माघ ३०, काठमाडौं । वि.सं. २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको सुरुवात गरेको थियो । युद्ध झण्डै ११ वर्षसम्म चल्यो ।
त्यहि जनयुद्धको आडमा भएको जनआन्दोलनबाट देशमा गणतन्त्र, संघियता, धर्मनिरपेक्षतालगायतका एजेण्डा स्थापित भएका थिए । माओवादी जनयुद्धले देशमा गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको थियो ।
तर, गणतन्त्रप्राप्ति पश्चात भने माओवादी आन्दोलन विभाजित बन्यो । अहिले झण्डै आधा दर्जनको हाराहारीमा तत्कालिन माओवादी पार्टी विभाजित अवस्थामा छ ।
तत्कालिन जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल विभाजित नेकपाका अध्यक्ष छन् भने दोस्रा र तेस्रा तहमा रहेका नेताहरु मोहन वैद्य ‘किरण’ र बाबुराम भट्टराई छुट्टा–छुट्टै पार्टीमा आबद्ध छन् ।
विभाजित अवस्थामा रहेका पार्टीका नेताहरुले उक्त युद्धको सुरुवात गरेको दिनलाई ‘जनयुद्ध दिवस’ भनेर भने मनाउँदै आएका छन् । एउटै मञ्चमा नगरे पनि सबै माओवादी घटकका पार्टीहरुको जनयुद्ध दिवस मनाउन आ–आफ्नै तयारी छ ।
जनयुद्ध दिवस मनाउन कसको तयारी के ?
प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवस मनाउन सर्कुलर नै जारी गरेको छ । नेकपाको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जनाएअनुसार ‘शहीद स्मृती तथा सम्मान कार्यक्रम’को ब्यानरमा जनयुद्ध दिवस मनाउन सर्कुलर जारी गरिएकाे छ । साथै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रको तर्फबाट कार्यक्रम आयोजना गरिएको उनले बताए।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले जनयुद्ध दिवसको दिन मार्च पास गर्ने कार्यक्रम तय गरेको छ । क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेलका अनुसार काठमाडौंमा मार्च पास कार्यक्रमसहित अन्तरक्रियात्मक कार्यक्रम हुनेछ ।
त्यस्तै नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि भोली बसह तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।
यता, डा. बाबुराम भट्टराईआबद्ध पार्टी जनता समाजवादी पार्टीले जनयुद्ध दिवसबारे कुनै कार्यक्रम नगर्ने भएपनि भट्टराई स्वंयले भने उक्त दिन पुस्तक विमोचनको कार्यक्रम राखेका छन् । सहयोगी विश्वदीप पाण्डेका अनुसार भोली भट्टराईद्धारा लिखित पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन गर्ने कार्यक्रम छ ।
जनयुद्ध दिवसको दिन आयोजना गरिएको कार्यक्रमको प्रमुख वक्ताको रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाइएको छ ।
ओली नेतृत्वको नेकपाले भने कुनै कार्यक्रम नगर्ने
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले भने जनयुद्ध दिवसको दिन कुनै कार्यक्रम नगर्ने भएको छ । नेकपाको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले दिवसको दिन कुनै कार्यक्रम आयोजना गरिएको छैन् ।
प्रधानमन्त्री ओली स्वंयले पनि जनयुद्ध दिवसलाई ‘हिंसात्मक गतिविधि’ भन्दै आएका छन् ।
याे पनि…
वि.सं.२०७७ माघ ३० शुक्रवार १६:४३ मा प्रकाशित






























