन्द्रीले छोपिन्थ्यो । पढेका किताबहरू जतनले लुकाएर राख्नुपथ्यो । नयाँ मान्छेको नाम जान्न यदि कोही अलि उत्सुक बन्यो भने उसलाई विशेष निगरानी हुन्थ्यो । बुटवलमा मशालका साथीहरूसँगको सम्पर्कको कारणले संगठनका गतिविधिहरूमा उसको सक्रियता बढेको थियो । भाइले बुटवल क्याम्पस सकेर फर्की सकेपछि मोटो मशालको नीति तथा कार्यक्रमलाई समर्थन गर्दथ्यो । उ जहाँ बस्यो त्यहीं पुलिस प्रशासन र संकटकाल, २०५८ पछि कथित संयुक्त सुरक्षा फौजले जतासुकै धावा बोल्न थाल्यो । घरमा बुढेसकालले अस्थिपञ्जर बनेका बाआमालाई समेत प्रहरी प्रशासन र संयुक्त सुरक्षा फौजका सिपाहीहरूले ‘तेरो छोरो कहाँ छ ?’ भनेर मानसिक तनाव दिन थाले । काठमाडौँँमा भएका तीन बोरा किताब र १ दर्जन जति डायरी प्लास्टिकले बेरेर खाल्डोमा पुरियो । कतै लुकाउने ठाउँ नभएपछि रातभरि लगाएर दुइ दाजुभाइले २ भारी जति सामना परिवारका क्यासेटका चक्का टिनको ड्रममा राखेर जलाईयो । सम्बन्धित ठाउँमा पु¥याउने भनेको पु¥याउन नपाउँदै बुझ्ने साथीलाई पुलिसले लगिसकेछ ।
करिब ५ वर्ष पछि हेर्दा गाडिएका खजाना जुन ऐतिहासिक मात्र नभएर उसको जीवनकालका इतिहास नै थिए, सबै माटो बनेछन् । घरको वरिपरि ड्रममा राखिएर पुरिएका सामान पनि पैह्रोले पु¥यो भन्ने सुनियो । यसरी कुनै चिज पनि सुरक्षित राख्न सकिएन । संकटकालको समयमा त आफन्तहरू पनि पराइ जस्तै भए । एक जना काङ्ग्रेस आफन्तकोमा लगेर राखिएका किताबहरू पनि केही दिन राखे पछि उनले फर्काइ दिए । ती डायरी र किताबहरू उनको घरमा राख्दा नराम्रो सपना देख्न थालेछन् । अनिस्ट हुने डरले तुरुन्त लिन आउनुस भनेर फोन गरे । काठमाडौँँको घरमा पनि २०५६ पछिनै मान्छेहरू आउन छाडे । घरमा आवत जावत गर्ने मान्छेहरूलाई पनि प्रहरीका गुप्तचरहरूले निकै निगरानी गर्न थाले । ट्युसन पढ्न आउने विद्यार्थीहरूलाई समेत सोधपुछ हुन थाल्यो । घरको अगाडि एकाबिहानै देखि सेना र प्रहरीका सुलसुलेहरू पर्लाकपुर्लुक गरिरहन्थे । तरकारी किन्न बाहिर जाँदा पनि उनीहरूसँगै पछि लाग्थे । बोलचाल हुँदैनथ्यो । पर्वतमा बस्ने र पेसा गर्ने वातावरण नभएपछि २०५६ मा कृष्ण पनि काठमाडौँँमा आएर बस्न पर्नेभयो । २०५८ सालमा माओवादी पार्टीको सरकारसँग भएको वार्ता भंग भएपछिका दिनहरू निकै कस्टकर भए । अब यहाँ पनि जोगिन सकिने अवस्था रहेन त्यसैले म हट्टिया नै जान्छु पनि उसले नभनेको होइन । पछि फेरि अंग्रेजी विषय लिएर मास्टर पढ्ने भनेर कलेज भर्ना भयो । सुरक्षाको कारणले परिस्थिति अलि जटिल भएकोले हामीले पनि उसलार्ई अध्ययन जारी राख्ने नै सल्लाह दियौँ । अफसोंच त्यो पुरा हुन भने सकेन । आमा घरमा निकै बिमारी हुनुहुन्थ्यो । २०५९ सालको अन्त्यतिर आमाको अवस्था अलि गम्भीर भएको हुँदा जे पर्ला भनेर ऊ गाउँ फर्केको केही महिना पछि आमाको देहावसान भयो । तेह्रौं दिनको काम सकिए पछि हामीले उसलाई अनौपचारिक रुपमा बिदा गरेर जन सेनाहरूको साथ लगाएर पठायौं । तत्कालीन समयमा भाइ कृष्ण नेकपा (माओवादी) पर्वत जिल्ला समितिको सचिवालय सदस्य र जन अदालत पर्वत, बाग्लुङ र स्याङ्जाको न्यायाधीशको जिम्मेवारीमा थियो भन्ने हामीले सुनेको हो । त्यसपछिका धेरै घटनाक्रमहरू हामीलाई थाहा भएन । हामी काठमाडौँँ फर्के पछि २ पटक जति ऊसँग मेरो कुरा भयो । पोखराको घोरेपानी भन्ने ठाउँबाट एक पटक भाउजूसँग कुरा भएको रहेछ ।
मानव बधशालामा कृष्णको खोजी
२०६० सालको सुरुमा सरकार र माओवादी पार्टीबीच तेस्रो चरणको वार्ता हुँदा दिनानाथ शर्मा सामाखुसीको हाम्रो घरमा आउनुभयो । उहाँ आएको केही समय पछि त्यहाँ पत्रकारहरूको भीड जम्मा भयो । अन्तर्वार्ता लिन पत्रकारहरूको लाईन नै लाग्यो । मैले घर बाहिर हेर्दा झन्डै दर्जनको संख्यामा कहिल्यै नदेखेका सी.आइ.डी जस्ता मान्छेहरू घरतर्फ हेरेर नियाली रहेका थिए । बेलुकी पख एउटा गाडी लिन गयो । दिनानाथ त्यसैमा जानुभयो । भोलिपल्टदेखि ती नचिनेका मान्छेहरू स्कुल कलेजसम्म नै अघि पछि गर्न थाले । लाग्न थाल्यो कि अब कुनै दिन जे पनि हुन सक्छ । नभन्दै २०६० सालको असोज १२ गते मलाई पनि रातीको १० बजे घर बाटै गिरफ्तार गरे । मानव वधशाला भनेर चिनिने भैरवनाथ गणमा लगेछन् करिब ३ महिना पछि बल्ल थाहा भयो । कहाँ लगे पत्तो हुने कुरा भएन । अनुहारमा कालोपट्टीले कसिएको थियो । मलाई त्यहाँ लागेको झन्डै १२ घण्टा जति पछि केरकार सुरु गरियो । मलाई बारीको कुनामा राखिएको थियो । अलि माथि माटोको ढिस्कोमा हुनुपर्छ ३–४ जनाले केरकार सुरु गरे । मलार्ई कतै पनि टाउको नघुमाउने आदेश थियो । केरकारको सुरुमै कृष्ण गौतमलाई सोधे । मेरो भाइ हो भनें । कहाँ छ ? अर्काेले सोध्यो । गाउँमा पढाउँछ मेरो जवाफ । त्यो माओवादी हो ? फेरि अर्काेले सोध्यो । थाहा छैन, भेट नभएको धेरै भयो । मैले जवाफ दिएँ । यसरी प्रश्न सोध्ने र जवाफ दिने क्रम करिब १० मिनट जति चल्यो । फेरि प्रसङ्ग मोडेर मास्टर साप गाउँ गएर चुनाव लडेको माओवादीबाटै हैन र भन्यो एउटाले । म राष्ट्रिय जनमोर्चा (मसाल) बाट २०४८ सालमा हो भनेर जवाफ दिएँ । सोध्ने मान्छेले फलेवास, कुर्घा, लुन्खु देउरालीको वरिपरिका केही नाम चलेका पुर्व पंचहरूको नाम सोधेर चिनजान छ भनेर सोध्यो, मैले उनीहरू के गर्छन् थाहा छैन, मैले चिन्छु भनेँ । तपाईको भाइले स्कुल छाडेर बन्दुक बोकेको कुरा किन ढाँट्नु हुन्छ भन्यो । मैले मलाई थाहा छैन भने । दाह्रिपालेको पातलो ढाका टोपी लगाउने मान्छे तपाईको भाइलाई म चिन्छु भन्यो । अनुमान गरेँ यो मान्छे शाही सेनामा काम गर्ने लेफ्टिनेन्ट वा क्याप्टेन सरहको पर्वत लुंखुतिरको हुनुपर्छ जस्तो लाग्यो । ल मास्टर साप तपाईले भाइलाई कुनै उपायबाट काठमाडौँँ बोलाउनुहुन्छ भने तपार्इंँ यहाँबाट जीवितै बाहिर पठाउँछौं, हैन भने यसै भन्न सकिन्न, कडा स्वरमा अर्काे अलि परबाट बोल्यो । बाबुराम, दिनानाथ र देवेन्द्र पौडेलको सम्पर्क तपार्इंंलाई थाहा छ, भन्नुस, ल कागजमा लेख्नुस । अस्ति भर्खर तपार्इंंको घरमा पत्रकार सम्मेलन गरेको हैन दिनानाथले ? अझ था छैन भन्ने ? म बोलिन । त्यसपछि एक पटक ड्रमको चिसो पानीमा चोपलेर लतार्दै पिसाबको खाल्डो (पोखरी) मा धकेल्यो । त्यसपछिको कुरा के के भयो थाहा भएन ।
आफ्नै परिवारको सदस्यसँग अब भेट हुँदैन भन्ने थाहा हुँदा त्यो भन्दा ठूलो बज्रपात अरु केही हुँदैन भन्ने मलार्ई लाग्छ । यो भावना भन्दा ठूलो पक्ष महान् सहिद हुँदैन । भावनाले सहिद भन्ने शब्दलार्ई खर्लप्पै निल्दो रहेछ । अनि सम्हालिइसकेपछि बल्ल अरु कुराहरु आउँदा रहेछन् ।
तीन महिना पछि मङ्सीर महिनाको ११ गते एका बिहानै एक जना आर्मीको स्वास्थ्य क्षेत्रमा काम गर्ने मान्छे आयो । मन तातो पानी टाउकोबाट खान्यायो र रगतले शरीरमा टाँसिएको भेस्ट छाला उप्काए जस्तो गर्दै काट्दै गर्न थाल्यो । त्यसै रात कस्टडिमा भएका सबैलाई राती १२ बजेदेखि एउटै डोरीले बाँधेर लगातार ३ घण्टा १० जना जतिले कुटे । बिहान पख धेरै नराम्रो दुस्वप्न देखेँ, कृष्णलाई बाँधेर आर्मीले रुखमा झुन्ड्याउने तयारी गर्दै थियो ।
राजनीतिक चेतना घरबाटै
२०३६ सालदेखि २०६१ सालसम्म झन्डै २५ वर्ष हाम्रो परिवारलाई एक वा अर्को रुपमा कहीले मन्द गतिमा त कहीले तीव्र गतिमा राज्य, पुलिस, प्रशासनले आँखा गाडी रह्यो । २०३६ सालमा निर्मल जनसेवा मा वि त्रिवेणीमा कक्षा ८ मा म भर्ना भए लगत्तै पाकिस्तानका सैनिक तानाशाह जियाउल हकले निर्वाचित प्रम जुल्फिकर अलि भुट्टोलाई फाँसी दिए । प्रतिक्रिया स्वरुप नेपालमा पनि विद्यार्थी आन्दोलनले उग्र रुप लियो । त्रिवेणीमा पनि केही स्थानीय मागसँगै राष्ट्रिय आन्दोलनको समर्थन गर्ने घोषणा गरियो । पञ्चायति व्यवस्था र राजतन्त्रको खिलाफमा नारा जुलुस भए । राजाबाट जनमत संग्रहको घोषणा भयो । म लगायत केही साथीहरूलाई राजकाज मुद्धा लगाइयो । पुलिसले स्कुल घेरा हाल्यो । विज्ञान विषय पढाउने खेमबहादुर थापाले झ्यालबाट भाग्ने सल्लाह दिनुभयो । झन्डै २ महिना स्कुल जान सकिएन । दुई महिनामा ३ दिन भोकै तारे पहराको जंगल घुम्ने र राती सुटुक्क कसैको घर गएर बास मागेर सुतियो । चांैथो दिनमा बानीडाँडा केशबहादुर गुरुङले तातो तातो कोदोको रोटी ल्याई दिनुभयो । त्यो रोटी निकै मिठो थियो । त्यसपछि चित्रबहादुर केसीका भाइ टंक केसीले रातारात मलाई लिएर बाग्लुङतिर जानुभयो । केशबहादुर पछि टेकबहादुर आलेसँगै नेकपा मसालको सदस्य भएर पनि केही समय काम गर्नुभयो । घरमा बाले खाना खानुभन्दा पहिला ‘भूःपतय स्वाहा’ भनेर पृथ्वीको मालिक राजालाई चढाए पछि बल्ल भाग बस्नु हुन्थ्यो । मलाई बाले भात चढाउने राजाको नाउँमा राजकाज मुद्दा लगाएर सिडिओले पुर्जी काटे पछि माहिलो छोराले उपद्रो गर्ने भयो भनेर ठूलै खलबली मच्चियो । पछि सायद बाले काशिनाथ न्यौपानेलाई भनेर हुनुपर्छ त्यो मुद्दा खारेज गराउनुभयो भन्ने सुनियो । ९ कक्षा पढ्दा जय नारायण दाइका मामा राम प्रसाद भुसालसँग पुष्पलालले लेखेको ‘नयाँ जनवादी क्रान्ति’ भन्ने पुस्तक मागेर ल्याएँ । अर्काे एउटा किताब पनि थियो । त्यसमा कामरेडको अर्थ बाहिरी पानामै लेखिएको थियो । त्यसमा २०३६ सालको विद्यार्थी आन्दोलन, जनमत संग्रह, पञ्चायति निरंकुशताको विरुद्ध लेखिएका कुरा थिए । अनि जेबी टुहुरे लगायतका जनवादी गायकका गीतहरू । दुवै किताब मैले पढेर सिरानीमुनि राखेको थिएँ । खोजेँ भेटिएन । झन्डै १ महिनापछि फेरि फेला प¥यो । कृष्णले लगेर ती किताबहरू लुकाउँदै पढ्दै गरेको रहेछ भन्ने कुरो बुझ्न गाह्रो भएन । मलाई पनि उसले पढिदिए हुन्थ्यो भन्ने लागेको थियो । यसरी निरन्तर रुपमा मैले प्रगतिशील विचारधाराका किताबहरू घरमा ल्याई रहने र हरेक किताबहरू कृष्णले पढ्ने क्रम चलिरहन्थ्यो । ६ कक्षा पढ्दा देखिनै उसमा सामाज परिवर्तनका फिलिङ्गाहरूले गहिरोसँग मन मस्तिष्कलाई तताइसकेको थियो । हाइस्कुल पढ्न त्रिवेणीमा भर्ना भए पछि विद्यार्थी संगठनका गतिविधिहरूमा ऊ अग्रपङ्क्तिमा थियो ।
घरको आर्थिक स्थिति कमजोर थियो । २०४१ सालमा एस एल सी उत्र्तीण गरे पछि बाले उसलाई ‘अब पढाइ पुग्यो यहीं स्कुलमा पढाउने काम पाइएला नी, म तिलक सरलाई भन्छु’ भन्नुभयो । हामी दाजुभाइमध्ये एक जना क्याम्पस पढ्न जाने आन्तरिक समझदारी थियो । बालाई यो कुरा थाहा थिएन । उसले आफू पढ्न जाने इच्छा जनायो । बुटवल गएर क्याम्पस भर्ना भैसकेपछि भलुइमा सानीआमा हुनुहुन्थ्यो त्यहीं बसेर पढ्ने कुरा भयो । प्रमाणपत्र तहमा अंग्रेजी र म्याथ मेजर विषय लिएर परीक्षामा राम्रो नतिजा ल्यायो । मेजर अंग्रेजीमा सम्भवतः नेपालमै सबै भन्दा उच्च हुनुपर्छ ८४ नम्बर आएको थियो । अंग्रेजी व्याकरणमा उसको निकै गहन अध्ययन थियो । कहीं शंका लागेमा मैले धेरै पछिसम्म पनि उसलाई सोध्नुपथ्र्यो ।
सुत्ने कोठाको नाम नै मसाल कोठा
२०३६ सालको विद्यार्थी आन्दोलन पछि हाम्रो घरमा टाढाटाढाबाट कम्युनिस्ट पार्टीमा काम गर्ने मान्छेहरू आउन थाले । अखिलका नेताहरू पनि कम्युनिस्ट हुँदा रहेछन् भन्ने कुरा थाहा पाउन केही समय लाग्यो । उनीहरू आफूलाई चौंथो महाधिवेशनको लाईनको भन्ने गर्थे । हामीलाई स्कुलमा अखिल छैटौं भनेर सिकाइयो । चांैथो महाधिवेशन भनेको मसाल रहेछ । पार्टीको इतिहास पढ्दा चौँथो महाधिवेशनको नेतृत्वमा मोहन बिक्रम, निर्मल लामाहरू रहेछन् । निर्मल लामासँग छुट्टीएपछि मोहन विक्रमले छुट्टै पार्टी मसाल बनाएछन् । अनि मसालको बारेमा रातभरि छलफल हुन्थ्यो नेताहरू आएको बेलामा । त्यसपछि त पार्टीका पाहुनाहरू सुत्ने कोठाको नाम नै ‘मसाल कोठा’क हुन थाल्यो । घरमा केही खोज्दा भेट्टीएन भने आमाले मसाल कोठामा छ कि भन्नु हुन्थ्यो । अहिलेसम्म मसाल कोठाको कुरा गाउँमा पनि सबैलाई थाहा छ । यो विचारको ‘बिम्ब’ रहेको मसाल कोठाबाटै भाइ कृष्णले पनि दीक्षा प्राप्त ग¥यो, त्यही कोठाका कुनाकानी तिर छरिएका रातो लालटिन, लुसुनका कथाहरू, म्याक्सिम गोर्कीको आमा, माओका चुनिएका रचनाहरू र यस्तै चिनिया सांस्कृतिक क्रान्तिका सन्दर्भ सामग्रीहरूले उसको मन मस्तिष्कमा डेरा जमाउन थाले । उसलाई भूपी शेरचनको कविता ‘बन्दैन देश दुई चार सपूत मरेर नगए’ भन्ने पाठ सिकायो । त्यही मसाल कोठाले उसलाई महान् सहिदको श्रेणीमा विराजमान बनायो । अहिले मसाल कोठामा मुसाले घर जमाएको छ । सायद मुसाले त्यहीँ घरजम गरेर परिवार बसाएपछि मुसाका बच्चाहरू जन्मिने छन् । त्यहाँ जन्मिनेहरूले भोलि हाम्रो अर्ती उपदेश र शान्तिको मन्त्र पालन गरेनन भने तिनीहरूले ठुलै विद्रोहको तयारी गर्नेछन् । आशा गरौँ, त्यस्तो नहोस् ।
हामी दाजुभाइको सम्बन्ध
उमेरमा समानता नभए पनि हामी बीचमा हरेक व्यवहार र कुराकानी साथीभाइ सरह हुनेगथ्र्यो । हामीसँगै हिँड्दा उसले मलाई कि अँगालो मार्नुपर्ने कि हात समाउने बानी थियो । मलाई भने त्यस्तो नगरे हुन्थ्यो जस्तो लाग्थ्यो । हामी सानो छँदा चेलपार्क मसी र फ्लेम कलमको बारेमा चर्काे झगडा हुन्थ्यो । दुई जनाले एउटै भाँडोमा भर्ने गरी किनेर ल्याइन्थ्यो । मैले एक पटक मसी भर्दा उसले ३ पटक भर्ने । धेरै लेख्नुपर्ने उसलाई । कविता, कथा, नाटक, नोट भए भरिका सबै कुरा उसलाई लेख्नुपथ्र्यो । वालिङ जाँदा बाले खर्च गर्न दिएको पैसाको फेहरिस्त विवरण पनि त्यही चेलपार्क नाम गरेको मसीले लेख्न थाले पछि मलाई त्यो कुरा मन परेन । २५ पैसाको केही किनेको देखि डुम्रे भन्ज्याङ्गमा चना खाएकोसम्म विवरण उसले बालाई लिखित बुझाउँथ्यो । त्यो मसी जति बेला पायो उति बेलै किन्ने चलन थिएन । जाँचको बेलामा किन्नै पथ्र्यो । मसीमा विवाद हुन थालेपछि उसले मैले देख्ने गरी लेख्नै छाड्यो केही समय । होमवोर्क बाहेक चेलपार्क मसीले अरु कुरा लेख्न हुन्न भन्ने मेरो मान्यतासँग कहिल्यै सहमत भएन । हरेक किताबमा गातो राख्नुपर्ने उसको बानी थियो । आफ्नो दिमागले सोंचेको कुरा उसले जसरी पनि गरेरै छाड्ने बानी थियो । एक दिनको कुरा हो सायद ऊ ६ कक्षामा पढ्थ्यो जस्तो लाग्छ । पुषको महिना थियो । आँगनमा बोडीका झाल र खेतबाट काटेर ल्याएको भटमास सुकाइएका थिए । घरको छानामा पनि सुकाउने चलन थियो । भटमास झार्न भनेर ऊ छानामा गयो । भटमास झारी सकेपछि उसको दिमागमा अब त्यही छानाबाट झारेको भटमासको थुप्रोमा हाम फाल्ने सोंचाइ आएछ ।
‘म यहीँबाट हामफाल्छु’ भन्यो । बाले त्यसो नगर खुट्टा भाँच्न मन छ भनेर हप्काउनु भयो । मलाई यसले सक्दैन होला भन्ने लागेको थियो । एकै छिनमा उ आँगनमा हाम फाल्यो । असहज तरिकाले उठ्यो । केही समयमा हात सुनियो । कुहिनामा सानो घाउ देखियो । उसले केही पनि भएको छैन भनेर अन्तै लाग्यो । भोलिपल्ट हात चलाउन नसक्ने अवस्था आयो । नजिकको आयुर्वेद अस्पतालमा देखाएको हात भाँचिएको रहेछ । बाले पाल्पा लिएर जानुभयो । भाँचिएको हातमा प्लास्टर गरेर लिएर आउनु भयो । तर हात पहिलेको अवस्थामा फर्किएन । खाना खाँदा र हात माथि लैजाँदा उसलाई अलि अप्ठ्यारो हुन्थ्यो ।
बुटवल क्याम्पसमा अध्ययन गरेर फर्की सकेपछि उसका २–३ वटा डायरहीरू थिए । ती डायरहीरूमा पनि गाता राखिएका थिए । गाताको भित्री भागमा ५÷१० का नोठहरू मसिनो गरि पट्याएर राख्ने र विशेष परिस्थितिमा सुटुक्क निकाल्ने गरेको कुरा पछि भाइहरूले पनि चाल पाएछन् । डायरीमा व्यक्तिगत लेनदेनदेखि सभा सम्मेलन, गोष्ठी, पिकनिक, सांस्कृतिक कार्यक्रम, राजनीतिक प्रशिक्षण, माओका राजनीतिक कोटेसन, माक्र्सवादका आधारभूत कुराहरू आदि बारे बाक्लै कुराहरू हुन्थे । मैले एक दिन उसलाई राजनीतिक र व्यक्तिगत कुरा लेख्न छुट्टाछुट्टै डायरी बनाउनुपर्छ भनेँ । त्यसपछि उसले फेरि २ वोटा नयाँ डायरी किनेर ल्याएको थाहा पाएँ २०४४ सालतिरको कुरा हो ।
उसको र मेरो बिचमा प्रायः जसो झगडा लुगाको बारेमा हुने गथ्र्याे । यस्तो अवस्था धेरै पछिसम्म नै रह्यो २०५९ सालसम्म । कुनै नयाँ लुगा मैले किनेर ल्याएको थाहा हुने बित्तिकै उसलाई त्यो लगाउनै पर्ने । उसको भन्दा मेरो खुट्टा सानो भएकोले जुत्ता भने उसले मेरो कहिल्यै लगाएको थाहा पाइन । जति बेला पनि पाल्पाली ढाका टोपीमा रमाउने बानी थियो उसको । धेरै पटक हामी आपसमा लडेका छाँै । तर जतिपटक लडे पनि मैले उसलाई कहिल्यै पछार्न सकिन । म भन्दा दुब्लो भए पनि निकै दह्रो थियो उसको शरीर । आधा रात ढल्की सक्दा पनि बाहिरबाट घरमा नआउने, खाना खान वास्ता नगर्ने गर्दा आमा निकै चिन्तित हुनुहुन्थ्यो । हामी बिचमा थुप्रै राजनीतिक तथा वैचारिक छलफल हुन्थ्यो । अध्ययन र तर्क शक्तिमा उसको प्रतिभा देख्दा कहीले काहीँ मनमनै मैले उसलाई स्याबासी दिन्थेँ । उमेरमा सानो भए पनि मनमनै मैले उसलाई गुरु मान्थेँ । बच्चादेखि बुढाबुढीसम्म सबैसँग मित्रता र आत्मियता गाँस्न सक्ने खुबी थियो, उसमा ।
ठिक यतिबेला मलाई एउटा घटनाको सम्झना भयो । काम विशेषले भाइ र उसका साथीहरू बालाकोट हुँदै होश्राङ्दी आइ पुगेछन । वर्षाको समय भएकोले ठूलो पानी परेछ । रातीको समय भएकोले अँध्यारोमा हिंड्न नसकेर एउटा घरमा बास माग्न पुगेछन् । ‘६ वर्षकी बालीका सिकिस्त बिमारी छ । घरमा लोग्ने मान्छे छैनन्, हामी बास दिन सक्दैनौं’ भन्ने जवाफ घरबेटी आमाको सुनेपछि उनीहरू निकै अप्ठ्यारोमा परेछन् । हामी बरु बास खोज्न अन्तै जान्छौँ तर बच्चालाई के बिमार रहेछ यसो हेर्न दिनुस्, भन्ने कृष्णको आग्रहलाई घरबेटी आमैले स्विकार्नु भएछ । पानी तताउन पठाएर, यसो फुकफाक गरी गायत्री मन्त्र बाचन गरेर बच्चालाई पानी पिउन दिएको १० मिनट पछि बच्ची हाँस्न सुरु गरिछन् । अनि हस बस्नुस हामी अब अन्तै बास खोज्न जान्छम् भनेपछि हैन हैन नजानुस भनेर बास बस्न दिएछन् । आमैले भात पनि पकाएर ख्वाउनुभएछ । २४ क्यारेटको सुन जस्तो खाँटी क्रान्तिकारीको नजरमा भने कृष्णले गरेको त्यो झारफुक एउटा ठूलो आडम्बर हुन सक्थ्यो तर जनतासँग कसरी गाँसिने भन्ने गुदी कुरो थाहा भएको मान्छेलाई भने यसो गर्नु पार्टी र जनसमुदाय दुवैको हितमा थियो भन्दा त्यति अतियुक्ति नहोला । राजनीतिक विचार नमिल्नेहरूसँग पनि भाइ कृष्णको राम्रो व्यक्तिगत सम्बन्ध हुन्थ्यो, संगत गर्नेहरूले धेरै जनाले त्यस्तो अनुभूति व्यक्त गर्नुहुन्छ । जनयुद्ध सुरु भै सकेपछि अन्य जिल्ला र गाउँबाट ठूलो संख्यामा मानिसहरू कोही सदरमुकाम त कोही राजधानीतर्फ सरेर बस्ने क्रम तीब्र भएको थियो । पर्वत र अझ विशेष गरेर दक्षिण पर्वतमा त्यस्तो अवस्था आएन भन्ने मलाई लाग्छ । कोही सुराकीको आरोपमा त कोही बहुविवाह, जुवातास, आर्थिक अपचलन वा यस्तै विविध गतिविधि विरुद्ध माओवादी पार्टीले अभियान चलाएको थियो । कतिपय व्यक्ति तथा शक्तिहरू जनयुद्ध बिरुद्ध अनेक अफवाह फैलाउन माहिर थिए । प्रचण्ड भनेको राजा ज्ञानेन्द्र हो भन्ने सम्मको केही मानिसहरूको बुझाइ थियो । यस्तो अवस्थामा पनि दक्षिण पर्वतमा कसैले आफूलाई असुरक्षित महसुस गरी घर छाडेर हिंड्नु परेन । यस सन्दर्भमा धेरैले कृष्ण गौतमको व्यवहारिक कुशलताले सम्भव भएको हो भन्नेहरूको ठूलो संख्या छ । मेरो यो भनाइमा कसैको असहमति पनि हुन सक्ला तर यो सत्य हो ।
कृष्णले २०४४ सालमा जनसेवा संस्कृत मा.वि.मा शिक्षण पेसा सुरु गरेपछि भाइहरूको पढाइमा पनि धेरै नै बल पुग्यो । भान्जा रामुलाई पनि पढाइमा अलि राम्रो बनाउनुप¥र्याे भन्ने सल्लाह भएपछि हटियामा नै ल्याएर भर्ना गरियो । घरमै अंग्रेजी, गणित विषय भाइहरू र भान्जालाई उसले पढाउन थालेपछि उनीहरूको अध्ययनमा निकै राम्रो प्रगति भयो र एसएलसीको परीक्षामा सबैले राम्रो श्रेणीमा उत्तीर्ण गरे । दाइको परिवारको बसोबासको निम्ति प्रगति नगरमा व्यवस्थापन गराउनेमा कृष्णको प्रमुख भूमिका रह्यो । घर पायकको जागिर भएकोले बालाई पनि घरायसी व्यवहार मिलाउन सजिलो भएको थियो । तलब बुझ्ने दिनमा बा सुरुमै स्कुल गएर तलब बुझ्नुहुन्थ्यो । कृष्णको काम पछि बुझेकोमा सही छाप गर्ने मात्र हुन्थ्यो । ट्युशन पढाएर आउने धेरथोर पैसाले उसको आफ्नो गर्जाे टथ्र्याे होला ।
मलार्ई एउटा कुराको सम्झना छ । म मोहन विक्रमको मसालसँग आबद्ध थिएँ । काठमाडौँँ गल्कोपाखामा हाम्रो कोठा थियो । २०५४ सालमा हुनुपर्छ भाइ कृष्णले आमा बिमारी भएर काठमाडौँँ लिएर उपचारको निम्ति गएको बेलामा मसालका केन्द्रीयस्तरका एक जना नेतासँग हाम्रो कोठामा भेट भयो । राजनीतिक बहस पनि गरे दुबै जनाले । त्यसको केही दिन पछि तपार्इंको भाइ माओवादी भएको र तपार्इंहरूसँगै बस्ने भएकोले अब पार्टीले तपार्इंंसँग सम्पर्क नगर्ने भन्ने निर्णय भएको छ भनेर सुनाए । ‘कुचाले गर्ने काम हावाले ग¥र्यो’ भन्ने लाग्यो मलाई । त्यस कुराको कुनै चिन्ता लागेन । त्यसपछिनै मसालसँगको मेरो सम्पर्क टुट्यो ।
आमालाई बोकेर कृष्णभीरको पहिरोमा
आम नेपालीका दाजुभाइ जस्तै हामी दाजुभाइको सम्बन्ध पनि कहीले कुकुर बिरालो जस्तो झगडा गर्ने र छिनभरमै परेवाको जोडी जस्तै मिल्ने खालको थियो । सबै दाजुभाइसँगै भएको बेलामा हामीले धेरै रातहरू नसुतीकनै एकले अर्काेलाई उडाउने जस्ता हाँसो मज्जा गरेर बिताइन्थ्यो । हामी रातभरि हाँसेको चर्चा भोलिपल्ट छिमेकमा हुने गथ्र्याे ।
हामी घाँस काट्न सँगै खोलापारी खरबारीमा जान्थ्यौँ । जब राती हुन्थ्यो घरमा जाने कुरामा झगडा हुन्थ्यो । घाँसको भारी टम्म नपारेसम्म घरमा नजाने उसको अडानको अगाडि मेरो केही चल्दैनथ्यो । हरेक काम गर्न सुरु गरे पछि प्रतिकुल अवस्थामा पनि त्यसलाई फत्ते गर्नु पर्ने उसको अडान मलाई भने अली झर्काे लाग्थ्यो । रातिमा पढ्न सुरु गरेपछि बत्ति ननिभाइकन छर्लङै बिहानसम्म पढ्ने, कविता लेख्न सुरु गरेपछि पुरै डायरी सक्नुपर्ने, लेनदेन, हिसाब किताब ५ पैसा पनि रिट्ठो नबिराइ डायरिमा टिप्ने, किनमेल गर्दा र गरिसकेपछि सबै चिजको फेहरिस्त तयार गरेर राख्ने उसको बानी थियो । भारी बोक्नुप¥यो भने उठ्नै नसक्ने गरी बोक्ने, धाराबाट पानी बोक्दा २ वटा गाग्रीमा एकैचोटि पानी ल्याउनु पर्ने स्वभाव थियो, भाइ कृष्णको । सायद २०५७ सालको कुरा हुनुपर्छ, आमा सिकिस्त बिमारी हुनुभयो । कृष्णले आमालाई लिएर काठमाडौँँ आउने क्रममा कृष्णभीरको पहिरामा सबै गाडीहरू रोकिए । काठमाडौँँ आउन सकिने कुरा भएन । आमालाई फर्काएर उसले तराई लिएर ग¥यो । आमाको अवस्था झन खराब भयो । गाडी चलेनन् । अब आमालाई बोकेर भए पनि ल्याउने भन्ने सल्लाह भएपछि म मुग्लिनसम्म पुगेँ । कृष्णभीरको पहिरोमा निरन्तर ढुंगा खसेका थिए, निकै जोखिम थियो पहिरो काट्न । आमालाई निरन्तर ब्लिडिङ भैरहेको थियो । मैले बोक्न खोजेँ तर उसले अलि पत्याएन । खै म बोक्छु भनेर आमालाई उसले बोक्यो मैले झोला बोक्दै माथिका ढुंगा हेर्दै पछि पछि लागेँ । कहीँ घुँडा भन्दा पनि माथि हिलोले पुरिने, कहीँ बीच बीचमा ढुंगा छल्न रोकिने गर्दै २५ मिनट जतिमा आमालाई पैह्रो कटायौँ । युद्ध जिते जस्तो भयो । जहाँ बढी जोखिम छ त्यहाँ जे काम गर्न पनि अगाडि सर्ने उसको स्वभाव थियो ।
हाम्रो परिवार बाहिरबाट हेर्दा निकै सुन्दर थियो । परम्परागत समाजमा छोरा हुनेहरूलाई मानिसहरू भाग्यमानी सम्झन्थे । छोरालाई सम्पत्ति सम्झनु पितृसत्तात्मक सामाजिक संरचनाको प्रमुख विशेषता पनि हो । छोरीलाई १०–१२ वर्षकै उमेरमा विवाह गरेर पन्छाउने र छोरालाई वेद चण्डी पढाउने संस्कारमा जन्मेर बाँचेका हामी ६ भाइकी एक दिदी छन् । उनको सानैमा विवाह भयो । जन्मेका सबै बाँचेका भए हामी अहिले १६ जना हुन्थौँ । यो आश्चर्यजनक हो । बिरलै हुन्छ होला यस्तो । आमा १६ पटक सुत्केरी हुनुभएछ । बा पण्डित हुनुहुन्थ्यो । आमाको भनाइलाई आधार मान्ने हो भने बिरलै मात्र आमा सुत्केरी हुने दिनमा बा घरमा बस्नुभयो । तर जहाँ गएको भए पनि ११ औं दिनमा न्वारन गर्नुपर्ने भएकोले टुप्लुक्क आइपुग्नु हुन्थ्यो रे । घरको सरसफाइ गर्ने, लिपपोत गर्ने, ढिकीमा धान कुट्ने, जाँतोमा पिस्ने, ताउलोमा खरानी राखेर लुगा पकाउने र खोलामा लगेर धुने सबै काम आमाले गर्नुपर्ने हुँदा त्यो काम हामीले नगरी सुख्खै थिएन । यी यावत कामहरूमा बुहारीले गर्ने भन्दा परिपक्व ढङ्गबाट काम गर्ने र अरुलाई पनि यसरी गर्नुपर्छ भनेर गाइड गर्ने काम भाइ कृष्णले गर्दथ्यो । घरको काम मिहिन पाराले गर्ने मान्छेले राजनीति ग¥र्याे भने त्यसले आम सर्वसाधारणको मर्म बुझेर व्यवहारिक राजनीति गर्दाे रहेछ भन्ने एउटा गतिलो उदाहरण पनि हो, कृष्ण । घरायसी झैँझगडा मिलाउने देखि संगठनमा आई पर्ने विवादहरूको मध्यस्थता गर्नेमा उसको प्रमुख भूमिका हुन्थ्यो ।
गुण्डासँग आम्नेसाम्ने
२०४८ सालको कुरा हो । काठमाडौँँ रानीपोखरी शिक्षा क्याम्पसमा बेलुकी डा. मनप्रसाद वाग्लेको शिक्षाको क्लासमा हामी दाजुभाइसँगै थियौँ । म एक वर्षे बिएडको विद्यार्थी थिएँ । कृष्ण बा बिरामी भएर उपचारको निम्ति काठमाडौँँ गएको बेला थियो । ‘वाग्ले सरको क्लासमा बस्न जाने ?’ भनेर मैले सोध्ने बित्तिकै ‘जान्छु’ भनेको हुँदा लिएर गएँ । क्लास सकेर असनको बाटो फर्किदै थियौँ । भीड थियो । मलार्ई उसले अँगालो मार्दै वाग्लेको क्लास राम्रो रैछ भन्ने गफ गर्दै थियो । अकस्मात मेरो अगाडि हिँडिरहेको एकजना भुसतिघ्रेले मलार्ई खुट्टाले किक हान्यो । म लडें । किताबहरु बाटोमा छरिए । कृष्णले त्यो मान्छे खोज्न थाल्यो । ५ मिनेट म थचक्क त्यही बसेँ । कृष्णले त्यो भागी सकेछ मनेर फर्कियो अनि वीर अस्पताल जाम भन्ने कुरा आयो । म हिडेर जान सकिन । घुँडामा हानेको रहेछ । कृष्णले मलार्ई जुरुक्क बोकेर रफ्तारमा अस्पताल लग्यो । तत्काल इमर्जेन्सीमा भर्ना भई एक्सरे गर्दा हात भाँचिएको र सामान्य प्लास्टरले नहुने अप्रेसन गर्नुपर्ने कुरा डाक्टरले जानकारी दिए । कृष्णले भाउजूलार्ई खबर गर्न डेरामा गई उतैबाट आफू पुलिस चौकी पुगेछ ।
चौकीमा लेमप्रसाद सेन भेट हुनुभएछ । पुलिसले आफ्नै गाडीमा राखी गुण्डा खोज्न असन, इन्द्रचोक, क्षेत्रपाटी डुलाएछ । मेरो हेरचाह गर्न श्रीमती आइन् । रातीको २ बजे पुलिसले इन्द्रचोकबाट आधा कान नभएको एउटा भुसतिघ्रेलार्ई समाएछ र भोलि १० बजे विशाल बजारको चौकीमा आउनु भनेछ । कृष्ण, मेरी श्रीमती र म भएर तीनै जना १० बजे चौकी पुग्यौँ । गोरादी लेमप्रसाद सेन त्यही कार्यरत भएकोले उहाँले गुण्डालार्ई राम्रो मर्मत गर्नुभएछ । हामीलार्ई नचिनेको मान्छेले अप्रत्यासित रुपमा दुःख दियो । पुलिस चौकीमा कृष्णले गुण्डालार्ई नियन्त्रण गर्न नसकेको भनेर इन्स्पेक्टरलार्ई लामै बिफ्रिङ दिँदा उनी भने अवाक उभिइरहेका थिए ।
घरमा नमूना समाजवाद
कट्टर हिन्दु ब्राह्मणको घर भए पनि हाम्रो घरमा नमुना समाजबाद थियो । २०३६ र ३७ साल देखि नै हुनुपर्छ हामीले आफूले खाएको थाल आँफै माझ्ने चलन चलायाँै । यसले गर्दा आमालाई केही हल्का भयो । घरमा काम गर्ने हली र हामीले एउटै भाँडोमा पकाएको खानु पर्छ भन्ने मान्यतालाई अगाडि बढायाँै । देवरले भाउजूलार्ई नमस्कार गर्नुपर्ने, सासु–ससुरा, बुहारीहरु पनि सँगै बसेर खान पाइने, ढोग गर्दा पैसा चढाउनु नपर्ने सामाजिक सुधारका पाइला हाम्रै घरमा चलाईयो । म आफू विद्यार्थी राजनीतिमा संलग्न भएदेखि घरमा साथीहरूदेखि कम्युनिस्ट पार्टीका नेतृत्व तहका मान्छेहरूसम्म आउने बस्ने चलन चल्यो । यसरी पाहुनाहरू आउँदा आमालाई चित्त बुझाउन गाह्रो पथ्र्याे । हामीले मिठो मसिनो पकाएर खुवाउनु पर्दैन मकै भुटेर दिँदा पनि हुन्छ भन्दा आमाले सुरुमा अलि पत्याउनु भएन । एक पटक क. टिकाराम लेकाली (पर्वत) आउनु भएको थियो । हामीले मकै भुटेर दियौँ । आमाले जिब्रो टोकेर आश्चर्य प्रकट गर्नुभयो । यस्ता दर्जनौँ पाहुना आउँदा जुठो भाँडा आँफै माझ्नु हुन्थ्यो । कतिपय साथीहरू त बिहानै उठेर भैसीको गोबरसमेत फाल्नु हुन्थ्यो । एकपटक कृष्ण राती बाह्र बजे बाहिरबाट आएको रहेछ । आमाले भाँडा माझ्दै गरेको देखे पछि आमालाई जुरुक्क उठाएर सिरानको आँटीको भकारीमा लगेर राखेछ । अनि आफूले भाँडा माझेर सकेपछि आमालाई फेरि बाहिर निकालेर सुत्न पठाएछ ।
कुनै पनि काम सुरु गरेपछि त्यसलाई सत्प्रतिशत नै पुरा गरेरै छाड्नु पर्ने उसको बाल्यकाल देखिको स्वभाव जीवनको अन्तिम घडीसम्म पनि जस्ताको तस्तै रह्यो । दुश्मनको कब्जामा परेपछि पनि आफ्नो आस्थामा अडिग रहेको र गोपनीयता भङ्ग गरेर गद्दारी गर्नुभन्दा मृत्युलाई रोजेको कुरा प्रत्यक्षदर्शीहरू बताउँछन । सुने अनुसार हातहतियार र माथिल्लो तहका नेतृत्वका केही मान्छेहरूको विवरण उपलब्ध गराएको खण्डमा उसलाई केही पनि नगर्ने सर्त राखिएको थियो । उसले ती सर्तहरू पुरै अस्विकार गरेर जनयुद्ध जिन्दावाद, माओवाद जिन्दावाद ! भने पछि केही गाउँले महिलाहरूको अगाडि नै उसको छातीमा गोली दागिएको थियो ।
उच्च बौद्धिक क्षमता, सर्वसाधारणसँग गरिने व्यवहारमा अत्यन्त लोकप्रिय, आफ्नो सिद्धान्त र लक्ष्यप्रति अविचलित कृष्ण गौतम सम्बन्धले हाम्रो भाइ छोरा भए पनि एउटा कुशल नेतृत्वमा हुनुपर्ने गुणहरूले परिपक्क भएको कुरा संगत गर्नेहरू स्विकार्छन् । माओवादी जनयुद्धको बेला कुनै समय यस्तो पनि थियो कि पार्टीमा यान्त्रिक सोंचाइ हावी भएका भौतिकवादी होलटाइमर कार्यकर्ताले पेसागत बुद्धिजीवीहरूलाई बुर्जुवा वा पेटी बुर्जुवा जस्तै देख्ने गुनासो यत्रतत्र थियो । कतै पार्टी भित्र पनि आन्तरिक रुपमा शिक्षकहरू अलि प्रतिभावान हुने हुँदा पार्टीले अलि छिटो विशेष जिम्मेवारी दिँदा असन्तुष्टी थियो कि भनेर गाउँमा खासखुस कुरा गरेको पनि सुनियो । यस्तो थिएन होला भन्नेमा हामी विश्वस्त छौँ । आम सर्वसाधारणको नजिकको सम्बन्ध भने तिनै पेटी बुर्जुवा भनिनेहरूसँग बढी थियो । गाउँमा शिक्षक सबै कुरा हो । ऊ ऋण दाता हो, सल्लाहकार हो, जन्ती हो, मलामी हो र हलीबाउसे सबै हो । यसप्रकार बहुआयामीक क्षमता र गुण भएका शिक्षकहरूले गाउँमा प्रत्यक्ष राजनीति गर्नु नै पर्दैनथ्यो । उसले गरेको शिक्षण विद्यार्थीले राम्रोसँग बुझ्यो भने त्यही दिन बेलुका घरमा गएर उसले कुरा गर्छ । भोलिपल्ट विद्यार्थीको अविभावक सर खोज्दै आउँछ । अझ त्यसमा पनि स्थानीय शिक्षकहरूको भूमिका त झनै महत्वपूर्ण हुन्छ । कृष्ण गौतम एउटा कुशल शिक्षक मात्र नभएर पैयँुँ हटियाको चम्किलो तारा नै थियो । हाम्रो परिवारमा परेको यस्तो अकल्पनीय परिघटनामा गाउँ छिमेक, शिक्षक, बुद्धिजीवी, दाजुभाइ, दिदीबहिनी, काकाकाकी, सम्बन्ध, कुल कुटुम्ब, साथी संगती सबै तिरबाट आफ्नै परिवारको सम्बन्ध गुमे जस्तो चिन्ता र शोक व्यक्त भयो । सहादत हुनुभन्दा ३ दिन अगाडि भाइले चप्पल किन्ने पैसा छैन भनेर घरमा कुरा गरेको घटनाले पनि हामीलाई अझै सताई रहन्छ । जुन सपना र लक्ष्यमा बफादार भएर भाइले आफ्नो प्राणपखेरु नेपाल आमाको काखमा चढायो, बाँचेका र राजनीतिमा सक्रिय जीबन बिताइ रहेकाहरूले पनि शोषित पिडीत र दम्भित जनताको मुक्तिको निम्ति यस्तै त्याग गर्न सक्ने हो भने मात्र सिर्सीकोटमा बगेको सहिदहरूको रगतले मुक्ति पाउने छ । भाइ कृष्णसँगै जीवन बलिदानी गर्ने महान्् सहिदहरू क कुबिजा, क खड्क, क बिजय र क मोहन प्रति अनन्त श्रद्धासुमन व्यक्त गर्दछु । मलाई पूर्वजन्म र पुनर्जन्ममा एकरति पनि विश्वास छैन । मैले विश्वास नगरेका क्रियाप्रतिक्रियाहरू पनि यो चराचर जगतमा भैरहेका हुन सक्छन् । साहिँला, यदि पुनर्जन्ममा फेरि सके एउटै घरमा त्यो पनि हुन सकेन भने कुनै माध्यमबाट हाम्रो भेट हुन सक्यो भने एउटा काम हामीले गर्नै पर्छ त्यो के भने त्यस दिन तिमीहरू गुरुङ गाउँमा बास बसेको र बिहान त्यहाँबाट हिंड्ने खबर सुरक्षा प्रशासनमा कसले जानकारी गरायो होला । यसको निक्र्याेल नगरी हुँदैन ।
मान्छेको मनभित्र रहेको भावना र राजनीतिक विचार वा वर्ग दृष्टिकोण यी २ चीजहरु यथार्थमा फरक हुन् । बाउले छोरा गुमाउँदा र पत्निले पति गुमाउँदा, त्यस्तै भाइले दाजु गुमाउँदा र दाजुले भाइ गुमाउँदा मन त्रबाट शब्दमा बयान गर्नै नसकिने ज्वारभाटा प्रकट हुँदो रहेछन् । आफ्नै परिवारको सदस्यसँग अब भेट हुँदैन भन्ने थाहा हुँदा त्यो भन्दा ठूलो बज्रपात अरु केही हुँदैन भन्ने मलार्ई लाग्छ । यो भावना भन्दा ठूलो पक्ष महान् सहिद हुँदैन । भावनाले सहिद भन्ने शब्दलार्ई खर्लप्पै निल्दो रहेछ । अनि सम्हालिइसकेपछि बल्ल अरु कुराहरु आउँदा रहेछन् । यो मेरो नीजि अनुभूति मात्र नभएर हाम्रो परिवारको सिङ्गो अभिव्यक्ति हो । परिवारको सदस्य गुमाइ सकेपछि राष्ट्रले के प्राप्ति ग¥यो भन्ने कुरा निकै महत्वको हुन्छ । कसैले जीवन बलिदानी गर्दा अवश्य पनि उसको जीवनकालमा केही लक्ष्य हुन्छन् नै । कृष्ण गौतमले सोंचेका सपनाहरुले आफ्नो सहादत पछिका १४ वर्षमा के कति मुर्तता प्राप्त गरे यो अहिलेको गम्भिर सोंचनीय विषय हो । राजनीतिमा सक्रियहरुले सहिद, बेपत्ता, घाइते, अपाङ्गहरुको सन्दर्भलार्ई कसरी आत्मसाथ गरेका छन्, यो अहिले सर्वत्र चासो र चिन्ताको विषय हो । सामाजिक न्यायसहितको समृद्धिको सपना गफ गर्ने माध्यम मात्र हुने हो भने त्यो प्राप्त गर्न सहादत प्राप्त गर्नेहरुलार्ई के जवाफ दिने ? सर्वसाधारण जनतामा व्यापक असन्तुष्टिको पहाड चुलिइरहँदा दुई तिहाई जनमत प्राप्त कम्युनिस्ट सरकार किन रक्षात्मक अवस्थामा छ ? यसको जवाफ कहाँबाट आउँछ ? घृणा, आक्रोश, लज्जा तथा बाध्यतालार्ई जीवन दर्शन बनाउनु पर्ने अवस्थाबाट अलि माथि उठाउने एजेण्डा कहिले आउँछन् र सहिद परिवारको घाउमा मलहम लाग्छ ? हामी त्यसको प्रतिक्षामा छौँ ।
तत्कालीन फाँसीवादी सरकारद्वारा पालित संयुक्त सुरक्षा फौजका हत्यारा जल्लादहरूले सिर्सीकोटमा निशस्त्र बसिरहेको बेलामा अन्य सहयोद्धाहरूसँगै कृष्णको ज्यान लिइसकेपछि आफ्नो प्राणको बाजी लगाएर मृत शरीरलाई परिवारको सामु ल्याइ पु¥याउन अमूल्य सहयोग गरिदिनु हुने आम जनसमुदायलाई हाम्रो परिवार हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछ ।
वि.सं.२०७७ मंसिर १७ बुधवार १३:५१ मा प्रकाशित






























