
२८ मंसिर, काठमाडौं । सर्लाहीका उखु किसानले आइतबारबाट काठमाडौंको माइतीघरमा आन्दोलन सुरु गरेका छन् । आफुहरुले पाउनु पर्ने रकम भुक्तान गर्न माग गर्दै उखु किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।
गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाडौं आएका उनीहरुले आइतबारदेखि आन्दोलन थालेका हुन् ।चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । सरकारले गत वर्ष गरेको पाँच बुँदे सहमति कार्यान्वयन नभएकाले यस वर्ष आफूहरुले पाउनुपर्ने सबै रकम नलिइकन आन्दोलन नरोक्ने किसानको अडान छ ।
गत वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइ दिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो । तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् ।