फागुन १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । स्थायी समिति सदस्य गणेश शाहका अनुसार केन्द्रीय समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउसो १ बजेदेखि बस्दैछ ।
हाल केन्द्रीय समिति बैठकका एजेण्डाबारे थप स्पष्ट गर्न केन्द्रीय कार्यालय उपलब्ध स्थायी समिति सदस्यहरु छलफल चलिरहेको छ । शाहका अनुसार केन्द्रीय समिति बैठकमा संसद पुनस्र्थाना पछि प्रचण्ड–नेपाल पक्षले लिने आगामी रणनीतिबारे छलफल गर्ने एजेण्डा छ ।
उनका अनुसार केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व दर्ता गराइएको अविश्वासको प्रस्ताव र अन्य दलसँगको सहकार्यबारे निर्णय गर्नेछ ।
संसद विघटनको कदमलाई सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा गरिएको थियो । तर, उनी संसद फेस गर्ने मुडमा देखिएपछि प्रचण्ड–नेपाल पक्ष थप दबाबमा परेको हो ।
प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीको विकल्प नखोजी नहुने बताउँदै आएको छ । तर, नेकपा विभाजनको वैद्यानिकताको विषय नटुंगिएको कारण पनि संसदमा कसरी अगाडि बढ्ने प्रश्न छ । आजको बैठकले जसबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार १२:२९ मा प्रकाशित






























