
फागुन २५, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले सरकारका निर्माणको बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न माओवादी केन्द्रको बैठकले तत्कालै वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनका अनुसार नेकपा (एमाले)सँग पनि आवश्यकताअनुसार छलफल हुने निर्णय बैठकले गरेको छ ।
‘संसद, सरकार र राजनीतिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादीसहितका पार्टीहरुसँग छलफल, परामर्श र वार्ता गर्ने निर्णय गरेको छ’, बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘त्यसो त हामी नेकपा एमालेसँग पनि आवश्यकताअनुसार वार्ताको प्रक्रिया अगाडि बढाउने छौं तर, मुख्यतः प्रमुख प्रतिपक्षी दल र जनता समाजवादीसँग छलफल गर्ने र वार्ता गर्ने निर्णय गरिएको छ ।’
उनका अनुसार कांग्रेस र जसपासँगको वार्तापछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा निर्णय हुनेछ । आजको बैठकले समर्थन फिर्ताको विषयमा निर्णय नगरेको उनले बताए ।
यसैबीच पछिल्लो अदालतको फैसलाबारे छलफल गर्न माओवादी केन्द्रले आगामी फागुन २९ गते केन्द्रीय कमिटीको बैठक पनि बोलाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् । उनका अनुसार केन्द्रीय कमिटीको बैठक लगत्तै चैत्र १ मा बृहत कार्यकर्ता भेला पनि आयोजना गरिएको छ ।