
यो राजा महाराजाको कथा होइन । न त यो कुनै विद्वान, धनि ब्यापारी, नाम चलेको नेता वा अंग्रेजी बोल्ने पण्डितको नै कथा हो । यो कथा गाइने कालेको हो । एउटा बास्तबिक सर्वहाराको कथा हो । अझ भन्नु पर्दा ब्यथा हो । कट्टु फुकालेर छेडुवा र सानो समीको रहमा पौडी खेल्ने बेला देखी चिनेको हो उसलाई ।
हाम्रो गाउँमा बाहिरबाट आएर बसेको, हामी संगै एउटै कुवाको पानी खाएर हुर्केको मान्छेको कथा हो । कथा होइन एक पन्नाको शोक भनौं श्रद्धान्जली, शब्दको पोको हो । धन सम्पत्ति थोरै धेरै हुने मान्छेको फेहरिस्त लामो हुन्छ । उसका आफन्त हुन्छन । छोराछोरी, दाजुभाइको संगठित बस्ति. हुन्छ, गोठमा बस्तुभाउ हुन्छन । लेनदेन हुन्छ । अन्नपात राख्ने भकारी, डोकोडालो हुन्छ । बेला बखतमा चाड़पर्व भोजभतेर हुन्छ । इष्ट मित्र आऊँछन् । उसको घरमा यस्तो कहिल्यै देखिएन ।
मैले अनुभव गरेको र गाउँका बुढापाकाहरुको कुरो सुन्दा उ एउटा कुरामा भने धनि थियो । त्यो हो,उसको इमान्दारिता । ढाँटछल गर्ने, चोरी गर्ने उसले जीवनमा कहिल्यै गरेन । गाउँमा परेको दुःख सुख,आपत बिपदमा उसले हातमा हात र काँधमा कांध मिलायो । गाइने काले एउटा गीतकार,बाद्यबादक, कालिगढ़ थियो । डोको डालो बुन्ने देखि सबै काममा उ निपुण थियो । बच्चाहरुको पनि साथी थियो । ठिटाहरुको मनको साथीको काम गथ्यो बैंशको बेलामा । गाउँमा पहिला पहिला गीत गाउने ,रोदी लगाउने चलन हुन्थ्यो। लाहुरेहरु छुट्टिमा आउँदा यो क्रम अझ बाक्लिन्थ्यो । गाउँका ठिटाहरुको हुलाकी भएर गाइने कालेले सारंगी घोट्दै पैयुँ खोलाका दर्जनौं गाउँ घुम्ने गरेको र युवा युवतीको खबर आदान प्रदान गरेको रमाइलो इतिहाँस छ । सायद यस्तै यस्तै घटनाले पनि होला उसलाई यो गाउँ छाडेर अन्त जान मन लागेन । आफ्नो झुप्रोमा अन्नपात सकिए पनि गाइने कालेलाई भोकै बस्न परेन भन्ने अनुभूति गरेको छु मैले ।
दानकाजी श्रेष्ठको बुवा शिवलाल श्रेष्ठले आफ्नै छोरो जस्तो गर्थे । २०५० सालमा शिवालालको स्वर्गारोहण भएपछि उसले आँफुलाई टुहुरो भएको महशुस गर्यो । ‘मैले मलाइ जन्माउने बाउको माया नपाए पनि यो गाउँमा आए पछि बाउ पाएको थिएं । अब मेरो कोहि छैन ।’ म संगको भेटमा एक पटक उसले भनेको कुरा यति बेला मैले सम्झीरहेको छु । त्यसपछि पनि उसले हटियाको माया पाइनै रह्यो । शिवलालले आश्रय दिएको बाटेगरामा धेरै बर्ष उसले बितायो र उनका छोरा नातीहरुले पनि गाइने कालेलाई आफ्नै परिवारको सदस्य जस्तो गरिनै रहे ।
बिन्दास पाराको गाइने कालेलाई आफ्नो जातिय समुहमा मिसिएर बस्न मनले मानेन । पैयुँ हटियाले उसलाई साँच्चिकै मोहनी लगायो । के थियो होला त्यो सानो झुपडी जसलाई उसले कहिल्यै छाड्न सकेन । पोखराको बाटुले चौरमा अवस्थित गाइने गाउँबाट होचिमिन्हको जस्तै पातलो लामो दाह्री पालेका बुढा घुम्दै गीत गाउँदै हिंड्ने क्रममा साथमा आफ्नो नातीलाई पनि संगै लिएर हिँडे। सम्भवतः यो २०२८ साल तिरको कुरो हो । सारंगीको भाकामा गाउँदै,घुम्दै गर्दा उनि पैयुँ हटियामा पुगे ।
जब उनि पैयुँ हटियामा पुगे त्यहाँबाट अगाडी बढ्न उनका खुट्ट्टाले मान्दै मानेनन ्। त्यहि नाती नै गाइने कालेको नामले गाउँमा चिनियो । उसको खास नाम भने मृत्युपछि मात्र थाहा भयो, भिम बहादुर रहेछ ।
नेवारहरुको बाक्लो झुरुप्प बसेको बस्ति, आपसमा हुने सहयोग र बाहिरबाट आउने अपरिचितलाई गरिने सम्मान र सहयोगको भावनाले नै होला कालेका बाजेलाई यहीं जम्न मन लाग्यो । कालेका बाउको बारेमा केहि जानकारी हुन सकेन । सम्भवतः कालेलाई सानै छोडेर उसका बाउले यो संसार छाडेको हुनु पर्छ । बाजे शिक्षित थिए । पात्रो हेर्थे, फुकफाक गर्थे। सामान्य आयुर्वेदिक औषधिको ज्ञान थियो । आफ्नो नाति प्रति अगाध माया थियो उनको । समय क्रममा केहि बर्ष पछि बाजेको निधन भयो । अन्त्य कर्म देखि काजक्रिया नातीले सबै गर्यो । जेठी र कान्छी दुवै श्रीमतीको समेत उसले निधनपछि सबै कर्म पूरा गर्यो ।
केहि बर्ष कहिले कसको घरको छिंडीमा कहिले कसकोमा गर्दै गरेको देखे पछि चौधरी कान्छा बुढाको मन पग्ल्यो । बाटेगह्रामा चिटिक्क परेको झुपडी बनाइ दिए । एउटा घटना यहाँ लेख्न मन लाग्यो मलाइ ।
२०३९ साल तिरको घटना हुनुपर्छ । राती ११ बजेको थियो होला । महिना त्यस्तै कार्तिक मंसीरको हुनुपर्छ । चौधरी कान्छा बुढा (शिवलाल श्रेष्ठ ) हाम्रो घरमा आए । हामीले मितेरी साइनोले ठुलाबा भनिन्थ्यो । दशैंमा टिको लगाउन जाँदा १० पैसा नघटाई दिनु हुन्थ्यो । घरमा हामी सुत्ने बेला भै सकेको थियो । हाम्रा बालाई ठूला भन्नु हुन्थ्यो । चर्को स्वरमा बोलाउंदै , ‘ए ठूला उठ, यो काजीले मलाइ हैरान पार्यो, घरमा सिन्को नभाच्ने बाहिर बाहिर लखर लखर हिंड्छ, एक डोको घाँस काट्ने हैन । यसलाई मैले अंश दिन्न, बरु गाइने कालेलाई दिन्छु , तिम्ले के भन्छौ ल भन’ बा सुतेकै खाटमा बसेर बुढाले मज्जाले पाखुरा सुर्की सके पछि बाले सोध्नु भयो, ए गाइने कालेलाई अंश दिने भए मरेपछि किरिया पनि त्यसैले गर्छ होला हैन ? बुढाको मुख बन्द भयो एक शब्द अगाडी बढेन । साँझ परेपछि कपालमा तेल घसेर, पुलामीको भट्टी तिर जान्छ, फेरि अर्को गुनासो शुरु भयो । केहि छिन गलफत्ती पछि उहाँ घरतिर झर्नु भयो । अंशै नदिए पनि गाइने कालेलाई छोरा सरह माया गरेको हामीले देखियो । दशैंमा राँगो काट्दा सबैको भाग कटाएर दिंदा गाइने कालेको दशैं उत्पात रमाइलो हुन्थ्यो । लाखे नाच्ने बेलामा हरेक पटक जोक्करको भूमिका निभाउने गाइने काले नेवारी संस्कृतिमा मज्जाले घुलमिल भएर बसेको देखियो ।

नेपालमा जाति तथा समुदायका अध्येताहरुको मत अनुसार गाइने (गन्धर्व ) खस जाति अन्तर्गतको एउटा सम्प्रदाय हो । समाज बिकासको क्रममा यो जातिलाई ठूला बडाहरुले अछुत बनाएको कुरामा कुनै शंका छैन । गन्धर्व जातिलाई अछुत बनाउनुका केहि कारणहरु पनि छन् । उनिहरु घुमन्ते भएकाले निश्चित भूभागमा घरजम गरेर बस्ने, खेतीपाती, उद्योग ब्यापार गर्ने, सम्पति जोड्ने गर्न सकेनन । शिक्षा स्वास्थ्य जीविका जस्ता आधारभूत आवस्यक्ताबाट अनिहरु बन्चित रहे । राज्यले बिस्तारै उनिहरुलाई किनारमा धकेल्यो । जसको कारण उनिहरु समाजमा अछुत, अपहेलित हुन पुगे । सहर र गाउँमा घटेका घटनाक्रमलाई गीतको माध्यबाट पहाड देखि तराइसम्म साह्रै मिठो भाकामा ¥याइँ¥याईं सारङ्गी रेट्दै सूचना दिन घरघरमा डुल्ने, गन्धर्व जातिले नेपालको लोककलालाई संरक्षण गरेका छन् । गीत गाउनु उनीहरूको पुख्र्यौली पेसा हो । पछिल्लो समयमा यो कलालाई निरन्तरता दिनेको संख्या घट्दै गएको छ । युवा पुस्तामा गीत गाउने पेशा प्रति आकर्षण छैन । उनीहरूको जीवन्त आवाज युटुबमा बज्न थाले पछि यो कला ओझेलमा परेको छ ।
गीतामा गन्धर्व जातिको बारेमा धेरै ठाउँमा बर्णन गरिएको छ । कश्यप ऋषिका तीन पत्नी थिए । उनीहरुबाट सुरु भएको सृष्टिमा क्रमशः गन्धर्व, यक्ष, र राक्षस (असुर) बने । गन्धर्व विशिष्ट शक्तियुक्त मानवेतर प्राणी हुन् । गन्धर्वलाई संगीत र कलाका विशिष्ट शक्ति प्राप्त छन् । यिनीहरु स्वर्गमा बस्छन् भनेर कलात्मक ढंगबाट बर्णन गरिएको छ । गन्धर्वका सुन्दर पत्नीहरू हुन्छन भनेर बर्णन गरिएको छ ,जसलाई अप्सरा भनिन्छ । विश्वावसु एक गन्धर्वको नाम हो जसको उल्लेख मेघदूत काव्यमा गरिएको छ । चित्ररथलाई प्रमुख गन्धर्व भनेर गीताको ( १०.२६) बताइएको छ ।
बिन्दास पाराको गाइने कालेलाई आफ्नो जातिय समुहमा मिसिएर बस्न मनले मानेन । पैयुँ हटियाले उसलाई साँच्चिकै मोहनी लगायो । के थियो होला त्यो सानो झुपडी जसलाई उसले कहिल्यै छाड्न सकेन । पोखराको बाटुले चौरमा अवस्थित गाइने गाउँबाट होचिमिन्हको जस्तै पातलो लामो दाह्री पालेका बुढा घुम्दै गीत गाउँदै हिंड्ने क्रममा साथमा आफ्नो नातीलाई पनि संगै लिएर हिँडे। सम्भवतः यो २०२८ साल तिरको कुरो हो । सारंगीको भाकामा गाउँदै,घुम्दै गर्दा उनि पैयुँ हटियामा पुगे ।
गन्धर्व जाति मौखिक इतिहांसका सर्जक र संवाहक हुन् । भन्ने र सुन्ने कलाका पारखी गन्धर्व जाति लोप हुँदै गएको जातिमा पर्दछ । २०६८ को जनगणना अनुसार नेपालको करिब ४० जिल्लामा गन्धर्वहरुको बसोबास पाइन्छ भने करिब ७ हजारको संख्यामा यो जाति रहेको छ । हिन्दु धर्मलाई अपनाउने नेपालका गन्धर्वहरुको ३९ प्रकारका थर रहेको तथ्यांक भेटिन्छ ।
अब फेरि हाम्रो गाइने कालेकै कुरा गरौँ हैत । मेरो जानकारीमा गाइने कालेले गीत मात्र गाउने कहाँ होर ! बाटे गह्रामा बस्दा जन्मिएका छोरा छोरी खेर जाने क्रम नरोकिए पछि उनले बस्ति सारे । तल्लारे ठुला काकैको छोरा कृष्ण श्रेष्ठले आफ्नो जगामा झुपडीको प्रबन्ध गराए । दान प्रसाद श्रेष्ठको परिवारले समेत धेरै बर्ष सेकताप गर्यो । धेरैका घरमा बालीघरे प्रथामा जोत्ने काम गरे । हाम्रो घरमा समेत ३ बर्ष हलीको काम गरे । जोत्न आएको पहिलो दिनको घटना सम्झन्छु सायद म १२ बर्षको थिएँ । पहिलो दिन उनि जोत्न आए । मकै छर्ने बेला थियो सियोमा मकै खसाल्ने काम मेरो थियो । जोत्न शुरु गरे पछि बाले अलि मेसै लगाएर जोत् है भन्नु भयो । कालेले बाले नसुन्ने गरि ‘गीत गाउने मान्छेलाई जोत्न लगाउने, अनि केको मेसो ?’ भन्दै हाँसेको सम्झन्छ ु।
यहि पुष महिनाको १२ गते ६५ वर्षको उमेरमा गाइने काले यस संसारबाट बिदा भए । उनको सारंगीले पनि बिश्राम लियो । मृत्यु पश्चात हटियाका युवाहरुले मर्दीखोला बजारमा चन्दा संकलन गरि सेतिबेनीमा हिन्दु विधिपूर्वक उनको अन्त्यष्टि क्रिया सम्पन्न गरे । यस्तो कर्ममा नित्य खटेर सहयोग गर्ने कृष्ण श्रेष्ठ, बिकास श्रेष्ठ, सुन्दर श्रेष्ठलाई उनको दिब्य आत्माले पक्कै आशिर्बाद दिनेछ । अन्यले पनि पक्कै योगदान गर्नु भएको होला ।
मैले मेरो जानकारीमा आएको कुरा मात्र उल्लेख गरेको हुँ । जर्मनीमा बस्ने शिवलाल श्रेष्ठको नाती समिर श्रेष्ठले गाइने कालेलाई खाद्यान्न किनेर खान रु ५ हज्जार सहयोग गरेका रहेछन । बिडम्बना उनले सहयोगको रकमले खाद्यान्न किने तर उपभोग गर्न पाएनन । थुप्रै सन्तानका बाउ र दुइटा रानीका श्रीमान गाइने काले (हरि बहादुर ) ले अहिले आफ्ना दुइ जीवित सन्तान हामीलाई उपहार छाडेका छन् । छोरी ११ कक्षामा पढ्छिन । छोरा सुस्त मनस्थितिका छन् । यी दुई सन्तानको अहिलेसम्म स्थायी बसोबासको ठेगान छैन । गाइने कालेका सन्ततिको बारेमा के सोच्नु भएको छ ? भनेर मैले दानकाजी श्रेष्ठलाई सम्पर्क गरें । ’‘धेरै पहिला देखि घर बनाउने जग्गा उपलब्ध गराउने कुरामा मैले दिने भनेको छु, अब उसका सन्तानलाई जसरि पनि घर बनाउन पर्ने भयो । सबै मिलेर सहयोग जुटाउन पर्यो, जग्गा त हामी जतिबेला पनि पास गरेर दिन्छौं ।’ भन्नु भएको छ ।
पैयुँ गाउँपालिका वाड न ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठले हुन सक्ने सरकारी सहयोग जुटाउन पहल गर्ने बाचा गरेका छन् । बिदेशमा विभिन्न पेशा ब्यबशाय गरि बस्ने पैयु खोलाका दाजुभाइ दिदि बहिनीहरुले सहयोग जुटाउन पहल गर्ने कुराकानी अगाडी बढेको छ । सबैले आफ्नो गच्छे अनुसार सहयोग गरौँ । यथासक्य तथा दानमा । उनको सम्झनामा कोरिएका केहि शब्द यस्ता बने ।
काले दाई तिम्रो मृतात्माको चिर शान्तिको कामना गर्दछु ।
हार्दिक श्रद्धा सुमन !
कैले जान्थ्यो लुङ्खुतिर,कैले पाखिम्बास
साँझ पर्दा त्यहि झुप्रोमा पुग्नु पर्ने आश,
भुर्तेल्थोक नेकर्गा र चिन्नेखर्क हुँदै
घर पुग्दा मात्तिएर चन्द्रमालाई छुँदै,
धरमपानी,बालाकोट सारंगीको भाका,
होस्रांदी र अर्गाऊंदिका छिचोलेर पाखा ।
सेतीखोला,मर्दीखोला गेडिखोला आफ्नै
हटियामा पुगे पछि थर्काउने जम्मै ।
बालक देखि बृद्धसम्म सबको प्यारो नाउँ
गाइने काले अटाउने हटियाको गाउँ ।
स्वर सुकेको सारङ्गीमा
गीत घोट्ने काले,
शोकको भाका गाउन थाले
हटियाका भाले ।
तिमी अब झुपडीमा छैनौ भन्ने सुन्दा,
श्रद्धान्जली दिएँ मैले मन मनै गुन्दा ।
वि.सं.२०७७ पुस १७ शुक्रवार १२:१७ मा प्रकाशित





























