मेरी साथी जहिल्यै विवाहका कुरा निकाल्छे । विवाह प्रतिको उसको मोह देखेर हैरान भैसकेको छु । कति सुन्नु एउटै कुरा ? एउटै बिषय र एउटै भाव ।
“ल तँ विवाह गर्न त“ भन्यो
‘तैँलेपनि गर्ने भए मात्रै गर्छु रे !’ मलाई सुलि नचढाई नछाड्ने उसको प्रपञ्च छ ।
मिल्ने साथी भन्दैमा सबै थोकमा एउटै विचार कहाँ हुन्छ र ? मलाई विवाह प्रति कुनै चाख र आसक्ति छैन । तिमी गर ! मैले पटकपटक भन्ने कुरा यहीँ हो । उ कैले घरबाट आमा बुवाले फोन गर्नु भएको छ । भन्दै यता उता गर्दै कुलो खेतमा पुगेझै विवाहमा लगेर टाँस्छे ।
कामबाट घर फर्कदा कोठा भित्र बुवा आमा देख्छु । अर्को सिमा रहेन । दशै देखि भेट पनि भएको थिएन । कामले लखतरान भएर आएको थिएँ । खानै नखाई पल्टिन्छु भनेर सोचेर आएको । बुवा आमा देखेपछि जाबो थकाइ त कता भाग्यो भाग्यो ।
म एकाएक बालखा भएँ । बच्चा जस्तै बुवाआमाको बिचमा खाँदिएर बसे । धेरै नियास्रो लागेपछि शब्द पनि आउँदो रहेनछ । म त चुपचाप आमाको काखमा टाउको राखेर उहाँहरूलाई हेरिरहे ।
उहाँहरूको आँखा रसाएका थिए । म जस्तै उहाँहरू पनि शब्द विहिन हुनुभएको होला मलाई सुम्सुम्याउदै आँखाबाट खस्न थाल्नु भयो । के भयो भयो हामी तिनैजना रोयौँ ।
खाना खाएर सुत्यौ । निन्द्रा त के भनौ । बिस्तारामा पल्टिएका थियौ ।
विवाह तय भएपछि मैले घर छोडेको थिए । बुवा आमा परिवार सबै सबै छोडेर हानिएको थिए एक्लै संघर्ष गर्न भनेर । स्वतन्त्र वाँच्न भनेर ।
विवाह नगरे बुढेसकालमा कस्ले हेर्छ ? हामी मरेपछि यस्को के हुन्छ आमाको सधैं गनगन । यस्सो टाउको दुःख्यो कि माईत । चाडपर्व आयो कि माईत । सकि नसकि काम गर्याे मिठो चोखो खानमन लागे माईत अनि पनि अझै घरले सुख दिन्छ भन्ने भ्रम छ मेरी आमामा । आमा मात्रै होईन छिमेकी र ईष्टमित्रका कुरा पनि उस्तै । सुन्दा सुन्दा म वाक्क दिक्क भै सकेकी थिए । विवाहको कुरा टुंगोमा पुग्न आँटे पछि म निश्किए ।
साथी परेकी उस्तै छ ।
विहान फेरि उहीँ विवाह, बुढेसकालको सहारा अनेक कुरा भए । बल्लतल्ल भेटिएका जन्मदातालाई दुखाउन पनि मन लागेन । अनि घुम्न जाने भनेर ट्याक्सिमा रखेर पशुपति , गुहेश्वरी लगेँ । आर्यघाट देखाए ।
फर्कँदा मैले काम गर्ने एउटा घरमा लगेँ । कस्को घर हो भन्दै हुनुहुन्थ्यो उहाँहरू । मैले यहाँ एकजना विरामि हेर्छु भनेँ । हामी पुग्दा यशोदा आन्टि ढोकातिर हेरिरहनु भएको रहेछ ।
मैले ‘कस्तो छ आन्टि ?’ भन्दै औषधि दिन पानी ठिक्क पारेँ । उहाँ मेरा बुवा आमालाई हेर्दै हुनुहुदो रहेछ ।
मैले मेरो बुवा आमा हिजो मात्रै आउनु भएको भनेर चिनाए । यशोदा आन्टीको अनुहार एकाएक उज्यालो भयो । मैले पनि बुवा आमालाई भनेँ उहाँ क्याम्पस पढाउनु हुन्थ्यो । छोरोछोरी विदेशमा छन् । क्यान्सर लागेर छोड्नु पर्याे । उहाँलाई क्यान्सर लागेको थाहा पाएपछि सरले अर्कै विवाह गर्नु भयो ।
‘एक्लै जन्मिएको मर्ने पनि त एक्लै हो नि है आन्टी !’ मैले यसो भन्दा फेरि टाउको हल्लाउनु भयो ।
विवाह गरेर बुढेसकालमा साथ पाउने कुरा त भ्रम मात्रै हो नि है आन्टी ? त्यो त केटा मान्छेलाई मात्रै हो भनेका हुँदा हुन । आन्टीका आँखा रसाए । हुन सक्छ विगतले घोचिरहेको हुँदो हो । मैले आमा बुवा तिर हेरेँ ।
वि.सं.२०७७ माघ २४ शनिवार ०९:२७ मा प्रकाशित






























