
३० मङ्सिर, काठमाडौँ । गौतमबुद्ध कपको २०२० को उपाधि टिम राप्तीले आफ्नो नाममा गरेको छ ।
टिम राप्ती र टिम नारायणी बिच भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनल खेलमा टिम राप्तीले टिम नारायणीलाई ९ रनले पराजित गदैँ उपाधि आफ्नो नाममा गरेको हो ।
फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको राप्तीले आफ्नो २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । राप्तीका लागि ब्याटिङ्गमा कुलश भुर्तेलले ४२, अमित श्रेष्ठले १८, शरद भेषवाकरले १२, विनोद भण्डारीले ३२ र सुमित महर्जनले २२ रन बनाएका थिए । नारायणीका लागि साहब आलमले उत्कृष्ट बलिङ्ग गदैँ सर्वाधिक ३ विकेट लिएका थिए ।
टिम राप्तीले दिएको १४४ रनको लक्ष्य टिम नारायाणीले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । टिम नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो । नारायणीका लागि आरिफ शेखले ३१ बलमा ४८ रनको पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । टिम राप्तीका लागि बलिङ्गमा अभिनाष बोहराले सर्वाधिक ३ विकेट लिएका थिए भने भुवन सार्कीले २, जितेन्द्र मुखिया र कमल सिंह ऐरीले १/१ विकेट हात पार्न सफल भएका थिए । ।