
२ चैत, काठमाडौं । म्यानमारमा सैनिक शासनको विरोधमा उत्रिएका ३८ प्रदर्शनकारीको मृत्यु भएको छ ।
आइतबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि अलग–अलग ठाउँमा सेनाले चलाएको गोली लागेर ३८ जनाको ज्यान गएको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।
आइतबार यांगुन क्षेत्रको ह्यांगथायामा प्रदर्शनकारीहरुले एक चिनिया कम्पनीमाथि आगो लगाइदिएपछि सेनाले उनीहरुमाथि फायरिङ सुरु गरेको बताइएको छ । जसमा २२ जनाको सोहि स्थानमा मृत्यु भएको र अन्य ठाउँमा भएको प्रदर्शनमा १६ जना मारिएको बताइएको छ । उक्त घटनामा प्रहरीको पनि मृत्यु भएको जनाइएको छ ।
अहिलेसम्म १२५ बढीको ज्यान गयो
म्यानमारी सेनाले गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै गत फरवरी १ मा नेतृ आङसाङ सुकीलगायत प्रजातन्त्र पक्षधर नेताहरुलाई नजरबन्धमा राख्दै सत्ता आफ्नो हातमा लिएपछि सेनाको यस्तो कदमका विरुद्धमा निरन्तर प्रदर्शन हुँदै आएको छ ।
उक्त प्रदर्शनका क्रममा अहिलेसम्म १२५ भन्दा बढीको मृत्यु भइसकेको छ । विभिन्न ठाउँमा शब भेटिएको र यो आंकडा अझै बढ्ने बताइएको छ । प्रदर्शनका क्रममा २ हजार १५० जना भन्दा बढी घाइते भएका छन् ।