७ पुष, बलेवा । विदेशको कमाइ कुम्ल्याएर श्रीमान् फरार भएको भन्दै एक महिलाले श्रीमान्को खोजी गरेकी छन् । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी एक महिलाले सरोकारवालालाई खोजी गरिदिन अनुरोध गरेकी हुन् ।
श्रीमान् प्रेम पौडेलले जापानमा रहँदा आफूसमेतले कमाएको रकम बोकेर फरार भएको भन्दै सरीता सुवेदी पौडेलले जिल्ला प्रहरी कार्यालय बागलुङ र आप्रवासी स्रोत केन्द्र बागलुङलाई अनुरोध गरेकी हुन् ।
तीन वर्ष पहिले श्रीमान्सँग ‘डिपेन्डेण्ट’ आश्रित भिसामा जापान पुगेकी उनीले दुई वर्षसम्म कमाएको रु ७१ लाख नगद लिएर श्रीमान् फरार भएको प्रहरीमा दिएको निवेदनमा उल्लेख छ । विसं २०७१ मा विद्यार्थी भिसामा जापान पुगेका प्रेमले तीन वर्ष पहिला सरीतालाई डिपेन्डेण्ट भिसामा जापान लगेका थिए ।
बागलुङ नगरपालिका–१४ नारायणस्थान माइतीघर भएकी सरीता र प्रेमबीच विसं २०६७ मा परम्परागत विवाह भएको थियो । “जापान पुगेपछि दुई वर्षको भिसा लगाइदियो, काम पनि थालेँ, तर कमाइ मैले राख्न पाइनँ”, उनले भने, “कुटपिट गरेर सबै पैसा लगेपछि म शरणार्थी बन्नुपर्यो ।” उनीले जापान पुगेदेखि नै सम्बन्ध राम्रो नभएको बताइन् ।
धेरैपटक सम्बन्ध सुधार गर्न खोजे पनि श्रीमान् फरार भएको उनीले बताइन् । लामो समय सम्बन्धमा दरार आएपछि उनीहरु एनआरएनए जापान र बलेवा सेवा समाजको पहलमा नजिकिएका थिए । भिसा सकिएपछि डिपेन्डेण्टमा जापान पुगेकालाई सहमति आवश्यक पर्छ । श्रीमान्ले सहमति नदिएपछि एक वर्षसम्म शरणार्थीका रूपमा आफन्तकोमा बस्नुपरेको सुवेदीले बताइन् ।
“पछि छलफल भएर नेपालसँगै फर्किने, सँगै बस्ने र फर्किँदा भिसाको प्रक्रिया गर्ने भनेपछि नेपाल आयौँ, नेपाल आएपछि काठमाडौँमा दुई दिन र बागलुङमा १२ दिनको क्वारेन्टिइन बसेर उनी फरार छन्”, उनले भनिन्, “होटलमा क्वारेन्टिनका फरक–फरक कोठा थिए, मङ्सिरको २३ गतेदेखि सम्पर्क छैन ।”
उनीहरु मङ्सिरको १३ गते नेपाल आएका थिए । सँगै आएको श्रीमान् र कमाएको पैसासमेत नरहेकाले आफू बेसहारा भएको भन्दै उनीले खोजीका लागि आग्रह गरेकी हुन् ।
उनीहरुको आठ वर्षको छोरा छन् । “पहिले देवरसँग घरमा रहेको छोरा माइतीमा राखेकी छु”, उनले भनिन्, “पहिलेदेखि नै मसँग टाढिन चाहेका श्रीमान् हरायो, मेरो न टेक्ने डाली छ न समाउने हाँगा ।” सुवेदीले निवेदन दिएपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय र त्रिभुवन विमानस्थलमा समेत प्रहरीले फरार भएका उनका श्रीमान्को हुलिया पठाएको छ ।
“हामीले खोजी थालेका छौँ, तर केही पत्ता लागेको छैन”, प्रहरी निरीक्षक विजय भण्डारीले भने, “हाम्रो ‘इन्क्वायरी’भन्दा उनी पहिलै देशभन्दा बाहिर पुगेको पनि हुनसक्छन् ।”
यता परिवारले भने प्रेम र सरीताबीचको सम्बन्धका विषयमा जानकारी नभए पनि घरमा आएर सरीताले बस्न नचाहेका कारण समस्या पैदा भएको बताएको छ । आफ्नो घर र काम गरेर खान सक्दिनँ भनेर जापानबाट फर्केकी भाउजू घर छाडेर हिँडेको सरीताका देवर राजु पौडेलले बताए ।
रासस
वि.सं.२०७७ पुस ७ मंगलवार ११:४५ मा प्रकाशित






























