काठमाडौं, माघ २५। पछिल्लो राजनीतिक घटना क्रमसँगै सुरु भएका आन्दोलनका शैलीले व्यवसायीक क्षेत्रमा निकै ठूलो अन्यौंलता उत्पन्न गर्न थालेको छ । व्यवसायीक क्षेत्र आन्दोलनले थप सिथिल हुनसक्ने त्रासमा देखिएका छन् ।
कोरोना कहरका क्रमशः कम हुँदै गर्दा व्यवसायीक क्षेत्रमा केहि राम्रा संकेत देखिएका थिए । तर, पछिल्लो आमहड्ताल तथा बन्दजस्ता राजनीतिक आन्दोलनका कार्यक्रमले थप त्रासदीको वातावरण बनाएको छ ।
सरकारले संवैधानिक निकायहरुमा आफुँ अनुकुल नियुक्ती गरेसँगै विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले गत बुधबार आमहड्ताल गरेको थियो । जसपश्चात उसले आफ्ना कार्यक्रम आक्रामक हुने संकेत पनि गरेको छ ।
राजनीतिक दलले बन्दको विकल्प दिनैपर्छ
विकास बैंक एशोसियसनका अध्यक्ष गोविन्दप्रसाद ढकाल पछिल्लो राजनीतिक अस्थिरतासँगै लगानीकर्ताहरुमा निकै ठूलो निराशा छाएको बताउँछन् । उनी आफ्ना मुद्दाहरु व्यवसायीक क्षेत्रलाई समस्या नपार्ने गरि उठानुपर्ने धारणा राख्दछन् ।
‘कोभिडको कारणले थला परेको अर्थतन्त्र थोरै चलायमान हुन लागेको थियो तर, पछिल्लो राजनीतिक अस्थिरताले झन् ठूलो संकट आउँदै गरेको आभास भएको छ’, बैंकर्स ढकालले भनेका छन्, ‘बन्द हड्तालजस्ता कार्यक्रमहरु सुरु हुँदा व्यवसायीक क्षेत्र निकै अन्यौंल बनेको छ, यदि व्यवसायीक क्षेत्रलाई अगाडि बढ्न दिने हो भने आन्दोलनका स्वरुपहरु बदल्नुपर्छ ।’
उनी लगानीकर्ताहरुमा देखिएको निराशालाई सम्बोधन गर्ने गरि राजनीतिक पार्टीहरुले राजनीतिक समस्याको समाधान खोज्नुपर्ने सुझाब दिन्छन् ।
बैकर्स ढकालजस्तै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ पनि बन्दको विकल्प राजनीतिक दलहरुले खोज्नुपर्ने धारणा राख्छन् । उनी उद्योगी तथा व्यवसायी पछिल्ला राजनीतिक संकटका बीच निरिह मात्रै बन्न पुगेको बताउँछन् ।
श्रेष्ठ भन्छन्, ‘राजनीतिक नेताहरुले आफैंले भन्नुभएको थियो ‘अब हामी बन्द हड्ताल गर्दैनौं’ तर, उहाँहरु नै बन्द हड्तालमा निस्कनु भएको छ, यस्तो स्थितिमा हामी भने निरिह नै छौं, यो स्थितिको विकल्प उहाँहरुले नै खोज्नुपर्छ ।’
उद्योगी श्रेष्ठले राजनीतिक दलहरुले साझा रुपमै आन्दोलनका शैलीहरुलाई परिवर्तन गर्नुपर्ने सुझाब दिन्छन् । उनका अनुसार हालको अवस्था विद्यमान रहिरहे उद्योगी तथा व्यवसायी आफ्नो व्यवसाय बन्द गरेर बस्नुपर्ने हुन्छ ।
एक दिनको बन्दले घाटा कति ?
अर्थविद् बन्द कार्यक्रमबाट बन्दको दिनलाई हुने घाटाभन्दा अन्य दिनलाई पर्ने प्रभाव गम्भीर हुने बताउँछन् । पूर्वगर्भनरसमेत रहेका अर्थविद् दिपेन्द्रबहादुर क्षेत्री एक दिनको बन्दले हप्तौसम्मको आर्थिक कारोबारलाई प्रभावित बनाउने बताउँछन् ।
‘जुन दिन बन्द हुन्छ त्यो दिन उत्पादन भन्ने कुरा ठप्प नै हुन्छ, सँगै त्यसले अर्को दिनलाई झन् गम्भिर प्रभाव पार्दछ’, क्षेत्रीले भनेका छन्, ‘बन्दका कार्यक्रमले लगानीकर्तालाई निकै ठूलो मनोवैज्ञानिक असर गर्दछ, लगानीकर्तालाई पार्ने असर भनेको अर्थशास्त्रको भाषामा सबैभन्दा गम्भिर हो ।’
उनका अनुसार बन्दका कार्यक्रमबाट लगानीकर्ताहरु निकै हतोत्साहित हुने गर्दछन् । फेरि बन्द हुन्छ भन्ने चिन्ताले लगानीकर्तामा लगानी नै नगर्ने सोंचको विकास हुने उनको भनाई छ ।
अर्थविद् क्षेत्रीका अनुसार नेपालमा एक दिनको बन्दले प्रत्यक्ष रुपमै ६/७ अर्ब जतिको नोक्सानी हुन्छ । ‘अहिले हेर्दा हाम्रो कुल ग्राहस्र्थ उत्पादन ३८ खर्बको हाराहारीको छ, यसलाई आधार मानेर एक दिनको निकाल्दा ६/७ अर्ब जति नोक्सानी पर्ने देखिन्छ’, उनले भनेका छन् ।
वि.सं.२०७७ माघ २५ आइतवार १३:१७ मा प्रकाशित






























