
२५ फागुन, काठमाडौँ । भारतीय महिला क्रिकेट टिमले दक्षिण अफ्रिकी महिला टिम विरुद्धको दोस्रो एकदिवसीयमा ९ विकेटले जित हासिल गरेको छ ।
टस हारेर पहिलो ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकी महिला टिमले पुरै ५० ओभर पनि खेल्न सकेन । दक्षिण अफ्रिकी टिम ४१ ओभरमा १५७ रन बनाएर अलआउट हुन पुगेको थियो । दक्षिण अफ्रिकी टिमका लागि ब्याटिङ्गमा लारा गुडलले सर्वाधिक ४९ रन बनाएकी थिईन भने भारतका लागि बलिङ्गमा झुलन गोस्वामीले उत्कृष्ट बलिङ्ग गर्दै १० ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिएकी थिईन ।
दक्षिण अफ्रिकी महिला क्रिकेट टिमले दिएको १५८ रनको लक्ष्य भारतीय टिमले २८.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । भारतीय महिला टिमका लागि ओपनर स्मृति मन्धनाले सर्वाधिक ८० रन बनाएका थिईन । त्यसक्रममा स्मृति १० छक्का र ३ चौका प्रहार गरेकी थिईन । त्यसैगरी पुनम राउतले ६२ रनको पारी खेलेकी थिईन । दक्षिण अफ्रिकी टिमका लागि १ मात्र विकेट शबनिम इस्माईलले हात पारिन ।
जितसँगै भारतीय महिला क्रिकेट टिमले ५ खेलको एकदिवसीय श्रृखलामा १-१ ले बराबरी गरेको छ ।