back
CTIZAN AD

बेनी अस्पतालको सबै शय्यामा अक्सिजन पाइप जडान

वि.सं.२०७७ फागुन २८ शुक्रवार

582 

shares

२८ फागुन, म्याग्दी । म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शय्यासम्म पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा भएका सबै ३० शय्यामा अक्सिजन पाइप जडान गरिएको जानकारी दिए।

आकस्मिक, मिर्गौला डायलासिस, सघन उपचारकक्ष (आइसीयू) र बहिरङ्ग विभागका शय्यामा अक्सिजन आपूर्ति गराउन पाइपलाइन जडान भएको छ । “उत्पादन केन्द्रबाट सबै शय्यासम्म अक्सिजन आपूर्ति गर्ने पाइप जोडिएको छ”, अध्यक्ष कटुवालले भने, “आवश्यकताका आधारमा चिकित्सक र स्वास्थ्यकर्मीको सुझावअनुसार बिरामीले शय्यामै अक्सिजन पाउँछन्, सिलिण्डर भरेर ओसार्नु पर्दैन ।”

पाइपबाट शय्यामै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको अस्पतालका प्रमुख चिकित्सक डा जितेन्द्र कँडेलले बताए। “श्वासप्रश्वास, आइसीयूमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको छ”, उनले भने, “गत पुस महिनादेखि अस्पतालमा अक्सिजन उत्पादन शुरु गरेपछि घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ ।”

प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको रु १० लाख बजेटले प्लान्टबाट अस्पतालको शय्यामै अक्सिजन पुर्याउन पाइपलाइन जडान गरिएको हो । प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख डा कँडेलले बताए । हाल १० वटासम्म सिलिण्डर भर्ने डा कँडेलले बताए। अस्पतालमा अहिले दैनिक २० देखि २५ श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एकपटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न रु ६३ लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताए।

“सामाजिक विकास मन्त्रालयले गत आवमा रु ७५ लाख बजेट पठाएकामा प्रतिस्पर्धामार्फत रु ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो”, उनले भने, “सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको रु १४ लाख र अस्पतालको रु एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याएका छौँ ।”

मन्त्रालयको रु पाँच लाख सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । अक्सिजन उत्पादन केन्द्र र औषधि बिक्रीकक्षको बिहीबार सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गरेका थिए । लायन्स क्लब अफ बेनी पिस सिटीका संस्थापक अध्यक्ष राजेश शाक्यले व्यक्तिगतरूपमा रु तीन लाख ५१ हजार खर्चेर औषधि बिक्रीकक्षको भवन निर्माण गरेका हुन्। धवलागिरि गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु ३० लाखबाट सघन उपचारकक्षमा एक भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको कटुवालले बताए।

विसं २०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले हालै पाँच शय्या क्षमताको सघन उपचारकक्ष सञ्चालनमा ल्याएको थियो । गत साउन महिनादेखि मिर्गौलाको डायलासिस सेवा शुरु गरेको अस्पतालले आँखा उपचारकक्षसमेत सञ्चालन गरेको छ । फोहर व्यवस्थापन केन्द्रसमेत स्थापना गरेको छ । पचास शय्या क्षमताको भवन निर्माणमा भएको ढिलासुस्ती र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौती देखिएको छ ।

वि.सं.२०७७ फागुन २८ शुक्रवार १०:४८ मा प्रकाशित

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...