जुन शक्तिले नेपालमा बारम्बार मित्रता र सहयोगको आवरणमा यसप्रकारका संकट/महासंकटहरु थोपरिरहेको छ, त्यो शक्तिले नेपालको राष्ट्रिय हित र सबलताको लागि, देसभक्तिको लागि, आत्मनिर्भरताको लागि अनि स्थिरता र स्थायित्वको लागि कहिले कुनै सहयोग गरेको छैन र गर्दैन पनि । तरपनि हामी भने व्यक्तिगत, गुटगत र पार्टीगतजस्ता सिमित, संकुचित र क्षुद्र स्वार्थको निम्ति उनकै आसपासमा परिक्रमा गरेर उनकै दलाल र दास बनी उनैबाट गाँसको आस गर्ने गरेका छौं ।
महासंकटको अर्थ र पृष्ठभूमि :
पछिल्लो आम निर्वाचनपछी बनेको नेकपाको ओली नेतृत्वको दुई तिहाईको बलियो र स्थायी सरकारबाट देसको संक्रमण र संकटग्रस्त कालको अन्त्य भएको विश्वास गरिएको थियो । यसङ्गै देसमा स्थायित्व, सुव्यवस्था, सुशासन, समृद्धी र विकासको अपेक्षा पनि गरिएको थियो तर वली नेतृत्वको सरकारले आफ्नो दुईतिहाई नजिकको संसदलाई असमयमै हठात् र बलात् भङ्ग गरेसँगै आफ्नै पार्टीमा समेत फुट आएको छ । तत्पश्चात् देसका प्रतिगमनकारी र यथास्थितिवादी शक्तिहरु मात्र होइन, वैदेसिक प्रतिकृयावादीहरु समेत आआफ्ना स्वार्थ पूरा गर्न/गराउनको लागि आआफ्नो न्वारानदेखिको बल लगाएर चलखेल गरिरहेका छन् । यो अवस्था एक असाधारण, अति गम्भीर, परम अराजकतापूर्ण र चरम संवेदनशील अवस्था हो । विगत आठ दसकदेखी देसको अग्रगमनलाई लिएर बारम्बार भैरहेका विभिन्न संघर्ष, आन्दोलन, द्वन्द्व र युद्धबाट आक्रान्त अस्थीर, अशान्त, अन्यौलग्रस्त र क्षतविक्षत भै संकटग्रस्त बनिरहेको हाम्रो देसले अब त निकास र विकास पाउला भन्ने बेलामा यो अप्रत्याशित घटना बेहोर्नु पर्दा देस महासंकटमा परेको अनुभव भएको छ । यो सामान्य घटना र अवस्था नभएर एक विशेष, विडम्बनापूर्ण र असामान्य अवस्था र गम्भीर दुर्घटना भएको र यसबाट पार पाउन धेरैनै ठूलो सकसपूर्ण कठिनाइँबाट गुज्रनु पर्ने देखिएकोले नेपालको वर्तमान अवस्थालाई महासंकटपूर्ण अवस्था भनिएको हो ।
महासंकटका मुख्य कारणहरु :
१)अमेरिका, भारत र इयूलगायतका साम्राज्यवादी(विस्तारवादी राष्ट्रहरुको चीनसँगको प्रतिस्पर्धा र प्रतिद्वन्द्वीता, ईर्ष्या र डाह, विद्वैष र विरोध, अवरोध र आक्रामक नीति र गतिविधिका कारण नेपालमा यो संकट एक महासंकटका रुपमा प्रकट भैरहेछ ।
२) देसका राजनीतिक शक्तिहरुको सत्ता र भत्तास्वार्थका लागि सत्ताधारी नेकपाकै विभिन्न गुट/उपगुट र व्यक्तित्व/नेतृत्वको बिचमा केही समयदेखी भैरहेको आपसी झगडामा उपरोक्त साम्राज्यवादी/विस्तारवादी शक्तिकेन्द्रहरु खेल्दा यो महासंकट पैदा भएको स्पष्टै छ ।
३) यो संकट अघिपछिको जस्तो सामान्य संकट नभएर एक विशेष संकट भएकाले महासंकट भनिएको हो । यो यसकारण महासंकट हो कि यस्ले गर्दा नेपाल अन्यौलता, अनिश्चितता, अस्थीरता र अराजकता अनि द्वैष, द्वन्द्व र दमन/प्रतिरोधको भीषण दुश्चक्रमा फस्न गैरहेको छ । साथै, यो सामान्य र चानचुने तरिकाले अनि छिटै र सहजै हल हुने पनि देखिंदैन ।
४) यो संकट यसकारणले पनि महासंकट भैरहेको छ कि यसमा देसका प्रतिकृयावादी शक्तिहरुको मात्र होइन, अन्तर्राष्ट्रिय महाशक्तिहरुको समेत चासो, चिन्ता र चलखेल मात्र नभै द्वैष, द्वन्द्व र दानवी प्रवृत्तिद्वारा हाम्रो देस, जनता र अग्रगमनलाई दमन र समन गर्ने रणनीती अन्तर्निहित छ ।
५)यो महासंकट निर्वाचित संसद विघटन र सत्ताधारी दुईतिहाई बहुमतको सत्तासीन पार्टीमा आएको ठूलो विभाजनका कारणले मात्र नभई यसकारणले पनि आएको हो कि यसको अन्तर्यमा राजतन्त्र, हिन्दू राष्ट्र, एकीकृत र केन्द्रीकृत शासनप्रणालीको पुनर्स्थापना गरी देसलाई पूरै प्रतिगमनमा लैजाने देसी/विदेसी प्रतिकृयावादी शक्तिहरुको गम्भीर षड्यन्त्र लुकेको छ ।
६) वर्तमान संकट महासंकट हुनु र भनिनुमा सबैभन्दा महत्वपूर्ण कारण यो रहेको छ कि देसमा द्वन्द्वको पुनरावृत्ती गराई कथित द्वन्द्व समाधानका नाममा वैदेसिक सेना भित्र्याई नेपाल र नेपालीलाई लुट्ने र मेट्ने अनि नेपाल र नेपालीको सच्चा सहयोगी छिमेकी मित्रराष्ट्र चीनलाई भुट्ने (Disturb, Dominate, Divide & Destroy . 4D गर्ने ) रणनीति लुकेको छ ।
७) यसै रणनीतिको एउटा अङ्गको रुपमा यहाँ MCC सम्झौता गरिसकिएको छ र त्यसलाई संसदबाट पारित गरी स्थायीरुपमा सबल र सुदृढ गरिंदैछ । हालै मात्र पूर्व माओवादी तर्फका नयाँ उर्जामन्त्री टोपबहादुर रायमाझीले समेत मन्त्रालय प्रवेश गर्दाकै अवसरमा MCC आवस्यक छ र संसदबाट पारित गर्नुपर्छ भनी पहिलो सम्बोधनमै भनेको कुराबाट पनि उपरोक्त कुरा पुष्टि हुन्छ ।
८) वर्तमानको यो संकट उत्पन्न हुनुको सबभन्दा प्रमुख कारण त यहाँका नेता/शासकहरु, राजनीतिक पार्टीहरु र संसदीय व्यवस्था स्वयं हुन् । नेता/शासकहरुका दलाल र दास चिन्तन र चरित्र तथा संसदवादी राजनीतिक पार्टीहरुका यथास्थितिवादी र नवउदारवादी मति र गति एवं नीती र कृति अनि संसदीय सरकार, शासनप्रणाली र सत्ताको जनविरोधी, क्रान्तिविरोधी र प्रगतिविरोधी सारतत्व नै वर्तमान महासंकटका समेत मुख्य कारक हुन् ।
९) एउटा विचित्रको दुखद विडम्बना के भैरहेछ भने नेपालमा कुनैपनि देसभक्त, लोकतान्त्रिक र अग्रगामी शक्ति, व्यक्ती वा संघसंस्थालाई सबल र सुदृढ हुन नदिनको लागि उक्त निकायमा वैदेसिक शक्तिहरुले वैचारिक विचलन, वैमनस्य र विद्वैष बढाइदिएर विभाजन ल्याइदिने गर्दछन् र गरेका छन् ।अहिले पनि यो खेल मूलतः सत्ताधारी नेकपाभित्र खेलिएको छ र यसको एउटा गुट (वलीगुट) लाई संसद विघटन गर्न लगाई चुनाव जिताउन सहयोग गर्ने आश्वासन दिने तथा अर्को पक्ष (प्रचण्ड-माधवगुट) लाई भने संसद पुनर्स्थापनाको लागि संघर्ष गर्न र नेका/मधेसवादीसँग संयुक्त सरकार बनाई नेतृत्व गर्न सुर्याउने एउटै शक्ति केन्द्रबाटै भैरहेको छ। त्यसमाथी पनि उही एउटै वैदेशिक शक्ति केन्द्रले एकातिर राजावादीहरुलाई राष्ट्रिय एकता, राजतन्त्र, हिन्दुराष्ट्र अनि एकीकृत र केन्द्रीकृत शासनव्यवस्थाको लागि उकासेर आन्दोलन गर्न लगाउने र अर्कातिर नेका/मधेसवादीलाई लोकतन्त्रको रक्षा र विकासको लागि लड्न प्रेरित, प्रोत्साहित र प्रलोभित गर्दै देसमा अन्यौलता, अराजकता, अस्तव्यस्तता, अस्थिरता र अतिवाद बढाएर अर्थात् नेपाललाई पुनः भीषण द्वन्द्वमा फसाई कमजोर, कङ्गाल र कारुणिक अवस्थामा पुराएर नेपालबाट आफ्नो कुत्सित स्वार्थ पूर्ती गर्ने निहित उद्देश्यले चलखेल, सरसहयोग र हस्तक्षेप गरिरहेको छ ।
र, यो हस्तक्षेपको प्रकृया नेपालमा शान्ती र स्थायित्वका नाममा विदेसी सेना उतारेर थप द्वन्द्व र अशान्ती मच्चाउँदै नेपाल र नेपालीप्रती जिम्मेवार देखिएका वैचारिक/राजनीतिक पार्टीहरु, सामाजिक/सांस्कृतिक संघसंस्थाहरु र आर्थिक/व्यापारिक प्रतिष्ठानहरुलाई मात्र होइन पूरै नेपाल र नेपालीलाई विभाजित गरेर नेपाल र नेपालीको नामनिशान नै नराख्नेतिर उद्धत छ । हामी भने विदेसीहरुको यो चाल, जाल र ढाल अर्थात् कुनियत, डिजाइन र षड्यन्त्र नबुझीकनै कुर्सी स्वार्थमा अल्झिदै विरबलको खिचडी पकाएर खाने वा मनको लड्डु घिउसित खाने कपोल कल्पनामा डुबेर आआफ्ना डम्फू ठोक्दै आफू नै क्षतविक्षत हुनेगरी आपसमै लड्दै छौं । यसरी संकटको मार खेप्ने पक्ष नेपालका राजनीतिक शक्ति/व्यक्तिहरुबाट समस्याको समाधान र संकटको हल गर्न प्रयत्न हुनुको साटो उल्टो उनीहरुबाटै समस्यालाई उल्झाउने र संकटलाई बल्झाउने गर्ने कार्य भरहेकोले वर्तमान संकटलाई एउटा असाधारण, गम्भीरतम र जटिलतम महासंकट भन्न खोजेर महासंकट पदावली प्रयोग गरिएको हो ।
निष्कर्ष :
जुन शक्तिले नेपालमा बारम्बार मित्रता र सहयोगको आवरणमा यसप्रकारका संकट/महासंकटहरु थोपरिरहेको छ, त्यो शक्तिले नेपालको राष्ट्रिय हित र सबलताको लागि, देसभक्तिको लागि, आत्मनिर्भरताको लागि अनि स्थिरता र स्थायित्वको लागि कहिले कुनै सहयोग गरेको छैन र गर्दैन पनि । तरपनि हामी भने व्यक्तिगत, गुटगत र पार्टीगतजस्ता सिमित, संकुचित र क्षुद्र स्वार्थको निम्ति उनकै आसपासमा परिक्रमा गरेर उनकै दलाल र दास बनी उनैबाट गाँसको आस गर्ने गरेका छौं । यो हाम्रो आसे/पासे र गासे/दासे सोंच र शैली धेरैनै घातक छ । त्यसैले पनि वर्तमान संकटलाई एक असमाधेय र असाधारण प्रकारको जटिल र गम्भीर संकट अर्थात् महासंकट भनिएको हो । जेहोस् र जे भनियोस् तापनि जुनसुकै र जस्तो सुकै समस्या/महासमस्या र संकट/महासंकटको पनि समाधान हुन्छ । समस्यासङ्गै समाधान जन्मिने कुरा सार्वभौम सत्य नै हो । यत्ती हो कि कुनै संकटको समाधान छिटै र सजिलै पत्ता लाग्ने र हल पनि हुने गर्छ भने कुनै अलि जटिल र गम्भीर संकटको समाधान खोज्न केही बढी समय, श्रम, शक्ति र बुद्धि खर्चनुपर्ने हुन्छ । नेपालको वर्तमान महासंकटको हल पनि यहीं छ, हामीभित्रै छ र हामीले नै यो खोज्न र हल गर्नको लागि आँट र साहस गर्नु पर्छ र यसो गर्न हामी सचेत र संघर्षशील नेपाली नागरिकहरु नै सक्छौं र सक्नु नै पर्दछ अन्यथा हामी नेपाली नागरिक हुनुको नै अर्थ र औचित्य समाप्त हुने प्रबल खतरा छ । त्यसैले बेलैमा सचेत र संगठित होऔं र संयुक्त र सशक्त संघर्षद्वारा सबैखाले षड्यन्त्र र हस्तक्षेपको विरोध, अवरोध र प्रतिरोध गरौं र यस्ता संकटहरु र यो महासंकटको पनि स्थायीरुपमै समाधान गरौं ।
वि.सं.२०७७ पुस १४ मंगलवार १९:१६ मा प्रकाशित






























