back
CTIZAN AD

आजका मुख्य ७ खबर, के–के भयो हेर्नुहोस्

वि.सं.२०७७ माघ ५ सोमवार

888 

shares

माघ ५ गते, काठमाडौं । सोमबार सबै जसो सञ्चारमाध्यममा मुख्यतः संसद विघटनको मुद्दामाथि सर्वोच्चको संवैधानिक इजलजासमा भईरहेको बहसका विषय नै मुख्य समाचार बनेका थिए । साथै नेपालमा भेटिएको नयाँ कोरोना भाइरसबारे पनि सञ्चार माध्यममा निकै चर्चा भएको छ ।

सोमबार विभाजित नेकपाको मुख्यतः प्रचण्ड–नेपाल पक्षका कार्यक्रमले सञ्चार माध्यममा प्राथमिकता पाएका थिए । पढ्नुहोस् दिनभरका मुख्य ७ खबर –

१. नेपालमा पनि देखियो कोरोनाको नयाँ भाइरस

बेलायत र अफ्रिकी मुलुकहरुमा देखिएको कोरोनाको नयाँ भाइरस नेपालमा पनि देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती सार्वजनिक गर्दै बेलायतबाट फर्किएका ३ नागरिकमा कोरोनाको नयाँ भाइरस देखिएको जानकारी दिएको हो । मन्त्रालयले जनाएअनुसार ६ जनाको परिक्षण गर्दा ३ जनामा नयाँ भाइरस देखिएको थियो ।

बेलायतबाट फर्किएका नागरिकहरूबाट संकलन गरिएको नमुना परीक्षण गर्दा एस जिन टार्गेट नेगेटिभ देखिएपछि नयाँ प्रजातिको भाइरस पुष्टि गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा २७ पुसमा मन्त्रालयले नमुना हङकङ पठाएको थियो । नमुना परीक्षणपछि इमेलमार्फत राष्ट्रिय जनस्वास्थ्य कार्यालयलाई पठाएको नतिजामा तीनजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना देखिएका सबैलाई विशेष निगरानीमा राखिएको बताएको छ ।

२. संसद विघटनविरुद्धको रिटमा आज पनि सुनुवाई, नेम्वाङको अभिव्यक्तिबारे चर्चा

प्रतिनिधि सभा विघटनविरुद्व परेको रिटमाथि दोस्रो दिनको सुनुवाई सकिएको छ । सोमबारको सुनुवाईमा निवेदकको तर्फबाट दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए । सोमबारको बहस हेर्दाहेर्दैमा सकिएको छ । अब बहस मंगलबार पुनः हुनेछ ।

आजको बहस प्रधानमन्त्रीको कदम सही कि गलत भन्नेमा केन्द्रीत थियो । सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहसमा सहभागी हुँदै अधिवक्ता दिनमणि पोखरेलले पार्टीभित्रको विवादका आधारमा संसद विघटन गर्न नमिल्ने तर्क राखेका थिए ।

उनले आफुँले सरकार चलाउन नसकेपछि संसद बन्द गर्नु प्रधानमन्त्रीको दुरासयपूर्णं कदम भनि तर्क गरेका थिए । ‘आफूले चलाउन नसकेपछि अरूले चलाउने बाटो पनि बन्द गरिदिने ? यो त दुरासयपूर्ण भयो’ पोखरेलले भनेका थिए, ‘पार्टीले सहयोग गरेन अनि मैले सरकार चलाउन सकिनँ भनेर प्रधानमन्त्रीले स्वीकारीसक्नु भएको छ ।’

आजको बहसमा ‘प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्न मिल्दैन’ भन्ने संविधानसभा अध्यक्ष सुवास नेम्वाङको भिडियोले प्रवेश पाएको थियो । बसहका क्रममा अधिवक्ता पोखरेलले नेम्वाङको भिडियोबारे ‘मौकामा बोलेको त प्रमाण लाग्छ नि श्रीमान् ?’ भनि प्रश्न तेर्साएका थिए ।

उनले भनाई सुवास नेम्वाङको नभई संविधान सभा अध्यक्षको भएको भन्दै प्रमाणका रुपमा राख्नुपर्ने बताएका थिए । ‘यो कुरा सुवास नेम्वाङले भनेको होइन, संविधान सभाको चेयर पर्सनले भनेको हो’, उनले भनेका छन् ।

३. संसद विघटनबारे प्रचण्ड–नेपाल पक्षले माग्यो ओलीसँग अन्तिम स्पष्टीकरण

विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तिम पटक स्पष्टीकरण मागेको छ । प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले निर्णय गरेअनुसार ओलीसँग सोमबार स्पष्टीकरण मागेको हो ।

प्रचण्ड–नेपाल पक्षका सुरेन्द्र पाण्डे, मुकुुन्द न्यौपानेलगायतका नेताहरु सोमबार स्पष्टीकरण पत्र बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । तर, ओलीलाई पार्टी सदस्यबाट भने हटाएको थिएन ।

यसैबीच आफुँ पक्षीय महिला संघको कार्यक्रममा बोल्दै विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई सुध्र्रन अन्तिम पटक स्पष्टीकरण सोधिएको बताएका छन् । उनले ओलीको स्पष्टीकरण चित्त नबुझे पार्टीबाट हटाइने बताए ।

४. प्रदेश १ को राजनीतिमा नयाँ तरंग, प्रचण्ड–नेपाल पक्षमा लागेका ३ सांसदले दिए मुख्यमन्त्रीलाई साथ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्व दर्ता भएको अविश्वासको प्रस्तावबाट नेकपाको प्रचण्ड–नेपाल पक्षका तीन सांसदले हस्ताक्षर फिर्ता गरेका छन् । प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेरसहित ३ सांसदले हस्ताक्षर फिर्ता गरेका हुन् ।

हस्ताक्षर फिर्ता गर्नेमा गजमेरसहित गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली छन् । यसअघि उदयपुरकी सांसद कला घले र मोरङकी सांसद बसन्तीदेवी यादवले पनि हस्ताक्षर फिर्ता गरेका थिए ।

नेकपा विभाजनसँगै प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्व गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, यसबीच ३२ सांसद मात्रै अविश्वासको पक्षमा देखिएका छन् ।

५. संसद विघटनविरुद्वको आन्दोलनमा उत्रन प्रचण्ड र नेपालले गरे अपिल

विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद विघटनविरुद्वको आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रचण्ड र नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले गणतन्त्र र संविधान नै धरापमा परेको भन्दै त्यसलाई जोगाउन आन्दोलनमा आउन अपिल गरेका हुन् ।

‘प्रधानमन्त्री यतिबेला के ठिक र के बेठिक छुट्याउन सकिरहेका छैनन् । प्रतिनिधिसभालाई अचेत बनाएका छन् र न्यायपालिकालाई आफ्नो निर्णयको पक्षमा फैसला गर्न दबाब एवं धम्की दिइरहेका छन्’, प्रचण्ड ओलीको अपिलमा भनिएको छ, ‘यस्तो अवस्थामा राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिडाउन र संविधान जोगाउन प्रतिनिधिसभा पुनस्र्थापना गर्नु बाहेक अर्को विकल्प देखिँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेकी थिइन् । संसद विघटनपश्चात नेकपा विभाजित बनेको थियो । विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्ष निरन्तर आन्दोलनमा छ । नेकपाको प्रचण्ड–नेपाल पक्षले आगामी माघ ९ मा बृहत प्रदर्शनको तयारी पनि गरेको छ ।

६. आज पनि भेटिए ३ सय २२ कोरोना संक्रमति

पछिल्लो २४ घण्टामा देशैभरी ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ३०६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १६३ जनासहित देशैभरी ३२२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १२४ र १९८ जना पुरुष रहेका छन् ।

त्यसैगरी आज देशैभरी ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९६५ पुगेको छ ।

यसैबीच उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै थप सचेतना अपनाउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले कोरोनाको नयाँ भाइरस फैलनबाट बच्न सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डलाई ध्यान दिन आग्रह गरेको छ ।

७. साताको दोस्रो दिन पनि शेयर कारोबार उत्साहजनक, प्रभु बैंकको कारोबार सबैभन्दा बढि

साताको दोस्रो दिन नेप्से परिसूचक १७.३१ अंक अर्थात ०.७५ प्रतिशत बढेर २३३२.३२ विन्दुमा पुगेको छ । यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो । यस दिन २०७ कम्पनीको ५१ हजार ८१३ पटकको कारोबारमा ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

सोमबार १७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । यस दिन सो बैंकको ३३ करोड ४६ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नेपाल दूरसञ्चार कम्पनी र एनआईसी एशियाको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

सम्बन्धित समाचार

आईतबारका मुख्य ७ खबर, के–के भयो हेर्नुहोस्

वि.सं.२०७७ माघ ५ सोमवार २०:१७ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...