back
CTIZAN AD

कोरोनापूर्वको दैनिकीमा विस्तारै फर्कँदै कलाकार

वि.सं.२०७७ चैत २ सोमवार

690 

shares

२ चैत, बाग्लुङ । अहिलेका उम्दा गायक प्रकाश सपुत गत महिनाभर व्यस्त रहे। फागुनको साङ्गीतिक यात्रालाई शनिबार अछाम महोत्सवमा बिट मारे । यो बीचमा उनी पोखरा, झापा, सिन्धुली, पर्वतलगायतका ठाउँ पु्गे ।

शनिबार बर्दिवास महोत्सवमा प्रस्तुति दिएका गायक दुर्गेश थापाका लागि पनि फागुन महिना औसत रह्यो । पछिल्लो महिना १५ भन्दाबढी मञ्चीय कार्यक्रममा थापाले प्रस्तुति दिए। सपुत र थापाझैँ अन्य गायक/कलाकार पनि कोरोनापूर्वको दैनिकीमा विस्तारै फर्कँदैछन् । लय समात्दैछन् ।

“खुशी लागेको छ, एक वर्षपछि फेरि दैनिकी पुरानै लयमा फर्किन थालेको आभास भएको छ”, सपुतले भने, “पहिलेझैँ व्यस्त तालिका नभए पनि फागुन लागेयता फाट्टफुट्ट हुन थालेका मेला/महोत्सवले केही राहत दिलाएको छ ।” अपेक्षा गरेभन्दा छिट्टै आफू मञ्चमा फर्केको अनुभूति भइरहेको सपुतले सुनाए ।

गायन, सिर्जना र अभिनय कलामा समेत पोख्त सपुतले मञ्चीय कार्यक्रम आफ्नो पहिलो रोजाइमा पर्ने गरेको बताए। “मञ्चीय कार्यक्रममा प्रत्यक्षरूपमा दर्शकसँग साक्षात्कार हुन्छ, भिन्दै खाले ऊर्जा मिल्छ”, उनले भने, “अभिनयलगायत अन्य विधाका काममा लागिरहँदा पनि मेरो ध्यान बढी मञ्चीय कार्यक्रमतिर हुन्छ ।”

अहिले मेला/महोत्सवमा पुग्दा, दर्शकको सहभागिता देख्दा कोरोना अझै छ र ? भन्नेजस्तो भान मिल्ने गरेको सपुतले सुनाए। बन्दाबन्दी र यात्रा प्रतिबन्धका कारण देशविदेशका साङ्गीतिक कार्यक्रम रद्द भएपछि कलाकार मारमा परेका थिए । सपुत स्वयंले महिनौँसम्म घरमै थुनिएर अत्यासलाग्दा दिन कटाउनुपरेको थियो ।

“अष्ट्रेलिया, जापानलगायत छ देशमा हुने साङ्गीतिक कार्यक्रममा जान भिसासमेत निश्चित भइसकेको थियो, कोरोनाका कारण सबै कार्यक्रम रद्द भए”, सपुतले
भने, “विदेशमा त अझै पनि कार्यक्रम हुन सकेका छैनन्, कतै बन्दाबन्दी छ, कलाकारका लागि प्रवेशाज्ञा पनि खुलेको छैन ।” छिट्टै कोरोना महामारी पूर्णरूपमा थामिएर स्थिति सहज भएपछि साङ्गीतिक यात्राका दौरान देशदेशावर घुम्न पाउनेमा उनी आशावादी छन् ।

“मञ्चीय कार्यक्रमलाई व्यावसायिक आधार बनाएका कलाकारको कोरोनाका कारण रोजीरोटी नै खोसिने अवस्था सिर्जना भएको थियो, अहिले परिस्थिति सहज हुँदै गएको छ”, अर्का गायक थापाले भने ।

मञ्चीय कार्यक्रमबाट कलाकारले राम्रै कमाइ गर्छन् । चल्तीका कलाकारलाई त मेला/महोत्सवको याममा भ्याइनभ्याइ हुन्छ । विदेशका कार्यक्रममा जाँदा त एकैपटकमा लाखौँ रुपैयाँसम्म आर्जन गर्छन् । तत्काललाई विदेशका कार्यक्रममा जान नपाए पनि देशभित्र भइरहेका मेला/महोत्सवबाट माग आउन थालेको थापाले बताए ।

“बन्दाबन्दीपछि ४० भन्दाबढी कार्यक्रममा प्रस्तुति दिएँ, विस्तारै व्यस्तता बढ्दैछ, खुशी छु”, उनले भने। हालै शिवरात्रिलक्षित ‘सलाइ छ सलाइ’ गीत गाएर थप चर्चा पाएका थापाले मञ्चीय कार्यक्रम नहुँदा पनि साङ्गीतिक कर्मलाई नछाडेको बताउ । उनको पछिल्लो गीत ‘सलाइ छ सलाइ’ युट्युबको ट्रेन्डिङ नं २ सम्म उक्लेको थियो । उक्त गीतले हालसम्म १५ लाखबढी ‘भ्युअर्स’ बटुलेको छ ।

“युट्युबबाट पनि कमाइ त छ तर मञ्चीय कार्यक्रममा चल्न सक्दा कलाकारका लागि व्यावसायिकरूपमा बढी फाइदा हुन्छ”, थापाले भने। असोज–कात्तिकदेखि बर्सात लाग्नुपूर्व नेपालमा मेला/महोत्सवको याम चल्छ । कोरोनाकै कारण यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम मात्रामा मेला/महोत्वस हुने निश्चित छ ।

बन्दाबन्दीमा मञ्चीय कार्यक्रम गुमाएका कतिपय कलाकारले भने फुर्सदलाई सिर्जना कर्ममा सदुपयोग गरे । युट्युबबाट नयाँ–नयाँ गीत सार्वजनिक गरे । कोरोनापछिको झण्डै एक वर्ष जन्मघरमा बिताएका लोकगायक विष्णु खत्रीले बन्दाबन्दीमा सिर्जना गरेका गीतलाई अहिले मूर्तरूप दिइरहेका छन् ।

खत्रीका ‘महिला हिंसा’, ‘अस्पताल’लगायतका गीत हालै सार्वजनिक भएका छन् । बन्दाबन्दीमा गाउँमा रहँदा जनजीवनका भोगाइ, दुःख र मनोदशालाई सिर्जनामा उतार्न सघाउ पुगेको खत्रीले प्रतिक्रिया दिए । समाजका हरेक क्षेत्रझैँ कोरोनाको मारमा परेको कला जगत् पनि पुनःउत्थान हुने आशा जागेको छ । कलाकार पनि उत्साहित छन् ।
रासस

वि.सं.२०७७ चैत २ सोमवार ११:२३ मा प्रकाशित

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण...

पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण

राँझा (बाँके) । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट (बागलुङ) । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा...

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ।...