यिनी नेपालीपना र देशभक्तिको मामलामा भने अरूभन्दा अगाडि नै थिए । राजाको पालामा भएको भारतसँगको खराब सम्बन्धलाई यिनी प्रधानमन्त्री भएपछि सुधारे । यिनकै पालामा भारतसँग बराबरका आधारमा व्यापार तथा वाणिज्य सन्धि भयो ।
नेपाली सभ्यता, समाज विकास, राष्ट्रियता जागरण र लोकतान्त्रिक आन्दोलनको इतिहासमा सन्तका रूपमा परिचित कृष्णप्रसाद भट्टराई एक अमिट नाम हो । यिनको जन्म इ.सं. १३ दिसेम्बर १९२४ मा भारतको वनारसमा भएको थियो । यिनका बाजेलाई राणाहरूले देश निकाला गरेका थिए र यिनका बाजे भारतको वाराणसीमा पुरेत काम गरेर आफ्ना परिवार पाल्ने गर्दथे । यिनी जब स्कुल पढ्न थाले त्यसबेला यिनको बालमस्तिष्कमा आन्दोलन र क्रान्तिको छाप प¥यो । यिनले यो लेखकसँग कुरा गर्दै भनेका थिए “लोककृष्णजी– म जब स्कुल पढ्न थालेँ मलाई पढाउने शिक्षकले अङ्ग्रेज साम्राज्यवाद विरूद्ध सङ्घर्ष गर्दागर्दैै अङ्ग्रेज सरकारले फाँसीको सजाय दिएका भगतसिंहको जीवन शिक्षकले सुनाएपछि, मलाई र मेरो बालमस्तिष्कमा ठूलो छाप प¥यो र भारतीय उपमहाद्विपबाटै अङ्ग्रेज साम्राज्यवादलाई लखेट्नु पर्दछ भन्ने ममा छाप बस्यो र म विद्रोही भएर निस्केँ ।” यिनले हाईस्कुलको अवस्थादेखि नै भारतीय स्वतन्त्रता सङ्ग्राममा भाग लिए । कलेज जीवनमा पुगेपछि यिनको वि.पी.कोइरालासँग भेट भयो र नेपालबाट अङ्ग्रेजको समर्थनमा रहेको सामन्ती पारिवारिक राणाशासन समेत अन्त्य गर्नु पर्दछ भन्ने निष्कर्षमा यिनी पुगे ।

नेपाली राष्ट्रिय काँग्रेसको स्थापनामा कृष्णप्रसादको अहं भूमिका थियो । कलकत्तामा भएको राष्ट्रिय काँग्रेस स्थापना गर्ने पहिलो भेलाले यिनलाई महामन्त्री छान्यो । यिनले पार्टीभित्र हमेसा वि.पी. कोइरालाको लाइनलाई साथ दिए । वनारसमा बस्न बाध्य र पढ्दा त्यहीँका स्थानीय पत्रपत्रिकामा क्रान्ति र परिवर्तनमा आधारित भएर लेख लेख्ने र कविता लेख्ने समेत गर्दथे । यिनलाई पत्रकार बन्ने पनि ठूलो मन्सुवा थियो । यिनको पनि भारतीय स्वतन्त्रता सङ्ग्रामका नेताहरू महात्मा गान्धी, राममनोहर लोहिया, जयप्रकाश नारायणसँग सुमधुर सम्बन्ध थियो । नेपाली राष्ट्रिय काँग्रेस भित्र वि.पी. र डा. डिल्ली रमण रेग्मीको मतभेदमा यिनले वि.पी. लाई साथ दिँदै आए । नेपाली काँग्रेस र प्रजातन्त्र काँग्रेसको २००६ साल चैतमा भएको एकतामा यिनले खुलेर वि.पी.लाई सहयोग गरे । यी दुई पार्टीको एकतापछि बनेको नेपाली काँग्रेसको पनि महामन्त्रीमै छानिए । नेपाली काँग्रेसले २००७ सालमा सशस्त्र सङ्घर्ष गर्ने निर्णय ग¥यो र त्यो सङ्घर्षमा उदयपुर र सप्तरी क्षेत्रको जनसेनाको राजनैतिक कमिसार भएर यिनले राणा सरकार विरूद्धको सशस्त्र सङ्घर्षमा त्यस क्षेत्रको नेतृत्व गरेका थिए ।

२००७ सालमा क्रान्ति जब अगाडि बढ्दै गयो भारतीय संस्थापना र राणाले सम्झौता गराउन खोजे र दिल्लीमा भारतीय संस्थापनाको मध्यस्थतामा राणा–राजा–काँग्रेस विच वार्ता भएर दिल्ली सम्झौता भयो । यसपछि वि.पी. सरकारमा गए । २००८ सालमा नेपालमा पहिलो पटक गोरखापत्र बाहेकको पत्रिका नेपाली काँग्रेसले प्रकाशन गर्ने निर्णय ग¥यो र त्यस पत्रिकाको सम्पादन गर्ने जिम्मा यिनले पाए । नेपालमा पत्रकारहरूको सोही साल सङ्गठन बन्यो र सो सङ्गठनको संस्थापक अध्यक्ष यिनी भए । वि.पी. र मातृकाको मतभेदमा पनि यिनी वि.पी. पट्टी नै रहे । २०१५ सालको आम निर्वाचनमा यिनी आफ्नो पुख्र्यौली थलो गोरखाबाट चुनाव लडे तर हारे । यिनले हारे पनि नेपाली काँग्रेसले दुई तिहाई बहुमत ल्यायो । यिनलाई वि.पी.कोइरालाले हारे पनि त्यसबेलाको प्रतिनिधि सभाको सभामुख बनाए । १८ महिनाको संसदको कार्यवाहीमा यिनले बडो कुशलतापूर्वक संसद सञ्चालन गरेका कुरा त्यसबेला संसदमा भएका सांसदहरूले बताउँदै आएका छन् ।
२०१७ सालमा राजा महेन्द्रले फौजी कुद्वारा जनताले चुनेको संसद र प्रधानमन्त्री लगायत क्याविनेट धारा ५५ अनुसार सङ्कटकाल लगाएर अपहरण गरेपछि वि.पी. र गणेशमानसँगै यिनलाई पनि गिरफ्तार गरियो र जेल हालियो । वि.पी.सँगै यिनलाई पनि सुन्दरीजल वन्दीगृहमै राखिएको थियो । २०२५ सालमा भारत र चीनको मतभेद भएर युद्ध भड्किएपछि प्रवासमा रहेर सशस्त्र सङ्घर्ष गरेका सुवर्ण शम्सेरले उक्त सशस्त्र सङ्घर्ष स्थगन गरे र राजासँग मेलमिलाप गर्ने वक्तव्य जारी गरे । त्यो वक्तव्यलाई मानेर वि.पी. र गणेशमान जेलबाट छुटे र पुनः भारतप्रवास गए तर यिनले राजाले प्रजातन्त्र अपहरण गरेकाले उनले जनता र संसदसँग माफी माग्दै प्रजातन्त्र पुनर्वहाली गर्नुपर्दछ भन्ने अड्डी जेलबाटै लिए र यिनी छुटेनन् । यिनी २०२९ सालसम्म वि.पी. भन्दा ४ वर्ष बढी जेल बसे ।
नेपालको मधेशी समुदायलाई नेपाली सेनामा किन भर्ती गरिन्न भन्ने प्रश्नमा यिनले उल्टै भारतले विहारीलाई भारतीय सेनामा किन भर्ना नगरेर नेपाली पहाडी र पञ्जावीलाई मात्र गर्छ ? भनेर प्रतिप्रश्न गर्दै तत्कालीन भारतका प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहलाई समेत अप्ठेरोमा पारेर नेपालीपन र नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र देशभक्तिको अनुपम उदाहरण पेश गरेका थिए ।
२०२८ सालमा राजा महेन्द्रको मृत्यु भएपछि वीरेन्द्रको राज्यारोहण भयो । युवा राजा वीरेन्द्रले यिनलाई विनाशर्त रिहाई गरे । यिनी स्वदेशमै रहेर शान्तिपूर्ण सङ्घर्ष गर्नु पर्दछ भन्ने विचारमा अडिग रहे । वि.पी.सँग सशस्त्र सङ्घर्षको विषयलाई लिएर मतभेद भयो । वि.पी.ले जेलबाट छुटेर राजाको निरङ्कुशता विरुद्ध प्रवासमा रहेर सशस्त्र सङ्घर्षको सूत्रपात गरे । तर यिनले त्यो सशस्त्र सङ्घर्षलाई समर्थन गरेनन् । यिनको विचार गान्धीको भारत छोडो आन्दोलनमा सत्याग्रह गरे जस्तै सत्याग्रह मात्र गर्नु पर्दछ भन्ने थियो । भारतमा इन्दिरा गान्धीले सङ्कट काल लगाएपछि भारतमै वि.पी. माथि इन्दिराले नियन्त्रण गरिन् । यता राजा वीरेन्द्रले पुनः यिनलाई जेल हाले । यो लेखक वि.सं. २०२९–३० सालमा भारतमा सिक्किम विलयको विरोधमा विरोध प्रदर्शन गर्दा जेलमा भेटेको थियो । यिनी रसिक स्वभावका र जेलमा रहँदा पनि सबै कैदीसँग घुलमिल गर्ने बानी थियो । तत्कालीन अवस्थामा लोकतन्त्रको वहालीका सङ्घर्षमा जेलमा जाने र आउने या त नेपाली काँग्रेस सम्वद्ध कार्यकर्ता हुन्थे भने नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल सम्बद्ध कार्यकर्ता मात्र हुन्थे । झापामा भएको कम्युनिष्ट पार्टीको एक फ््रयाक्सनले गरेको सशस्त्र खुकुरी युुद्धका बन्दीहरू पनि त्यसबेला आए र जेलमा यिनले यी वन्दीलाई पनि माया नै गर्थे । यिनमा लोकतन्त्रमा विपक्षको कदर गर्नुपर्दछ भन्ने राजनैतिक संस्कार परिपूर्ण थियो । कम्युनिष्ट पार्टीका विभिन्न समुहका कार्यकर्ता र नेतालाई यिनले सम्मान नै गर्थे । वि.पी. राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर फर्कने बेलामा वि.पी.ले यिनलाई पटना बोलाए र पटनामा सीमित कार्यकर्ताको भेला गरे र वि.पी.ले यिनलाई नेपाली काँग्रेसको का.वा.अध्यक्ष दिए ।
२०३३ साल देखि २०४८ सालसम्म कृष्णप्रसाद नेपाली काँग्रेसको का.वा अध्यक्ष निरन्तर रहे । २०३५/२०३६ को जनमतसङ्ग्रह, २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलन निर्माण र त्यसलाई सफलताको मञ्जिलमा पु¥याउन नेतृत्वदायी भूमिका खेल्नेमध्ये यिनी एक हुन् । यिनीमाथि गणेशमान सिंहले अगाध विश्वास राख्थे । २०४६ सालको जनआन्दोलनको सफलतापछि आफूमाथि आइपरेको प्रधानमन्त्रीको कार्यभार गणेशमान सिंहले यिनलाई सुम्पिए । यिनले पनि झण्डै डेढ वर्षको अवधिमा राजालाई संवैधानिक बनाएर २०४७ साल कार्तिक २३ गते संविधान जारी गर्न सफल रहे । यिनले २०४८ सालमा बैशाखमा शान्तिपूर्ण रूपमा आम निर्वाचन सम्पन्न गरे । आपूmले हारे र पार्टीलाई भने बहुमत दिलाए र आफ्ना महामन्त्री गिरिजालाई प्रधानमन्त्री बनाएर बाहिर आए । तर हारपश्चात् यिनको पार्टीमा अन्तरविरोध शत्रुतापूर्ण रूपमा चुलियो । यिनले सत्ता सुम्पिएको यिनका साथी गिरिजाप्रसादले तिन वर्षमै संसद विघटन गरेर आमचुनावमा गए । यसअघि यिनलाई पार्टीले उपचुनावमा होम्यो तर त्यो चुनावमा पनि यिनी हारे । २०४८ सालमा भएको पार्टीको कलबलगुढी महाधिवेसनबाट यिनी पार्टीको पूर्ण अध्यक्ष चुनिएका थिए । २०५१ सालमा भएको मध्यावधि चुनावमा यिनलाई प्रधानमन्त्री बनाउने नेता गणेशमान सिंहले नेपाली काँग्रेस त्याग गरी सकेका थिए । यिनको दोधारे चरित्रले पार्टी त टुक्रिएन तर, चुनावमा दोस्रो ठूलो दल मात्र भयो । पछि २०५६ सालमा यिनलाई प्रधानमन्त्री प्रस्ताव गरेर काँग्रेस चुनावमा लाग्यो र पुनः बहुमत ल्यायो । यसपछि भने यी निर्वाचित प्रधानमन्त्री भए तर १० महिनासम्म पनि यिनलाई टिक्न दिइएन र संसदमा भिमसेन थापापछि आफूमाथि अपमान भएको भन्दै मार्मिक भाषण गरेर प्रधानमन्त्रीको पद त्याग गरे ।
२०५८ सालमा राजा वीरेन्द्रको सपरिवार हत्या भयो नयाँ राजा ज्ञानेन्द्र आए र उनले निर्वाचित प्रधानमन्त्री बरखास्त गरी शक्ति हातमा लिए । अझ माघ १९ मा त मन्त्रिपरिषदको अध्यक्ष आफै भए । यसको विरोधमा सबै पार्टी मिलेर सङ्घर्ष गर्ने र त्यो सङ्घर्षको नेतृत्व गर्ने सबै दलले यिनलाई आग्रह गरे । तर यिनी त्यसलाई अस्वीकार गरेर राजाको पक्षमा लहसिन पुगे । जीवनमा पहिलो चोटी यिनले गरेको यो भयङ्कर ठूलो भूल थियो । २०६२/०६३ को जनआन्दोलनमा यिनी निस्कृय बसे । २०६२÷०६३को जनआन्दोलन सफल भएपछि भने यिनले आन्दोलनकारी दल र नेपाली जनतालाई बधाई दिँदै वक्तव्य निकाले । अझै पनि यिनी संवैधानिक राजा राख्नुपर्दछ भन्ने लविङ गर्दै थिए । तर नेपालको विलासी र भ्रष्ट राजतन्त्र राख्नु पर्दछ भन्ने मान्यतामा नेपाली जनता थिएनन् ।
संविधान सभाको निर्वाचन भयो । यो निर्वाचनमा माओवादी पहिलो शक्ति, नेपाली काँग्रेस दोस्रो शक्ति र एमाले तेस्रो शक्ति र मधेशवादी दल चौथो शक्तिका रूपमा आए । सर्वसम्मत रूपमा संविधान सभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । यो घोषणा पश्चात यिनले नेपाली काँग्रेस पार्टी परित्याग गरे । यो उनको अर्को ठूलो भूल थियो । यिनी भ्रष्टाचार विरोधी त थिए तर यिनको जनचेतना अनुसार अगाडि बढ्नेसोच भएन । त्यसैले यिनीलाई नै नेपाली लोकतान्त्रिक आन्दोलनमा सुरूवात काल र मध्यकालमा जनताले अगाध माया गरे तर यिनको अन्तिम कालमा काल अनुसार चल्न नजान्दा यिनको पुरानो छविमा धब्बा भने लागेकै हो । तर पनि नेपाली सभ्यता र लोकतान्त्रिक आन्दोलन र जनअधिकार वहालीको आन्दोलनमा यिनको चर्चा नगरी इतिहासलाई मूल्याङ्कन गर्न सकिन्न ।
यिनी नेपालीपना र देशभक्तिको मामलामा भने अरूभन्दा अगाडि नै थिए । राजाको पालामा भएको भारतसँगको खराब सम्बन्धलाई यिनी प्रधानमन्त्री भएपछि सुधारे । यिनकै पालामा भारतसँग बराबरका आधारमा व्यापार तथा वाणिज्य सन्धि भयो । नेपालको मधेशी समुदायलाई नेपाली सेनामा किन भर्ती गरिन्न भन्ने प्रश्नमा यिनले उल्टै भारतले विहारीलाई भारतीय सेनामा किन भर्ना नगरेर नेपाली पहाडी र पञ्जावीलाई मात्र गर्छ ? भनेर प्रतिप्रश्न गर्दै तत्कालीन भारतका प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहलाई समेत अप्ठेरोमा पारेर नेपालीपन र नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र देशभक्तिको अनुपम उदाहरण पेश गरेका थिए । यिनले त्यसबेला स्वामी विवेकानन्द फाउण्डेसनले आयोजना गरेको भारत वर्षको सभ्यता सम्बन्धी गोष्ठीमा नेपाली सभ्यता भारतवर्षमा मात्र नभएर विश्वमै पुरानो हो भनेर रोचक प्रसङ्ग उठाएका थिए । जे भए पनि नेपाली राष्ट्रिय जागरणको इतिहासमा यिनको चर्चा नगरी नेपाली सभ्यताको विकासको इतिहास पूरा हुन्न ।
(कृष्णप्रसाद भट्टराईको ९७ औ जन्म जयन्तीको अवसरमा लोककृष्ण भट्टराईको ‘नेपाली सभ्यता : विगत र वर्तमान ‘ पुस्तकबाट साभार गरिएको हो । ) तस्विरहरु : सामाजिक सञ्जाल
वि.सं.२०७७ पुस ८ बुधवार ०९:३९ मा प्रकाशित






























