१३ माघ,बनियानी (झापा) । झापाको दुहागढीस्थित हातेमालो सामुदायिक वन क्षेत्रभित्र रहेको निचाझोडा सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासी जुटेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले वनको ३२.२७ हेक्टर सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न उनीहरु जुटेका हुन् । स्थानीयवासीले सो ठाउँको नाम ‘निचाझोडा सिमसार पर्यटकीय स्थल’ भनी तय गरिसकेका छन् । राजवंशी भाषामा ‘निचा’ को अर्थ झिँगामाछा र ‘झोडा’को अर्थ खोल्सी रहेकाले सिमसारको नाम निचाझोडा रहन गएको दुवागढी–२ निवासी परशुराम राजवंशीले बताउनुभयो ।
स्थानीय उपभोक्ताले रु पाँच लाख सङ्कलन गरेर पहिलो चरणको कामसमेत सुरु गरिसकेका छन् जसमा दुहागढी गाविसले पनि स्थानीयवासीको अभियानमा सहकार्य गर्दैै रु दुई लाख सहयोग गरेको छ ।
त्यस्तै, सांसद विकास कोषले रु तीन लाख र निर्वाचन क्षेत्र विकास कोषबाट रु १० लाख सहयोग पाएपछि स्थानीयवासी अझ उत्साहित भएको दुवागढी–९ निवासी एवम् पत्रकार प्रकाश उप्रेतीले बताउनुभयो । सिमसारको पहिलो चरणमा माटो व्यवस्थापनको काम अघि बढाइएको छ । माटोको बाँध निर्माण गरी पानी सञ्चित गर्ने र पोखरीको संरचना तयार पार्ने काम भइरहेको दुहागढी–२ की टीका पौडेलले बताउनुभयो । “पोखरीको काम सकेर वैशाखभित्रमा दुईवटा बोट सञ्चालन गर्ने तयारीमा छौँ,” सिमसार विकासको योजना सुनाउँदै उहाँले भन्नुभयो – “हामी करिब ४० बिघाको पोखरी बनाउँदै छौँ । सम्भवतः यो पूर्वाञ्चलकै ठूलो हुनेछ ।”
हरियो वनभित्रको निचाझोडामा धार्मिक तथा ऐतिहासिकस्थल पनि रहेका छन् । धिमाल समुदायको धार्मिक तथा ऐतिहासिक स्थलका रुपमा त्यहाँ वार्षिक पूजा गर्ने थान रहेको छ । साथै, सो स्थानलाई उनीहरुले आफ्नो राजधानीका रुपमा समेत लिने गरेको निचाझोडा सिमसार पर्यटकीयस्थल निर्माण तथा विकास उपसमितिका संयोजक कृष्णराज सिग्देलले बताउनुभयो । यहाँ राजवंशी समुदायको चैतादेवीको थानसमेत रहेको छ । हरेक वर्षको चैतमा मेलाको आयोजना गरी उनीहरुले चैतुदेवीको पूजाआजा गर्ने गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गको चारआली सडकखण्डको करिब तीन किलोमिटर दक्षिण दुहागढी गाविसमा रहेको हातेमालो सामुदायिक वन तीन सय ९१.२७ हेक्टर क्षेत्रमा फैलिएको छ जसमध्ये ५२.५ हेक्टर सिमसार क्षेत्र रहेको छ । त्यसमध्ये ३२.५ हेक्टर सिमसार क्षेत्रलाई पयर्टकीयस्थलका रुपमा विकास तथा व्यवस्थित गर्न लागिएको हो ।
हातेमालो सामुदायिक वन उपभोक्ता समूहमा २२ घरधुरी आबद्ध छन् । यसमा करिब एक हजार घरधुरी आदिवासी, आठ सय बाहुन÷क्षेत्री र चार सय दलित, मुस्लिम लगायतका समुदाय रहेका छन् । पर्यटकीयस्थलको निर्माण भएपछि दुवागढी २, ३ र ४ वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने गाविस सचिव कवीन्द्रविक्रम नेम्बाङले बताउनुभयो । “पर्यटकको आवागमनसँगै स्थानीयवासीको आर्थिक पाटो पनि सुध्रिन्छ,” नेम्बाङले भन्नुभयो – “पर्यकीयस्थलको विकास र प्रवद्र्धनमा सबैले सहयोग गर्नुपर्छ ।”
हाल यहाँ वनभोज खान आन्तरिक पर्यटक आउने गरेका छन् । पानी, बिजुली, बाटो लगायतका पूर्वाधार विकास नहुँदा समस्या भएको दुवागढी–५ का मोहन खतिवडाले बताउनुभयो । विस्तारै पूर्वाधार विकास गर्दै नमुना पर्यटकीयस्थलका रुपमा विकास गर्ने आफूहरुको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
वि.सं.२०७३ माघ १३ बिहीवार ०५:०३ मा प्रकाशित