मलाई साह्रै चित्त दुख्छ, मान्छेहरूले फेसबुक, ट्वीटर, स्न्याप च्याटहरुमा जन्मदिनको, बेबी सावरको ठूला ठूला इन्डोर् पार्टीको मास्क नलगाएका, सोसल डिस्टेन्स मेन्टेन नगरिएका फोटोहरु राख्छन् र मेरो परिवारमा भएको क्षतिमा ‘सो सरी फर योयर लस’ भन्ने कमेन्ट गर्छन् । मैले र अरू धेरैले धेरै गुमायौँ, जसले गुमाएका छैनन् अनुरोध गर्छु गुमाउने दुचेश्टा नगर्नुस् ।”
टेक्सासको एल पासो नगर कोभिडले आहत र मर्माहत बनाएको स्थान हो । जहाँ शबलाई चीसो पारेर राख्ने दर्जनौ ट्रेलर तयारी अवस्थामा राखिएका छन् । अस्पतालमा अरू बिरामीहरुलाई अन्यत्र स्थानान्तरण गरी कोभिड बिरामीहरुलाई राखिएका छन्, आईसियू भरिएका छन्, बेड अभाव हुँदै गैरहेको छ । बेड, आईसियू मात्रै हैन डाक्टर, नर्स र अन्य मेडिकल प्रोफेसनलकै अभाव हुन थालेको छ ।
यसैबीच एल पासोमा एक परिवारले कोभिडबाट ६ जना परिवार नै गुमाएको हृदयस्पर्शी, मर्माहात र पीडादायी घट्ना उजागर भएको छ । बनी सोरिया नाहेराले आफ्नी आमा, बुवा, कजन, अंकल र अरू आफन्त गरेर परिवारमा ६ जना गुमाएकी छिन् । ‘थ्याँक्स गिभिँग; पार्टीमा उनको डाइनिँग टेवल रित्तो भएको छ र केही दिनमै आउने क्रिसमस, लाइट बेगरको क्रिसमस र २०२१ को नयाँ बर्ष आतिसबाजी बाहेकको हुनेछ । “गत राति अंकलको निधन भएको खवर आयो अस्पतालबाट, बनी भन्छिन् ‘अब र अहिलेसम्म ६ पुग्यो । मेरो परिवारमा संक्रमणको क्रम मे १५ बाट शुरु भएर निरन्तर छ र यो क्रम कहाँ पुगेर कहिले र कसरी रोकिने हो पत्तो छैन ।’ तरर आँशु झार्दै उनले भनिन् ।
मे १५ मा कोभिड् संक्रमित भै आमालाई अस्पतालमा भर्ना गरेकी बनीले आमालाई फेरि देख्न पाईनन् । “आमाको निधन यति छिट्टो भयो कि सोच्ने, सम्झने र श्रद्धान्जली गर्ने समय नै भएन । अस्पतालमा लगेको ३ दिनपछि भेन्टिलेटरमा राखियो । आमालाई भेन्टिलेटरमा राखिएको केही दिनमै बुवा बिरामी भए कोरोनाकै कारणले र बुवालाई अर्को अस्पतालमा राखियो । उनका दुबै अभिभावक कोभिडका कारण अस्पतालमा भए । आमालाई झन गाह्रो हुँदै गयो र आमालाई प्लाज्मा ट्रिट्मेन्टका राखे र मैले फोनमा कुरा गर्नलाई अनुमति मागेँ र अस्पतालले सहमति दियो । अनि पीडादायक खवरहरू आउन थाले । ” उनी भन्छिन् । कहिले सास फेर्न गाह्रो भएको खवर आउँथ्यो, कहिले खोक्दा खोक्दा छाती दुखेको खवर आउँथ्यो । बनी भन्छिन्, “अस्पतालबाट नर्सले कल गर्दै भनिन् तिम्री आमाको धड्कन चल्न छोड्यो, हृदयगति बन्द भो अतः दुःखपूर्वक भन्दैछु अब तिम्री आमा यो दुनियाँमा रहिनन् ।
उनी भन्छिन्, “आमाको निधन भएको खवर आएको एक घण्टापछि बुवालाई भेन्टिलेटरमा राखेको खवर आयो ”। बुवाले फोनमा भन्नु भो, “छोरी साह्रै सास फेर्न गाह्रो भैरहेको छ, शरीरका सबै अंगहरू दुख्न थालेका छन् ।” म के गर्न सक्थेँ, बुवालाई ढाडस् दिन्थेँ र परमेश्वरलाई पुकार्ने बाहेक । यतिसम्म कि आमाको निधन भएको …..’ वाक्य नै पूरा नगरी डाँको छोडेर रून थालिन् । उनले आमाको स्वर्गबास भएको खवर समेत बुवालाई सुनाउन सकिनन् । तीन हप्ता पश्चात उनको बुवाको स्वास्थ्य कहिले राम्रो भएको त कहिले अझ बिग्रेको भनेर खवर आउन थाल्यो । “बुवासगँ कुरा गरिरहन्थे, लाग्थ्यो, बुवालाई मैले महत्वपूर्ण कुरा लुकाई रहेको छु । एकदिन लुकाएँ, एकपटक ढाँटेँ तर सधैं बुवालाई जीवनभर साथ दिएकी जीवन संगिनीको निधन भएको खवर कति लुकाउन सक्थेँ र भन्दिएँ, ‘बाबा आमाको निधन भैसक्यो ।’ बनी भन्छिन् ।
आमाको दाहसँस्कारको कर्म गर्नलाई प्रकृया भैरहेको थियो । कोभिडबाट निधन भएपछि सदगत प्रकृया अलिकति लामो हुन्छ र ती कागजात प्रकृया सकिएपछि एकदिन आमाको दाहसँस्कारको दिन आयो । उनी र उनकी बहिनी फ्यूनरल होम जाँदै थिए, त्यही बीचमा सेल फोनको घन्टी बज्यो । यसो हेरिन् पितालाई राखिएको अस्पतालबाट आएको रहेछ र तत्काल उठाईन् । नर्सले भनिन्, “तिम्रो पिताको धड्कन चल्न छोडेको छ, हृदयगति सुस्त छ । कृतिम श्वासप्रश्वास शुरु गर्यौँ, काम गरेको छैन । सिपिआर पनि गर्यौँ । अब के गरौँ, के भन्छौ, अब बन्द गरौँ, अथवा निरन्तर गरौँ ? तिम्रो सहमति र अनुमति चाहियो किनकी उनी तिम्रा पिता हुन् । बनीले आफूले आँफैलाई सोधिन्, परमेश्वरलाई सोचिन्, पिताको ब्यथाको दर्द र आमाबिनाको एक्लो जीवनको पीडालाई महसुस गरिन् र भनिन्, “नर्स बुवालाई शान्तिपूर्वक भगवानको साथमा जान देऊ । ”
केही दिनपछि बनी स्वयम् संक्रमित बनिन् । “मनमा पीडा त छँदै थियो फेरि शरीरमा पीडा हुन थाल्यो “। उनी भन्छिन् ‘मानसिक पीडा त छँदै थियो उनलाई शारीरिक पीडाले पनि उनलाई घेर्न पुग्यो । उनी निको हुँदै गईन् तर कसको के लाग्छ, नियतिले उनको आन्ट पनि लग्यो, कजनको निधन केही दिनमा । पितालाई लगेको केही दिनमा पिताकी बहिनीलाई समेत चुँडेर लग्यो । यो मृत्युको क्रम रोकिएन, कोरोनाले बनीको अर्की आन्टलाई पनि छोडेन लगेरै छोड्यो । यो मृत्युको क्रमभंग रोकिएन । श्रींखला जारी रह्यो र भर्खरै उनको अंकलको समेत कोभिडको कारणले ज्यान लियो । आश्चर्य त यस्तो भयो कि आन्टलाई कोभिडले चुँडेको दिन अंकललाई समेत छोडेन ।
“मेरा बुवा-आमा, अंकल–आन्ट, कजन सबै आफ्नो स्वास्थ्यको ध्यान दिन्थे, रोग, बिरामप्रति सजग थिए । खै कसरी मलाई र मेरा परिवारलाई सर्न पुग्यो संक्रमित भयौँ, भेऊ नै पाउन सकेकी छैन “। म त मेरा बुवा-आमाको नगीच पनि गएकी थिईनँ । ” फेरि थप्छिन् । यो निश्पक्ष भएन, पटक्कै ठीक छैन, मेरो, मेरो परिवारको, मेरा आफन्त र मित्रहरुको व्यवसाय छ, म क्षमा चाहन्छु, केही दिनलाई सट डाऊन गर्नै पर्छ । आई एम सरी, प्रत्येकले केही समयलाई धन भन्दा ज्यूजानको लागि आफ्ना बन्द व्यापारलाई बन्द गर्नै पर्छ ।
“मैले मेरा बुवा-आमा गुमाएँ र अरू धेरै आफन्त पनि । अमेरिकामा धेरैले आफ्ना प्रियहरुलाई गुमाएका छन् । लाखौंको ज्यान गएको छ, करोडौं संक्रमित छन् । अत: ठूलो भेला नगरौँ, भीडमा नजाऔँ । मेरो जस्तै पीडा र वियोग भोग्न नपरोस् तर त्यसका लागि ”डन्ट डु ईट्। यू डन्ट् वान्ट् टु बी ईन आवर शुज ।’ मलाई साह्रै चित्त दुख्छ, मान्छेहरूले फेसबुक, ट्वीटर, स्न्याप च्याटहरुमा जन्मदिनको, बेबी सावरको ठूला ठूला इन्डोर् पार्टीको मास्क नलगाएका, सोसल डिस्टेन्स मेन्टेन नगरिएका फोटोहरु राख्छन् र मेरो परिवारमा भएको क्षतिमा ‘सो सरी फर योयर लस’ भन्ने कमेन्ट गर्छन् । मैले र अरू धेरैले धेरै गुमायौँ, जसले गुमाएका छैनन् अनुरोध गर्छु गुमाउने दुचेश्टा नगर्नुस् ।” एकै सासमा यी सबै भनेर आफ्नो कुरा अन्त्य गर्छिन् बनी ।
एफडिएले फाइजरको खोपलाई स्वीकृति दिंदैछ । शायद अर्को हप्तादेखि खोप लगाईनेछ । यो खोप शुरुमा स्वास्थ्य सेवामा अग्रपंक्तिमा खटिएका, नर्सिंग होममा रहेका प्रौढहरू र अण्डरलाईन कन्डिसन भएकाहरुलाई दिईने भनिएको छ र यो खोप सर्बसाधारणले पाउन झन्डै अर्को छ महिना कुर्नु पर्छ । फेरि खोपप्रति झन्डै आधा अमेरिकाबासीहरुले लाउन धक मानिरहेका छन् । बेलायतमा यसको सामान्य साइड ईफेक्ट पनि देखियो । खोपप्रति आशंका, अभाव, अपर्याप्तता र कुराईका कारणले अझै धेरै अमेरिकाबासीहरुको ज्यान जान सक्छ । भ्याक्सिन जुनसम्म सर्बसाधारणले कुर्नु परेमा त्यसबेलासम्म झन्डै ६ लाख अमेरिकनहरुको ज्यान जान सक्ने सिडिसी, साईन्टिस्ट र डाक्टरहरु बताउँछन् ।
प्रदर्शन र चुनावी आमसभा, थ्याँक्स गिभिँगको गेट टुगेदर, विण्टरको इनडुवर पार्टी, आउन लागेको क्रिसमस र न्यू ईयर कार्यक्रमका कारण धेरै संक्रमित भै प्रत्येक दिन धेरै अमेरिकाबासीहरु निधन हुन सक्छन् । सिडिसीका प्रमुख र अरू विज्ञहरु भन्छन्, “अब ९० दिनसम्म प्रत्येक दिन ३ हजारभन्दा बढीको कोरोनाले ज्यान लिन सक्छ जुन सँख्या नाईन ईलेभेनमा आतंककारीद्वारा मारिएका भन्दा ठूलो सँख्या हुनेछ प्रत्येक दिन कोभिडबाट निधन हुने सँख्या ।” जनवरी २०, २०२१ पछि जो बाईडेन राष्ट्रपति भएपछि ट्रम्प समर्थकहरुको विरोध प्रदर्शन हुनेछ र ट्रम्प र उनका अनुयायीहरु नत मास्क लाउँछन्, न सोसल डिस्टेन्स मेन्टेन गर्छन् अनि ट्रम्प समर्थक मध्ये धेरै रूढिबादी अमेरिकनहरू खोप लगाउन मान्दैनन् जसले गर्दा कोभिड् संक्रमितहरुको सँख्या बढ्न गई मृतकहरुको सँख्या बढ्ने अनुमान गर्न सकिन्छ ।
हाम्रो पहुँचमा खोप नआउन्जेल हामीसगँ सीमित उपाय मात्रै बाँकी छन्, मास्क, सामाजिक दूरी कायम गर्ने, साबुन र सफा पानीले राम्ररी हात धुने र भेला–भीडमा सहभागी नहुने, नियमित भेट हुने अत्यन्त निकट परिवारले मात्रै पर्व र पार्टी गर्ने नत्र बनी सोरिया नाहेराको दुखान्त र मर्माहत तीतो तथ्य कथा हाम्रो बीचमा पनि आउन केही बेर लाग्दैन । चेतना र चेतावनी भया ।
वि.सं.२०७७ मंसिर २७ शनिवार ०७:५२ मा प्रकाशित






























