back
CTIZAN AD

भक्तपुरमा आजदेखि कोरोणाविरुद्धको खोप अभियान शुरु

वि.सं.२०७७ माघ १४ बुधवार

630 

shares

१४ माघ, भक्तपुर । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा अभियान शुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यममा बालुवाटारबाट एकैपटक तीन अस्पतालबाट खोप अभियानको उद्घाटन गरेसँगै भक्तपुर अस्पतालमा डा गौतमलाई खोप लगाएर उद्घाटन गरिएको हो ।

देशैभर एकैसाथ शुरु भएको खोप अभियानअन्तर्गत भक्तपुरमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयम्सेविका, सरसफाइ मजदूर र कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप लगाइने डा गौतमले जानकारी दिए । भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगर अस्पताल थिमिबाट आज बिहान १०ः३० बजेदेखि कोरोनाविरुद्धको खोप लगाउने कार्य शुरु हुने भएको हो ।

भक्तपुर अस्पतालमा जिल्लाका अस्पतालका स्वास्थ्यकर्मीसँगै चाँगुनारायण र भक्तपुर नगरपालिकाका अग्रभागमा रहेर काम गर्नेहरुलाई यो खोप लगाइने भएको हो । नेपाल कोरिया अस्पतालबाट मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाका तोकिएका व्यक्तिमा खोप लगाउन शुरु भएको हो ।

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भक्तपुरमा चार हजार भायल खोप पठाएको छ । शून्य दशमलव ५ मिलिलिटर खोपको मात्रा एक जनालाई दिइने भएकाले एक भायल बराबर कम्तीमा १० जनालाई खोप लगाइने छ । यसअघि खोपसम्बन्धी स्वास्थ्यकर्मीलाई भक्तपुरको सिद्धिस्मृति प्रतिष्ठानमा तालीम दिइएको थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार देशभरका ६२ अस्पताल र १२० खोप केन्द्रबाट खोप अभियान शुरु भएको छ । पहिलो चरणमा कोरोनाविरुद्ध अग्रभागमा काम गरिरहेका चार लाख ३० हजार जनालाई खोप लगाइने सरकारले जनाएको छ । अठार वर्ष उमेर पुगेका व्यक्तिले खोप लगाउन सक्ने भक्तपुर अस्पतालका मेसु डा गौतमले जानकारी दिए ।

गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजनामा रहेका तथा एलर्जीको समस्या भएका व्यक्तिले खोप लगाउन मिल्दैन । मुटुको रोग तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीले निर्धक्क खोप लगाउन मिल्नेछ । खोप लगाइसकेपछि स्वास्थ्यमा कुनै गम्भीर असर नपर्ने जिकिर गरिएको छ ।

खोप लगाएका ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने वा ज्वरो आउने, जीउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने र बान्ता हुने जस्ता समस्या देखिए नआत्तिन आग्रह गर्दै उनले गम्भीर समस्या आए सरकारले उपचार गर्ने बताए । त्यस्तो अवस्था आएमा उपचारका लागि भक्तपुर अस्पताल तयारी अस्पतालमा रहेको जनाइएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेर भारतमा उत्पादन भएको सो खोप भारत सरकारले १० लाख मात्रा नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएको थियो । सरकारले खोप निःशुल्क लगाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामध्ये काठमाडौँमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अस्पताल कीर्तिपुर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र शहीद गङ्गालाल अस्पताल बाँसबारीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुर तथा भक्तपुर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि खोप लगाइने भएको छ । सरकारले सबै प्रदेशमा खोप पु¥याइसकेको छ । स्वास्थ्यकर्मीमध्ये पहिलो खोप सरुवा अस्पताल टेकुका प्रमुख चिकित्सक सागरराज भण्डारीले लगाउने घोषणा गरेका थिए ।
रासस

वि.सं.२०७७ माघ १४ बुधवार १६:१२ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...