२४ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलाहरुको साहस, त्यसाग र बलिदानीले नै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको बताएका छन् ।
१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलित लगायत उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको बताउँदै प्रतिक्रियावादी प्रतिगामी तत्वहरूसँग प्रतिरोधपूर्ण संघर्षका लागि आजको दिनले प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिएका छन् ।
‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ,’ अध्यक्ष प्रचण्डले भनेका छन् , ‘महिलाहरूको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं ।’
अध्यक्ष प्रचण्डले विश्वमा न्याय, समानता, स्वतन्त्रता र मुक्तिका लागि ठूलठूला संघर्ष हुँदै आएको र मानव जातिको पूर्ण मुक्ति सबैको सपना रहेको बताउँदै त्यसका लागि महिला हिंसाको अन्त्यले मात्र पुग्दैन । समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त रहेको बताएका छन् ।
वि.सं.२०७७ फागुन २४ सोमवार ०९:३६ मा प्रकाशित






























