back
CTIZAN AD

स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरीलाई नयाँ जीवन

वि.सं.२०७७ फागुन २ आइतवार

666 

shares

२ फागुन, म्याग्दी । माघ २९ गते बिहीबार राति ९ः२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङकी मनकुमारी विश्वकर्माको समयमै साल निस्किएन ।

चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्किनुका साथै उनलाई रत्तस्राव पनि भइरहेको थियो । अड्किएको साल र रक्तस्रावले मनकुमारी विक्षिप्त थिइन् ।

पच्चीस वर्षीया विक सुत्केरी भएको मल्कवाङ स्वास्थ्यचौकीबाट राति १ः०० बजे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाई समस्याको जानकारी भयो ।

लम्सालले तत्कालै मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक प्रशान्तसागर यादवलाई फोन गरेर मल्कवाङ जान आग्रह गरे । चिकित्सक र स्वास्थ्यकर्मी तयार भए तर राति भएकाले सवारी साधन पाएनन् । केन्द्रमा सवारी साधनको सुविधा छैन ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले मालिकाका उपाध्यक्ष खरमाया बिटालुसँग समन्वय गरेर तत्कालै गाडीको व्यवस्थापन गरिदिए ।

बीच बाटोमा पर्ने मराङमा मर्मत भइरहेको सडक अवरुद्ध थियो । अध्यक्ष पुनले राति नै मराङका वडाध्यक्ष राजाराम सुवेदी र स्थानीय युवा ईश्वर सुवेदीलाई फोन गरेर राति नै सडक अवरोध हटाउन लगाए ।

मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले १०ः०० बजे नै सिफारिस गरे पनि मनकुमारीका श्रीमान् र परिवारका सदस्यले सामान्यरूपमा लिएर धामी झाँक्री गर्नतर्फ लागेका थिए । स्वास्थ्यचौकीका प्रमुख लेखनाथ गौतम र स्वास्थ्यकर्मी जगदेवी छन्त्यालले सम्झाइबुझाई गरेपछि उनीहरु मनकुमारीलाई दरवाङ लैजान तयार भए ।

मनकुमारीलाई मल्कवाङबाट मराङ स्वास्थ्यचौकीमा ल्याउने र चिकित्सक पनि दरवाङबाट मराङ पुग्ने योजना बनाएर दुवै टोली गाडीमा हुइँकिए । बिहान साढे ४ बजे मराङ स्वास्थ्यचौकीमा मनकुमारी र दरवाङबाट गएको स्वास्थ्यकर्मी टोलीको भेट भयो ।

“बाटोमा जहाँ भेट हुन्छ त्यहीँ उपचार गर्ने योजनासहित औजार, उपकरण तयार पारेर हिँडेका थियौँ । हामीले भेट्दा उनको अवस्था ठिक थिएन”, चिकित्सक यादवले भने, “बिहान ५.२७ मा अड्किएको साल निकालेर औषधि दिएपछि उनको स्वास्थ्यमा सुधार आयो ।”

यादवको साथमा अनमी भीमा पुन, दीपा परियार र कार्यालय सहयोगी सम्मप्रसाद सुवेदीको टोली मनकुमारीको उपचारमा खटेका थिए । शुक्रबार बिहान ७ः०० बजे मनकुमारीलाई दरवाङ ल्याइएको थियो । स्वास्थ्यमा सुधार आएपछि शुक्रबार साँझ नै सिफारिस गरिएको अहेव यमन नेपालीले बताए ।

आमा र बच्चाको अवस्था खतरामुक्त र सामान्य छ । मनकुमारीले नयाँ जीवन पाएको प्रतिक्रिया दिएका छन् । “आठ घण्टासम्म छटपटी र पीडा भयो”, उनले भनिन्, “मैले नयाँ जीवन पाएको महसुस गरेकी छु ।”

बिहीबार उनले जन्माएका बच्चा पाँचौँ सन्तान हुन् । यसअघि उनले जन्माएका चारमध्ये दुई मात्र जीवित छन् । गत वर्ष प्रसूति केन्द्र स्थापना भए पनि त्यहाँ प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नभएका कारण अड्किएको साल निकाल्न नसकिएको हो । गर्भ रहेको नौ महिनामा उनले सामान्य हिसाबले नै बच्चा जन्माएकी थिइन् ।

साल ननिस्कने समस्यालाई चिकित्सक भाषामा रिटेण्ड पेलेसेन्ट र रक्तस्रवलाई पोष्ट पार्टयुम होमोरेन्ज भनिन्छ । अड्किएको सालले पाठेघरमा इन्फेक्सन गर्ने, रगत जम्ने, सास फेर्न गाह्रो हुने र अन्तमा ज्यानै जानसक्ने खतरा हुन्छ । जुन खतरापूर्ण अवस्थालाई मनकुमारीले जितेर नयाँ जीवन पाएकी हुन् ।

मल्कवाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई प्रसूति तालिमको व्यवस्थाका साथै मातृशिशु स्वास्थ्यका विषयमा सचेतनामूलक कार्यक्रम चलाउने गाउँपालिकाका अध्यक्ष पुनले बताए ।
रासस

वि.सं.२०७७ फागुन २ आइतवार १३:०१ मा प्रकाशित

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...