अजय खत्री, काठमाडौं । सन् १९५३ मा एडमन हिलारी र तेन्जिन नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेपश्चात नेपालमा विश्वको ध्यान केन्द्रित हुन थालेकोे थियो । त्यसयता सन् १९५८ बाट सुरुवात भएको शाही नेपाल वायुसेवा निगमको हवाई सेवाले पर्यटन क्षेत्रमा थप सहयोग पुगेको थियो । नेपालको पर्यटन क्षेत्रको विकासक्रमलाई हेर्दा सन् १९७२ मा ल्याईएको पर्यटन गुरुयोजनाको तर्जुमा जसले पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउन अर्को महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो ।
सन् १९५३ देखि गति लिन थालेको नेपाली पर्यटन क्षेत्रले हाल नेपालको आयस्रोत र अर्थतन्त्रमा महत्वपूर्ण स्थान लिदै आइरहेको छ । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको ८ प्रतिशत हाराहारीमा योगदान रहेको छ । नेपालमा सन् २०१९ मा मात्र १२ लाख हाराहारीमा विदेशी पर्यटक घुम्न आएको तथ्याङ्क छ । अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बन्दै आएको पर्यटन क्षेत्रको हालको अवस्था भने निकै नै दयनीय बनेको छ ।
नेपाल सरकाले सन् २०२० लाई ‘नेपाल भ्रमण बर्ष’ को रुपमा मनाउने र नेपालमा २० लाखको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । त्यसका लागि विविध कार्यक्रमहरु बनाई भव्य उद्घाटनसमेत गरियो । तर, नयाँ वर्षको सुरुवातमा नै कोरोना भाईरस (कोभिड–१९)ले महामारीको रुप लिन थालेपछि भने सरकारको महत्वकांक्षीा योजना सफल हुन पाएन । जसको असर हालसम्म नै कायम रहेको छ भने समग्र अर्थतन्त्र र पर्यटन क्षेत्रमा लागेका व्यवसायहरुको अवस्था दयनीय बन्दै गईरहेको छ ।
यसबिच सुरक्षा चुनौतिको बाबजुत बजार खुल्न थालेपनि कतिपय क्षेत्रभने अझै पनि कोरोनाको प्रभावबाट माथि उठ्न सकेका छैनन् । विगत चैतदेखि ठप्प बनेको पर्यटन क्षेत्र अझैपनि अन्योलको अवस्थामा छ । व्यवसाय संचालनमा ल्याउन नसक्दा कतिपय व्यवसायीहरु विस्थापित हुने क्रम बढेको छ । अब केहि समय यस्तै अवस्था रहिरहे अझै धेरै व्यवसायीहरु विस्थापित हुनसक्ने निष्कर्षका साथ सरकारले मंसिरको अन्त्यभित्र पर्यटन क्षेत्र खोल्ने आन्तरिक तयारी सुरु गरेको छ ।
मंसिरको अन्त्यसम्ममा पर्यटन क्षेत्र खुलाउने तयारी
सरकारले यसअघि मंसिरको दोस्रो सातादेखि आगमन भिसा खुल्ला गरि पर्यटन क्षेत्र खुल्न दिने योजना बनाए पनि महामारीको रुप बढ्ने संकेत देखेपछि सरकार पछि हटेको थियो । लामो समयको लकडाउने व्यवसायीमा पर्न गएको असरलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सुरक्षा मापदण्डको निर्माण गरि व्यवसाय संचालनमा ल्याउने तयारी थालेको छ । मंसिरको अन्त्य तिर आगमन भिसा खुल्ला गरि पर्यटन क्षेत्र खुलाउने तयारीमा सरकार लागि रहेको पर्यटन विभाग अन्तरगतको खोज, योजना तथा अनुगमन शाखाका निर्देशक मनिराज लामिछानेले बताए ।
लामिछानेका अनुसार आगामी डिसेम्बर दोस्रो सातादेखि पर्यटन क्षेत्रलाई खुल्ला गर्ने योजना बनेको छ । ‘सरकारले यसअघि डिसेम्बरको सूवातमा नै पर्यटन क्षेत्र खुल्न दिने योजना बनाएपनि माहामारीको अवस्थालाई मध्यनजर गर्दै अब डिसेम्बर १५/१६ बाट खुल्न दिने योजना बनाएको छ’, उनले भने ।
लामिछानेका अनुसार पर्यटन क्षेत्र खुलाउने सुरुवात स्वरुप सरकारले नेपाल र भारतबिच हवाई सेवा सुचारु गर्न लागेको छ । ‘सुरुवातमा नेपाल र भारतबिच एयर बबलमार्फत दुई जहाजको प्रयोग गरि हवाई सेवा सुचारु गर्न लागिएको छ’ उनले भने । त्यसकाे नतिजासँगै हवाई क्षेत्र खुल्ला गर्न सकिन्छ या सकिन्न भन्ने यकिन गर्न सकिने उनको भनाई छ ।
अरबका राजकुमारको भ्रमणले विश्वमा सकारात्मक सन्देश
लकडाउनकै बिच दुई खाडी मुलुक बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा र कतारका राजकुमार मोहम्मद विन अब्दुल्लाह अल थानी नेपाल भ्रमणमा आए । उनीहरुको नेपाल भ्रमणले विश्वमा नै सकारात्मक सन्देश गएको निर्देशक लामिछानेको भनाई छ ।
उनी भन्छन्,‘दुई खाडी मुलुकका राजकुमारहरुको कोरोना महामारीबिच भएको नेपाल भ्रमणले विश्वमा नेपाल हाइप्रोफाइ व्यक्तिहरुको भ्रमणका लागि सुरक्षित रहेको सन्देश गएको छ, उहाँहरुको भ्रमणले गर्दा अन्य हाइप्रोफाइल व्यक्तिहरुले पनि नेपाल घुम्न आउने इच्छा व्यक्त गरेका छन्, त्यसैले सुरक्षा मापदण्ड लागु गरि पर्यटन क्षेत्र खुल्ला गर्ने तयारी भइरहेको छ ।’ पर्यटन क्षेत्र खुल्ला हुनासाथ केहि हाइप्रोफाईलका व्यक्तिहरु नेपाल घुम्न आउने उनले बताए ।
संकटमा परेका व्यवसायीलाई सहुलियत कर्जाको व्यवस्था
लामो समयको लकडाउले व्यवसायीमा पर्न गएको असर र त्यसबाट धरासायी बनेको पर्यटन व्यवसायलाई उकास्न विभागको पहलमा मन्त्रालयसँग समन्वयन गरि व्यवसायीक कर्जाको ब्याजमा सहुलियतको व्यवस्था गरेको लामिछानेले जानकारी दिए । उनका अनुसार सहुलियत कर्जाले धेरै व्यवसायीलाई राहत मिलेको छ ।
‘व्यवसायीहरुको सहजताको लागि बिभागले पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैैंकमा पहल गरि ५ देखि ६ प्रतिशत मात्र व्यवसायीक कर्जाको ब्याज लिन पाउने कार्यबिधि पास भएकाे छ, लामिछानेले भने, ‘यो व्यवस्था भएसँगै धेरै व्यवसायीलाई आर्थिक कारोबार गर्न सहजता मिल्नेछ भन्ने हाम्रो विश्वास छ ।’
पर्यटन व्यवसायीहरुले नेपालमा रहेको बेरोजगारीको अवस्था न्युनिकरण गर्न महन्वपूर्ण भुमिका निर्वाह गरेकाले उनीहरुको व्यवसाय संरक्षण गर्न मन्त्रालयसँग निरन्तर समन्वयन गरेर विभागले व्यवसायीक हितका काम गरि रहेको निर्देशक लामिछानेको भनाईं छ । अब चाँडै नै पर्यटन क्षेत्र खुल्ने भएकाले व्यवसायलाई कसरी मुर्तरुप दिन सकिन्छ भन्नेमा केन्द्रित रहन लामिछानेले पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार ०९:२३ मा प्रकाशित






























