माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय अखिल नेपाल महिला संघ (अनेमसंघ)ले प्रचण्ड–नेपाल पक्षीय नेतृ तथा विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अनेमसंघले कारबाहीको माग गरेको हो ।
रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको अनेमसंघको भनाई छ । ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपन जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।
याे पनि…
गत माघ १६ मा गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेतृ झाँक्रीले मदन भण्डारीको हत्यापछि सेतो सारीलाई ल्याएर एमालेले शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको र त्यसैको प्रत्युत्पादन विद्या भण्डारी भएको टिप्पणी गरेकी थिइन् । उनले भण्डारीलाई सेतो सारी लगाएर चुनावमा आउन पनि चुनौति दिएकी थिइन् ।
वि.सं.२०७७ माघ २१ बुधवार १४:४६ मा प्रकाशित






























