back
CTIZAN AD

डोल्पामा विकराल हुँदै ‘हेपाटाइटिस बी’

वि.सं.२०७७ माघ २१ बुधवार

630 

shares

२१ माघ, जाजरकोट । नेपालकै ठूलो जिल्ला डोल्पा १ अधिकांश भूभाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रभित्र पर्दछ ।

टेलिफोन सेवादेखि सडक यातायातको पहुँचमा उपल्लो डोल्पा अहिलेसम्म पुगेको छैन । खासगरी तीनवटा स्थानीय तहमा स्वास्थ्य सेवा, टेलिफोन सेवादेखि खाद्यान्नको पीडा यहाँ बस्ती भएदेखि यहाँका मानिसले भोग्दै आएका छन् ।

उपल्लो डोल्पाले सबै परिवर्तनहरु टुलुटुलु हेर्दै बसेको छ तर आफ्नो ठाउँको प्रगति र विकासका विषयमा भने मौन छ । यहाँका बहुमूल्य जडीबुटीदेखि प्राचीनकालमा निर्मित गुम्बामा रहेका मूर्ति चोरको निशानामा पर्दै आएका छन् ।

उपल्लो डोल्पामा पाइने जडीबुटीले संसारका मानिसलाई ज्यान बचाउन काम लाग्छ तर यहाँकै मानिसलाई भने सो औषधि आफ्नै गाउँठाउँमा नपाउँदा अकालमै ज्यान जाने गरेको छ ।

गर्भवती जाँचदेखि सुत्केरी हुँदासम्म समस्या पर्ने बित्तिकै लाखौँ रकम खर्च गरेर हेलिकोप्टरमार्फत चार्टर्ड गरेर देशका ठूला शहरमा गई धौधौ ज्यान बचाउनुपर्ने बाध्यता उपल्लो डोल्पाका सर्वसाधारणको सही नसक्नु पीडा छ । एक गाउँबाट अर्को गाउँमा जानका लागि दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको पीडा गाउँलेहरु बताउँछन् ।

अघिल्लो वर्ष डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३४३ मध्ये ७० जनामा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिएको थियो  । यस्तै, एक जनामा एचआईभी र तीन जनामा हेपाटाइटिस सी भेटिएको डा मेलिना हमालले बताइन् ।

वीर अस्पतालका वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसीले शिविरमा जाँच गराएका ३० प्रतिशतमा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिनुले समस्या विकराल नै भएको जानकारी उतिबेला नै दिएका थिए ।

तिब्बतीयनसँगको हेलमेलका कारण यो रोग भित्रिएको बताउँदै बच्चा जन्मनेबित्तिकै लगाइने ‘हेपाटाइटिस बी’विरुद्धको खोप नलगाइनुले पनि प्रकोप बढ्दै गएको उनको भनाइ थियो ।

‘हेपाटाइटिस बी’ सङ्क्रमितलाई रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले जानकारी दिएका थिए  । उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायत गाउँमा यो रोगका मानिस रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए ।

सोमबार मात्र छार्का ताङसोङ गाउँपालिका–१ का ४५ वर्षीय कार्मा गुरुङ र टोक्कार गुरुङ गरी दुई जनालाई हेपाटाइटिस बीकै कारण थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

हेलिकोप्टरबाट बिरामी लिँदा स्थानीयको रु पाँच लाखभन्दा बढी खर्च भएको छ । चिकित्सकले उपल्लो डोल्पामा हेपाटाइटिस बी बारेमा जानकारी दिँदादिँदै सरोकारवाला निकाय मौन हुँदा यहाँका नागरिक थप समस्यामा पर्ने निश्चित भएको डा मेलिना हमालले जानकारी दिइन् ।

अघिल्लो वर्ष बृहत स्वास्थ्य शिविरका लागि शे–फोक्सुण्डो गाउँपालिकाले बजेट विनियोजन गरे पनि सो शिविर गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए । उनका अनुसार यो आर्थिक वर्षमा पनि रु २५ लाख शिविरका लागि छुट्याएको छ ।

अहिले हिमपात भएका कारण रोकिएको बताउँदै न्यौपानेले भने, “चैत महिनासम्म बृहत् शिविर राखेर उपचारका लागि काम थालिने छ, हेपाटाइटिसका विषयमा छलफल भइरहेको छ ।”

त्यस्तै हेपटाइटिस बीबाट जोगिनका लागि डोल्पोबुद्ध गाउँपालिकाले आफ्नै लगानीमा दुईपटक खोप लगाउने काम भएको र अब तेस्रोपटक लगाउँदै गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्गेनीले जानकारी दिए । गाउँपालिकाले वैशाखमा बृहत् स्वास्थ्य शिविर राख्नका लागि पहल शुरु गरेको अधिकृत पङ्गेनीले बताए ।

स्थानीय तहले हेपाटाइटिस बीविरुद्ध केही पहल गरे पनि प्रदेश र सङ्घीय सरकारको तर्फबाट पहल नभएको जनप्रतिनिधिले गुनासो गरेका छन् । पाँच महिनाभन्दा लामो समयसम्म उपल्लो डोल्पाका बालबालिकाले कुनै खोपसमेत नपाउने गरेको जनप्रतिनिधिले नै बताएका छन् ।

छार्का ताङसोङ गाउँपालिकामा हेपाटाइटिस बीबाट जोगिनका लागि कुनै पनि बजेट व्यवस्थापन नगरेको र योजना पनि नभएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जानकारी दिए ।

उनका अनुसार हेपाटाइटिस बी रहेको जानकारी भए पनि खास रोकथामका लागि पहल केही नभएको अवस्था छ । ‘हेपाटाइटिस बी’ रोगको विषयमा सर्वसाधारणलाई मात्रै होइन, स्वयंसेविकालाई पनि जानकारी छैन ।

यो कस्तो रोग हो ? यो रोग लागे के हुन्छ ? कसरी लाग्छ ? कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थोरै मात्रै जानकारी भएको स्वयंसेविका याङ्की गुरुङको भनाइ छ । गाउँमा ‘हेपाटाइटिस बी’को अवस्था विकराल भएको जानकारी पाउँदापाउँदै पनि स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको उनले बताइन् ।

प्रत्येक वर्ष ‘हेपाटाइटिस बी’को सङ्क्रमण बढ्दै जाँदा स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको सर्वसाधारणको भनाइ छ ।

प्राणघातक रोगले गाउँ नै थला पर्ने अवस्थामा पुग्दासमेत न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम हुन नसकेको स्थानीयवासी बताउँछन् । बिरामी भएमा उपचारका लागि हेलिकोप्टर भाडामा लिएर अस्पतालसम्म पुग्नुपर्ने उपल्लो डोल्पाको बाध्यता रहेको छ ।

दिनप्रतिदिन ‘हेपाटाइटिस बी’को सङ्क्रमण बढ्दै जान थालेपछि उपल्लो डोल्पामा विभिन्न देशबाट आउने पर्यटकसमेत क्रसित हुन थालेका छन् । यो रोग फैलिएको जानकारी पाएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आउन थालेको पर्यटन व्यवसायीको भनाइ छ ।
रासस

वि.सं.२०७७ माघ २१ बुधवार ११:३७ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...