रुपान्तरण नभै यस्तै हालतमा पार्टी एक हुनुको पनि कुनै अर्थ छैन भने फुट हुनु त झन् सत्यानास हुनु नै हो । हुन त माओले ‘सत्यानास भयो त के भो राम्रै भयो’ भनेर पनि खराब भन्दा खराब स्थितिमा पनि राम्रो सम्भावना खोज्नुपर्छ र भेटिन्छ भनी सैद्धान्तिक कुरा गर्नु भएको छ । तथापी यो त अन्य केही सकारात्मक विकल्प नभएको अन्तिम र बाध्यात्मक क्षतिमूलक नकारात्मक विकल्प हो ।
‘मार्क्सवाद लागू गर संशोधनवाद होइन, खुला र स्पष्ट होऊ जालझेल र षडयन्त्र नगर, एकजुट होऊ नफुट’ – क. माओ
यतिबेला नेपालको दुईतिहाई जनमत पाएको सत्तासीन नेकपाभित्रको अन्तर्संघर्ष चरम द्वन्द्वको अवस्थामा पुगेको छ र स्थिति ज्यादैनै गम्भीर र विष्फोटक बने/बनाइएको छ । व्यक्तिगत र समूहगत, प्राप्ती र क्षतिका साथै विचार र विधिका लागि भएको यो अन्तर्संघर्षमा अन्ततः आग्रह र पूर्वाग्रह, आवेग र आक्रोश, आरोप र प्रत्यारोप, विरोध र अवरोध अनि प्रतिशोध र प्रतिरोधको परम्परा र प्रवृत्तिले पार्टी विभाजन र विसर्जनको परम संकटमा परेको छ ।
यो संवेदनशील अवस्थामा हाल सतहमा आएका दुई नेता, दुई समूह र दुई प्रस्तावको संकीर्ण सीमामा सिमित/संकुचित नभएर विचार र वर्गलाई बेस बनाएर खुला र स्पष्ट भएर विचार, बुद्धि र विवेक पुराएर अनि संवेदनशील, गम्भीर र जिम्मेवार भएर क.माओले भन्नू भएको उपरोक्त सिद्धान्तनिष्ठ, वस्तुवादी, बैज्ञानिक, व्यावहारिक र क्रान्तिकारी संश्लेषणलाई आत्मसात गरी छलफल गरौं र निष्कर्षमा पुगौं ।
यो नै हामी सबै नेताकार्यकर्ताको साथै देस र जनताको निम्ति सर्वोत्तम हित हुनेछ :
१) नेकपाका नेताकार्यकर्ता सबै वा यसभित्रका स्वच्छ, स्वतन्त्र र स्वविवेकी तथा स्वार्थहीन, स्वाभिमानी र स्वावलम्बी अनि निष्पक्ष, निर्भिक र नीतिनिष्ठ नेताकार्यकर्ताहरु सर्वप्रथम अहिलेका नेता, प्रस्ताव र गुटहरुको भ्रमजालरुपी आस, गाँस वा त्रासको मोहपासबाट पूर्णत: मुक्त होऔं ।
२) यसरी हामी आफैले आफ्ना सिद्धान्त र शंकल्प, विचार र आचार, चिन्तन र चरित्र, मति र गति, सोंच र शैली, नीति र रीती, संस्कार र संस्कृती आदिमा परिवर्तन, परिमार्जन र शुद्धीकरण गरी आफूलाई दिलदिमागदेखि मन, वचन र कर्मले पुनस्संस्कार गरेर रुपान्तरण गरौं।
३) तत्पश्चात् विचारवादी, वर्गवादी र विधिवादी सच्चा देसभक्त, जनपक्षीय र मालेमा मान्ने क्रान्तिकारी नेताकार्यकर्ताहरुले स्वस्थ, मैत्रीपूर्ण, पारदर्शी र इमान्दारीपूर्ण तरिकाले सिद्धान्तनिष्ठ, विधि/पद्धतिसम्मत, मूल्य/मान्यतामा आधारित र लक्ष/उद्देश्यकेन्दृत परिणाममुखी रचनात्मक अन्तर्संघर्ष चलाऔं ।
४) यसप्रकारको अन्तर्संघर्ष संचालन गर्दा हामीहरु हाम्रा आग्रह/पूर्वाग्रह, खान/पान, लेन/देन, पद/पावर, दाम/कामजस्ता व्यक्तिगत क्षति/उपलब्धिहरुको चासो/चिन्ता र हिसाब/किताबबाट मुक्त होऔंस हाम्रा पूर्ववर्ती संकीर्ण सम्बन्ध, सोंच, शैली, संस्कार, साधना र स्वार्थबाट माथि उठौं अनि देस, जनता र क्रान्ती एवं न्याय, समानता र स्वतन्त्रतालाई छातीमा राखेर नित्तान्त नयाँ नेताकार्यकर्ता भएर इस्यू वाइज नीति, निर्णय र नेतृत्वको पक्ष/विपक्षमा मत जाहेर गरौं ।
६) यसरी नीति /सिद्धान्त र विधि/व्यवहारका दृष्टिले हामी र हाम्रो पार्टीको क्रान्तिकारी रुपान्तरण गरी देस र जनतालाई यो बेहालबाट बाहिर निकालौं ।
७) यसरी नै देस, जनता र इतिहासले हामीलाई यतिबेला दिएको विश्वास र जिम्मेवारी पूरा गरेर हामीले आफूहरु र पूरै पार्टी सच्चा कम्युनिस्ट भएको प्रमाणित गरौं ।
स्मरणीय छ कि यसो गर्नु अनिवार्य छ, अन्यथा रुपान्तरण नभै यस्तै हालतमा पार्टी एक हुनुको पनि कुनै अर्थ छैन भने फुट हुनु त झन् सत्यानास हुनु नै हो । हुन त माओले ‘सत्यानास भयो त के भो राम्रै भयो’ भनेर पनि खराब भन्दा खराब स्थितिमा पनि राम्रो सम्भावना खोज्नुपर्छ र भेटिन्छ भनी सैद्धान्तिक कुरा गर्नु भएको छ । तथापी यो त अन्य केही सकारात्मक विकल्प नभएको अन्तिम र बाध्यात्मक क्षतिमूलक नकारात्मक विकल्प हो । त्यसैले ख्याल रहोस् कि रुपान्तरण बिनाको लेनदेनमा आधारित यथास्थितिको एकता वा फूट दुवै अवान्छित र अस्वीकार्य मात्र होइन निन्दनीय र त्याज्य नै हुनेछ । त्यसैले फेरि पनि दोहोराउँदै अझ जोड दिएर भनौं – ‘क्रान्तिकारी रुपान्तरणभन्दा अर्को राम्रो सकारात्मक विकल्प छँदैछैन । ‘
धन्यवाद ।
वि.सं.२०७७ पुस १ बुधवार ०९:५२ मा प्रकाशित






























